तस्कारको निसानामा रेडपाण्डा

तस्कारको निसानामा रेडपाण्डा

जाजरकोट । रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो ।

विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्कारले रेडपाण्डालगायत अन्य जनावार चोरी-निकासी गर्ने क्रम बढेको हो ।

खुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अङ्ग ल्याउन व्यापारी गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका-५ का प्रेम सिंहले जानकारी दिए ।

सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको सङ्ख्याको बढी भएको उनले बताए । उनले भने, “हप्तैपिच्छे बारेकोटको जङ्गलमा वन्जजन्तुको सिकार हुने गरेको छ, सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेको छन् । बन्दुक फायर गरेको आवाज प्रहरी चौकीमै सुनिन्छ तर कसलाई के मतलव ? वनका कर्मचारी सदरमुकाममात्रै बस्छन् ।”

विभिन्न सङ्घसंस्थाले रेडपाण्डाका संरक्षणका लागि कार्यक्रम, छलफल गर्दै आए पनि उनै छलफलमा सहभागी भएका व्यक्ति तस्कारसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्यत भएको बारेकोट गाउँपालिका-४ मैनाका रामबहादुर बस्नेतले बताए । “चोरी निकासी रोक्नुपर्छभन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरुद्ध तस्कार समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो । प्रहरीले वन समूहलाई समेत सहयोग गरेन, उल्टै राजनीतिक शक्तिको आडमा तस्कार जोगाउने काम भयो, यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?” उनले भने ।

पाँच वर्षभित्रको तथ्याङ्क हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरी निकासी गरी रङ्गेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ । मासिँदो जङ्गल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्कारको ठूलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ ।

स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारलाई थप सजिलो भएको छ । बारेकोट वन्यजन्तुका लागि उर्वर ठाउँ हो । विश्वमा लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बारेकोटमा भारी मात्रामा रहेको छ । बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियानकर्मी गोविन्द सिंहका अनुसार तस्कारको योजना ठूलो मात्रामा रहेको छ ।

डिभिजन वन कार्यालय र यसका माताहातका कार्यालयको पहुँच कम हुुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ । डिभिजन कार्यालयमा खटिएको भनी गलत जानकारी दिई सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्बसाधारण बताउँछन् ।

सामुदायिक वन समूहका पदाधिकारी तस्कारसँग मिल्दा अर्को समस्या सिर्जना भएको छ । समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएकाले चोरी निकासीका लागि बल पुगेको स्वयं डिभिजन वन कार्यालय स्वीकार गर्दछ ।

समूहबाट भएको आम्दानीसमेत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्थानीयवासीलाई नै थाहा हुँदैन । वर्षेनी सामुदायिक वनमा राम्रो घाँस उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तिसमेत कारबाही नहुनुले वन्यजन्तुको बासस्थानमै खतरा पैदा हुँदै आएको छ । रेडपाण्डाको बासस्थानरूपमा रहेको निगालोको बाक्लो जङ्गल, रुखका मुडा वर्षेनी फडानी, आगलागीका कारण सखाप हुँदै आएको छ ।

यसले गर्दा वन्यजन्तु मासिने क्रम बढिरहेको छ । यसैबीच नलगाड नगरपालिका-८, ९ र १० का माथिल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैधरूपमा राखिएका बन्दुक प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ ।

एक महिनाको अवधिमा चारभन्दा बढी बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए । नयाँ प्रहरी प्रमुख जाजरकोट आएदेखि ठूलो मात्रामा तस्कार, लागुऔषध कारोबारी तथा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिका साथै सवारी साधन चोरी गर्ने गिरोह नियन्त्रणमा आउने क्रम बढेको छ ।

जतिबेला समस्या र अप्ठ्यारो परिस्थति आउँछ, त्यतिबेला तस्कार गाउँगाउँ पुग्ने गरेको पाइएको छ । डोल्पा, रुकुम पश्चिम र जुम्लालगायतका क्षेत्रबाट जाजरकोट हुँदै जाने तस्कारको सङ्ख्यासमेत ठूलो छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार