कपुरकोट–तुलसिपुर सडकखण्डमा चौविसै घण्टा जेसीबी

कपुरकोट–तुलसिपुर सडकखण्डमा चौविसै घण्टा जेसीबी

सल्यान।  राप्ती लोकमार्ग अन्तर्गतका सडकहरु वर्षायाममा पटक पटक बन्द हुन्छन् ।  कपुरकोट–तुलसिपुर सडकखण्डको अवरोध हटाउन चौविसै घण्टा जेसीबीको व्यवस्था गरिने भएको  छ । मंगलबार  सल्यानको कपुरकोट गाउँपालिकामा बसेको बैठकले सडकको अवरोध हटाउनका लागि केही निर्णयहरु गरेको हो ।

कपुरकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ तथा सल्यान जिल्लाका सुरक्षा निकाय सहितको बैठकमा राप्ती लोकमार्गको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

गाउँपालिका अध्यक्ष भिमबहादुर सेनको अध्यक्षता तथा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको विशेष उपस्थितिमा बसेको बैठकले वर्षातको कारण सडक अवरुद्ध भइरहने समस्या भएकाले अवरोध हटाउन सडक डिभिजन कार्यालय दाङले चौविसे घण्टा एउटा जेसीबीको व्यवस्था गर्ने निर्णय भएको कपुरकोटका प्रमुख प्रशासकीय अधिकृत मोेहन खड्काले बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष सेनले सल्यान दाङ सडकमा यात्रा गर्नेहरुले लामो समयदेखि सास्ती भोगिरहेको तथा स्थानीय सरकारले दोष खेपिरहनुपरेको भन्दै सडक स्तरोन्नतीका लागि विशेष महत्वका साथ अगाडी बढ्न सडक डिभिजन कार्यालयलाई आग्रह गरे ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख सीनियर डिभिजन ईन्जिनियर निरज शाख्यले आफ्नो कार्यालयले सडक फराकिलो बनाउने तथा स्तरोन्नती गर्नका लागि आवश्यक बजेटको ब्यवस्थासँगै  निर्माण कार्य अगाडी बढाउने, मर्मत गर्ने तथा दाङ सल्यान सडक खण्डको पूर्ण रुपमा स्तरोन्नतीका लागि लागत स्टमेट तयार गरेर बजेट माग गरी पठाएको जानकारी गराए ।

सडक निर्माणको क्रममा विभिन्न समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ थियो । देखापर्ने समस्यालाई समाधानका लागि आवश्यक पहल गर्ने जनाउन्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले सडकमा सहज तरिकाले सवारी साधन आवागमन र सडक सुचारु गर्नका लागि अन्य आवश्यकीय व्यवस्था गर्न सडक डिभिजन कार्यालयलाई अनुरोध गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार