ओझेलमा यौन हिंसा

सन्दर्भ: द्वन्द्वमा यौन हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस

Duduwa Corona

ओझेलमा यौन हिंसा

सन्दर्भ: द्वन्द्वमा यौन हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस

विश्वभर हुने जुनसुकै विपत्ति तथा महामारीको पहिलो चपेटामा पर्ने र त्यसको प्रत्यक्ष जोखिममा पर्ने समूह भनेको महिला तथा किशोरीहरू हुन्। नेपालमा २०५२ देखि २०६३ सम्म चलेको आन्तरिक द्वन्द्वमा पनि धेरै महिलाहरूले मानसिक तथा शारीरिक पीडा र क्षति व्यहोर्नु पर्‍यो।

राज्य र तत्कालीन विद्रोही पक्षबीच भएको शान्ति सम्झौतासँगै द्वन्द्वको अन्त्य भए पनि द्वन्द्व प्रभावितहरूको न्याय, सत्य निरुपण र क्षतिपूर्तिको अपेक्षा आजसम्म पूरा हुन सकेको छैन। महिलामाथि हुने यौनजन्य हिंसा जहिल्यै ओझेल पर्ने गर्दछन्।

द्वन्द्वका समयमा मानवअधिकारका उल्लंघनका घटना जस्तै: जबरजस्ती करणी, बेपत्ता, हत्या, अवैध हिरासत, यौन जन्य हिंसा र यातनाजस्ता गम्भीर घटनाहरू घटेका थिए। जसमा धेरै महिलाहरू नै मारमा परे। उतिबेला मुख्य गरेर १६ वर्षमुनिका किशोरीहरू बढी जोखिममा रहे। गर्भवती, अपाङ्गता भएका महिलाहरू समेत बलात्कार, सामूहिक बलात्कारमा परेका थिए। त्यो तथ्याङ्क कोही कसैसँग पनि छैन भने यौन हिंसामा परेकाहरूलाई प्रमाण अभाव देखाउँदै राज्यले जहिल्यै उपेक्षा मात्र गर्‍यो।

यसरी धेरै महिला तथा किशोरीहरू द्वन्द्वको समयमा यौन हिंसामा परेको भए पनि धेरै घटनाहरू सामाजिक लाञ्छना, असुरक्षा, संवेदनशील सेवाको अभावका कारण अभिलेखीकरण गरिएका छैनन्। सत्य तथा निरुपण आयोगमा परेका ५७ हजार २ सय ५ उजुरीहरूमध्ये २ सय ९५ मात्र यौन हिंसासँग सम्बन्धित छन्। शान्ति सम्झौता भएको १५ वर्षभन्दा धेरै भइसक्दा पनि यौन हिंसा तथा यातना खेपेका महिलाहरूको मनमा शान्ति तथा राहतको महसुस भएको अवस्था छैन।

घटना नं. १

रोल्पाकी ३३ वर्षीया रमिता (नाम परिवर्तन) पाँच छोरी, एक दाइमध्ये साइँली छोरी हुन्। सामान्य लेखपढ गर्ने शिक्षा मात्र पाएकी उनी १४ वर्षको हुँदा गोठाला गएको समयमा द्वन्द्वको प्रत्यक्ष चपेटामा परिन्।

वरपर अन्य छिमेकीहरूसँगै गोठालो गएकी थिइन्। गस्ती आएको सेना देखेपछि छिमेकीहरू टाढा-टाढा भए। तर उनी कतै भागिनन्। रमिताले सुनाइन्, ‘एकैछिनमा नजिकैछेउमा चार सेना देखिए। तर, अलिपर अरूहरू पनि थिए।’

उनी भन्छिन्, ‘तीमध्ये एक जना मेरो नजिक आयो। सुरूमै तँ माओवादी होस् भन्दै त्यही खुला ठाउँमै कानमा हान्यो। त्यो चोटले मलाई अडिन गाह्रो बनायो र म पल्टिएँ। अरु पनि आर्मी मिलेर सबै गाउँलेले देख्दादेख्दै मलाई लतारेर जंगलमा लगे। लतार्दै गर्दा पछाडिको कपडा च्यातिएको शरीर कोतरिएको थियो।’

गम्भीर बन्दै उनले सुनाइन्, ‘लतारेर लैजानेले सुरूमा बलात्कार गर्‍यो। म कराएँ। चिच्चाएँ तर छोडेनन्। ऊ पछि अर्कोले सुरू गर्‍यो। मलाई धेरै गाह्रो भयो। एक छिनमा मेरो होस् हरायो। उनीहरू कति जनाले बलात्कार गरे मलाई थाहै भएन।’

उनी बिउझिँदा शरीरमा कपडा थिएन। खुट्टासम्म रगत बगिरहेको थियो। त्यो दिन नै उनका लागि कालो रातजस्तै बनिदियो। अरुको सहायतामा घरसम्म गइन्। कसलाई के भन्नु। सबैलाई थाहा थियो। त्यसपछिका धेरै महिना दुखाई र रुवाइमा बित्यो। गाउँभरि सबैले राम्रै आँखाले हेर्दा पनि उनलाई आफैंसँग लज्जा र हिनताबोध हुन्थ्यो। आँखा जुधाएर कोहीसँग बोल्न सक्दिनन् थिइन्। सबै लुटिएपछिको पीडा उनी आजसम्म पनि भोग्दैछिन्।

नजिकै छिमेकी गाउँमा बिहे गरेकी रमितामाथि सामूहिक बलत्कार भएको कुरा श्रीमानलाई थाहा नहुने कुरा भएन। ‘रक्सी खाएको बेला पुरानो बलात्कारको कुरा उठाएर तनाव दिइरहन्छन्। एकातिर आर्मीले हानेको कान आज पनि दुख्छ, अर्कोतिर श्रीमानको कुराले मन दुख्छ,’ उनी भन्छिन्।

उनका अनुसार विगतले अहिले पनि सताइरहने गरेको छ। ‘एक्लै हुँदा डराउँछु तर्सिन्छु। मेरा घटना जीवनमा मेरो छोरीलाई दोहोरिन्छ कि भन्ने चिन्ताले सताउँछ,’ उनी भन्छिन्। उनीलाई न खुसीपूर्व खेल्ने अवसर मिल्यो न त स्कुल पढ्ने वातावरण नै मिल्यो।

घटना नं. २

रुकुमकी रीता नाम परिवर्तन कमजोर आर्थिक अवस्थाबाट जीविकोपार्जन गर्दै हुर्किएकी हुन्। उनलाई न खुसीपूर्वक खेल्ने बस्ने अवसर थियो न त स्कुल पढ्ने वातावरण नै थियो। छोरीहरूले पढ्न हुँदैन भन्ने मान्यताका कारण पढ्न रहर हुँदाहुँदै पनि १३ वर्षको उमेरमै घरबाट बुवाआमाले विवाह गरिदिए।

‘मैले ११ वटा बच्चा घरमै जन्माएँ। हाल चार वटा मात्र जीवित छन्। सात छोराछोरी खेर गएका हुन्,’ रीता भन्छिन्, ‘द्वन्द्वको बेला पाँच छ जना सेना पुलिस जना आएर घर घेरा हालेपछि मेरो श्रीमान् भागेर जंगलतिर जानुभयो। रातिको बेला आर्मी पुलिसले सामूहिक रुपमा पालैपालो बलात्कार गरे। कुटपिट गरे। जसले गर्दा आजसम्म पनि मेरो शरीर दुख्ने गर्दछ।’

बलात्कारको खबर सुनेपछि गाउँका मानिसहरूले आर्मी पुलिसले बलात्कार गरेको हो भन्दै उनका श्रीमानलाई हल्ला गरिदिएछन्। श्रीमानलाई असह्य पीडा भयो। उक्त घटनालाई लिएर उनले श्रीमतीमाथि नै प्रहार गर्न थाले। सोही तनावले गर्दा श्रीमानले जाँड रक्सी पिउन सुरू गरे। त्यही रक्सीका कारण बिरामी परेर बिते। द्वन्द्वले रीता र उनको परिवारलाई नै अस्तव्यस्त बनायो।

माथिका यी प्रतिनिधि घटना हुन। द्वन्द्वले निम्त्याएका दर्दनाक घटना अहिले पनि समुदायमा यत्रतत्र रहेका छन। उतिबेला गरिएका हिंसा, हत्या र अत्यचारले गर्दा अहिले पनि महिलाहरू स्वस्थ र शान्तसँग सास फेर्न पाएका छैनन्।

हिजोका दिनमा महिलाहरूले व्यहोरेको पीडाले देशमा धेरै कुराहरूको परिवर्तन भयो तर ती हिंसा अन्याय सहेका महिला आज पनि जहाँको त्यही छन्। उनीहरूका समस्या समाधान वा सम्बोधन गर्नु त परै जाओस् कुरा सुन्ने वातावरण पनि बनाइएको छैन। पछिल्लो समय द्वन्द्वपीडित महिलाका समस्या ओझेल पारिएका छन्। सेतोपाटीबाट

(लेखक धिताल ओरेक रुकुमका जिल्ला संयोजक हुन्।)

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार