रुकुमबाट एकै दिनमा तीन जना संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज, काठमाडौं र पोखरा लगियो

रुकुमबाट एकै दिनमा तीन जना संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज, काठमाडौं र पोखरा लगियो

मुसिकोट । आईतबार रुकुमबाट तीन जना संक्रमितहरुको थप उपचारको लागि हेलिकाप्टर चार्टर गरेर लगिएको छ । रुकुम पश्चिमबाट २ जना र रुकुम पूर्वबाट एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज, काठमाडौँ र पोखरा लगिएको हो ।

आज बिहान रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको राङसी स्वास्थ्य चौकीमा कार्यरत २७ वर्षिया स्वास्थ्यकर्मीलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । सप्तरी घर भएकी उनि ७ महिनाकी गर्भवती समेत रहेको बताईएको छ । कोरोना संक्रमण भएर जिल्ला अस्पताल रुकुम पश्चिममा उपचाररत उनको अवस्था थप जटिल बन्दै गएपछि अल्टिच्युट एअरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । उनलाई जेठ ४ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याईएको र सोही दिन कोरोना पुष्टि भएको जिल्ला अस्पताल सल्लेका डाक्टर राजकुमार भुजेलले जानकारी दिनुभएको छ ।

त्यस्तै कोरोना संक्रमण भएर जिल्ला अस्पताल सल्लेमा उपचार गराईरहेका मुसीकोट नगरपालिका १ का ५५ वर्षिय पुरूषलाई आज हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको हो । जेठ २ गते कोरोना संक्रमण भई होम आईसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि जेठ ६ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य सुधार नआएपछि रिफर गरिएको डाक्टर भुजेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी आजै रुकुम पूर्वकी एक कोरोना संक्रमित महिलालाई हेलिकोप्टर चार्टर गरेर कास्कीको पोखरा लगिएको छ । भैरहवा घर भै हाल जिल्लाको सिस्ने गाउँपालिका ६ मा व्यवसाय गर्दै आएकी ४३ वर्षीया महिलालाई आज दिउँसो हेलिकोप्टर चार्टर गरेर पोखराको मनिपाल अस्पताल लगिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार