काँग्रेसले २१ जिल्लाको अधिवेशन दसैँअघि गर्ने

काँग्रेसले २१ जिल्लाको अधिवेशन दसैँअघि गर्ने

नेपाली कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै गर्ने सहमति भएको छ । विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला राखेको छ ।

ती जिल्लामा दशैंअघि नै र अरु जिल्लामा दशैंपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यद्यपि रसुवा जिल्लामा भने क्रियाशील सदस्यता विवाद कायमै छ ।

हिमालीबाहेकका जिल्लामा दशैंअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दशैंपछि गर्ने सहमति भएको यादवले बताए । कांग्रेसको बुधबारको बैठकले पालिकाबाहेकका सबै अधिवेशनहरु दशैंपछि गर्ने निर्णय गरेको थियो ।

कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा ९ असोजमा पालिका अधिवेशन हुँदैछ । १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार ९ असोजमा स्थानीय तहको अधिवेशन, १२ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने उल्लेख छ । तर कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार