नेपालमा कोरोना भाइरसबाट संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य

नेपालमा कोरोना भाइरसबाट संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य

चैत २३ काठमाडौ

नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठजना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उपचाररत सबैको अवस्था सामान्य भएको हो । उनीहरुमध्ये दोस्रो र तेस्रो संक्रमितलाई यसै हप्ता डिस्चार्ज गर्ने तयारी भएको छ । उनीहरुको पटक पटक स्वाब परीक्षणपछि डिस्चार्ज गरिने तयारी गरिएको छ ।

नेपालमा हालसम्म भेटिएका संक्रमितमध्ये एकजना मात्र विदेशबाट फर्केकाहरु रहेका छन् । उनीहरु युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरु रहेका छन् । बाँकी एकजनालाई नेपालभित्र रहेका संक्रमितबाट सरेको हो ।

संक्रमित तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् । काठमाडौंकी किशोरीको टेकुमा उपचार भइरहेको छ । उनलाई यसै हप्ता डिस्चार्ज गर्ने तयारी भएको छ ।

संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको उपत्यकाबाहिरै उपचार भइरहेको छ । संक्रमितको दमको पनि समस्या भएको बुझिएको छ ।

कोरोना भाइरसबाट नेपालमा पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो । उनको अवस्था पनि सुधार भइसकेकाले यसै हप्ता डिस्चार्जको तयारी भइरहेको बुझिएको छ ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो । उनी बाग्लुङकी हुन् ।

छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो । उनी पनि बाग्लुङकै हुन् ।

सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ ।

आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन् ।

नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ ।

संक्रमितहरुको विवरण
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार