मापदण्ड विपरितका बाख्रा वितरण हुनबाट नगरपालिकाले रोेकेको हो : नगर प्रमुख

मापदण्ड विपरितका बाख्रा वितरण हुनबाट नगरपालिकाले रोेकेको हो : नगर प्रमुख

मुसिकोट । मापदण्ड विपरितका बाख्रा फिर्ता गरिएको बिषयमा सामाजिक सञ्जाल र केहि सञ्चार माध्याममा तथ्यहिन कुरा प्रचार भएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

शनिबार पत्रकार सम्मेलन गरेर नगरपालिकाले बाख्रा खरिदको बिषयमा प्रष्ट्याएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै नगर प्रमुख देविलाल गौतमले ठेकेदार कम्पनीले पहिलो चरणमा ५६ ओटा बाख्रा ल्याएको र नगरपालिकाले गरेको अनुगमनको क्रममा २६ ओटा मापदण्ड विपरित भएकोले ल्याउने बित्तिकै ठेकेदारलाई नै फिर्ता गरिएको बताउनुभयो । नगरप्रमुख गौतमले नगरपालिकाले गरेको यस्तो पारदर्शि र सकारात्मक कामलाई नकारात्मक ढंगले टिकाटिप्पणी गरिएको उल्लेख गर्नुभयो ।

नगरपालिकाले अनुगमन गरेर मापदण्ड विपरितका बाख्रा किसानलाई नदिएर रोक्ने काम गरेको तर बाहिर गलत प्रचार भएको प्रमुख गौतमले जनाउनुभयो । बाख्रा प्रद्धर्वन कार्यक्रम अन्तर्गत संघीय सरकार र स्थानीय सरकारको लागत साझेदारीमा भएको यस कार्यक्रमका लागि हालसम्म कुनै पनि रकम ठेकेदार कम्पनिलाई नदिएको र नगरका हरेक गतिबिधि अनुगमन पश्चात सिफारिसकोका आधारमा मात्र रकम भुक्तानी गर्ने गरिएको नगर प्रमुख गौतमले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले पारदर्शी तरिकाले टेण्डर आह्वान गरेको र बाँकेको केयर फार्म प्रा.लि.ले निर्धारित कबोल अंक भन्दा १६.५४ प्रतिशत न्युनतम रकम रु.१५ लाख ३७ हजार ३ सय ५० मा कबोल गरेकोले मापदण्ड बमोजिम सम्झौता गरिएको बताउनुभयो । वितरणका लागि पहिलो चरणमा ल्याएका ५६ ओटा बाख्रा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, पशु सेवा शाखा प्रमुख, लाभग्राहिहरु समेतले अवलोकन गरेर २६ ओटा बाख्रा मापदण्ड विपरित पाईएकोले उतिबेलै फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जनाउनुभयो ।

उहाँले ठेकेदारलाई मापदण्ड अनुसारका बाख्रा ल्याउन स्पष्ट निर्देशन दिइएको जनाउदै नगरपालिकाको कार्यसम्पादन र सुशासनमा प्रभाव पर्नेगरी अनावश्यक सूचना प्रकाशन, प्रशारण नगर्न अनुरोध गर्नुभयो । पत्रकार सम्मेलनमा नगरपालिककाले आगामी बर्षको योजनाका लागि पत्रकारहरु बिचबाट आवश्यक सल्लाह र नगरपालिकाको समग्र सेवा प्रवाहको बारेमा समेत छलफल गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार