कोरोनाका कारण यस वर्ष गैँडा गणनाको सम्भावना टर्‍याे

कोरोनाका कारण यस वर्ष गैँडा गणनाको सम्भावना टर्‍याे

चैत २४ चितवन

गैँडा गणनाको सबै तयारी पूरा भए पनि यस वर्ष गणनाको सम्भावना टरेको छ । गएको १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण स्थगित भएको हो ।

सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडि सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैँडा गणनाका लागि चैत उपयुक्त महिना हो । फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ।

चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैँडा गणना गरिने कार्यक्रम थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक हप्तादेखि १० दिनसम्म लाग्छ । गएका वर्षहरुमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यस पटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो ।

गणनाका लागि एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरिएको छ । यसअघि नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार