लक्ष्मीपूजा गरियो

लक्ष्मीपूजा गरियो

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ । यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यसदिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार