कोरोना फैलन नदिन विदेशबाट आएकाहरुलाई निगरानी गरिरहेका छौं : निमित्त प्रशासकीय अधिकृत खड्का

कोरोना फैलन नदिन विदेशबाट आएकाहरुलाई निगरानी गरिरहेका छौं : निमित्त प्रशासकीय अधिकृत खड्का

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (काभिड १९) आजका मिति सम्म १३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये विश्वमा दुई लाख ७८ हजार तीन सय ३० जना उपचारपछि निको भएका छन् भने ७४ हजार ६ सय ३५ जनाको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नौ पुगेको छ । देशभरि स्थानीय सरकारहरुले कोरोना विरुद्धको सचेतना लगायत राहत वितरणका काम गरीरहेका छन् । यो परिस्थितिमा रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कसरी काम गरिहेको छ । प्रस्तुत छ मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबीर खड्का सँग उजेली न्यूज डटकमका सम्पादक लक्ष्मण केसीले गर्नुभएको कुराकानी ।

कोरना भाइरसबाट बच्न मुसिकोट नगरपालिकाले के–के काम गरिरहेको छ ?
मुसिकोट नगरपालिकाले आफ्नो श्रोत साधन र क्षमताले धानेसम्मको हर सम्भव प्रयास गरिरहेको छ । कोरोना भाइसरको सन्त्रास बढेसँगै हामीले एफ.एम तथा छापा माध्यमहरु मार्फत चेतनामूलक सन्देशहरु प्रसारण तथा प्रकाशन गरिरहेका छौं । यसको अलावा सबै वडामा नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा माइकिङ र स्वास्थ्य चेकजाँच गरेका छौं । वडा कार्यालयहरुले पनि सो काम गरिरहेका छन् । हामीले नगर क्षेत्रका सम्पूर्ण घर परिवारमा २३ हजार ८ सय ४४ मास्क, १९ हजार ८ सय २८ साबुन र १० हजार भन्दा बढि चेतनामूलक पर्चा पम्पलेट बितरण गरेका छौं । वडा कार्यालय लगायत अन्य भिड–भाड हुने ठाउँमा हात धुने ब्यबस्था गरिएको छ भने नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु (११ वटा) मार्फत सार्बजनिक बिदाको दिनमा समेत स्वास्थ्य चेकजाँच गरिरहेका छौं । लक डाउनको शुरुदेखि हालसम्म १ हजार ५ सय ९६ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । त्यसैगरि नियमित रुपमा लक डाउनको अनुगमन गरिएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलई नियमित रुपमा स्वास्थ्य संस्था तथा वडा कार्यालयहरु मार्फत परामर्श सेवा प्रदान गरिएको छ । त्यसैगरि क्वारेन्टाइन सञ्चालन गरिएको छ भने हालसम्म ७ जनालाई क्वारेन्टाइनमा राखेर पनि घर फिर्ता गरिएको छ ।

बिदेशबाट आएकाहरुलाई कस्तो ब्यबस्था गर्नु भएको छ नि ?
बिदेशबाट आएकाहरु ब्यक्तिहरुको लगत संकलन गरि उहाँहरुको दैनिक गतिबीधिहरुको जानकारी लिने गरिएको छ । हालसम्म १ सय ४ जना भारतबाट र अन्य मुलुकबाट ५ जना गरि १ सय ९ जना बाहिरबाट आएको अबस्था छ । जसमध्ये स्वास्थ्य कार्यालयको सिफारिसमा ७ जनालाई क्वारेन्टाइनमा राखेर पनि घर फिर्ता गरिएको छ र अन्य सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्ने सल्लाह सुझाव दिइएको छ ।

तर, तपाइहरुले राख्ने भनेका क्वारेन्टाइनमा त झन जोखिम बढ्ने देखिन्छ त ?
हैन, हामीले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै हुने गरि हाम्रो श्रोत, साधन र जनशक्तिले भ्याएसम्मको क्वारेन्टाइन सञ्चालन गरेका छौं । क्वारेन्टाइनमा प्रयोगमा आउने सामाग्री को अलग अलग रुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । कार्यालयले डाक्टरहरुको प्रत्यक्ष सहभागितामा उहाँहरुको आबासको ब्यबस्था गरिएको छ । तोकिए अनुसारको खाजा खानाको ब्यबस्था गरिएको छ । हामीले गरेको ब्यबस्थापन प्रति हामी आश्वस्त छौं ।

यदि बिरामी भए भने कसरी उपचारको ब्यबस्था मिलाउनु भएको छ ?
कोहि कुनै ब्यक्ति बिरामी भएमा वा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएमा उहाँहरुले वडा कार्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि आवश्यक सल्लाह लिने ब्यबस्था मिलाइएको छ वा सिधै नगरपालिकाको निशुल्क टोल फ्रि नम्बर १६६०८८५३००१ मा सम्पर्क गर्न सक्ने ब्यबस्था मिलाइएको छ र सो क्वारेन्टाइनमा नै बिरामी भएमा स्वास्थ्य सेवा कार्यालयबाट नै स्वास्थ्य सेवा उपलब्ध हुने ब्यबस्था मिलाइएको छ ।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबीर खड्का कार्यकक्षमा
मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबीर खड्का कार्यकक्षमा

नगर क्षेत्रमा दैनिक उपभोग्य खाद्य बस्तुको आपुर्ति कसरी भइरहेको छ ?
हामीले नियमित रुपमा बजार अनुगमन गरिरहेका छौं । वडा कार्यालयहरुलाई वडाको आपुर्ति प्रणाली ब्यबस्थीत गर्न निर्देशन गरेका छौं । बजारमा खाद्यान्न आपुर्ति गर्ने पसलहरुलाई साँझ बिहान आवश्यक मात्रामा  Soeial Distance सहित सावधानीका साथ बिक्री बितरण गर्ने ब्यबस्था मिलाइएको छ । कहि कतै आपुर्ति प्रणालीमा असहयोग र अपठ्यारो परेमा आवश्यक समन्वय गरि आपुर्ति ब्यबस्था सहज बनाउने प्रयास गरिएको छ ।

अन्तमा आम मुसिकोट नगरबासी जनतालाई के भन्न चाहानुहुन्छ ?
लक डाउन भएको करिब २ हप्ता भै सकेको छ । यो अवधीमा हामीले श्रमिक बर्ग तथा न्युन आय भएका विपन्न परिवारका लागि राहात बितरण गर्ने कार्यका लागि आवश्यक काम गरिरहेका छौं । यो अवधीमा हामीले जसरी लक डाउनलाई अनुशासित रुपमा पालना गरि सभ्य नागरिकको पहिचान दिएका छौं त्यसैगरि आागामि दिनमा पनि सरकारका नीति नियमहरुलाई इमान्दारिताका साथ नै पालना गर्नुहुनेछ भन्ने नगरपालिकाले आशा एबं बिश्वास गरेको छ । आफ्नो घरपरिवार, टोल, छिमेक र वडामा भित्रिने र बाहिरिने ब्यक्तिहरुको जानकारी वडा कार्यालयहरुलाई गराउन अनुरोध गर्दछु । अब नगरपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न भारत लगायत अन्य मुलुकहरुबाट आएका ब्यक्तिहरुको स्वाब संकलन तथा च्बउष्म त्भकत गरि बढि भन्दा बढि परिक्षण गर्ने गरि सम्बन्धीत निकायहरुलाई अनुरोध गर्नेछौं ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार