प्रकाशमानले किन छोडे पौडेल समूह ?

प्रकाशमानले किन छोडे पौडेल समूह ?

नेपाली कांग्रेसमा संस्थापन इतर मानिएको नेता रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु भएको छ । पौडेल समूहभित्रका नेता प्रकाशमान सिंह सो समूहबाट बाहिरिएका छन् । नेता रामचन्द्र पौडेलले आज बोलाएको भेलामा नेता सिंह उपस्थित नहुने भएका हुन् ।

चाक्सिबारी स्रोतका अनुसार असोज २२ पश्चात् नेताद्वय पौडेल र सिंहबीच टेलिफोन संवादसमेत भएको छैन । “बैठक छ भन्ने खबर आएको छ तर हामी जाँदैनौ,” स्रोतले बाह्रखरीसँग भन्यो ।

पौडेल र सिंहबीचको मनमुटावको कारण 
सरकार बनेको ८८ दिनपश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरे । सरकार विस्तार गर्दा संस्थापन इतर समूहको रुपमा उभिएको पौडेल समूहलाई मन्त्रालयको भागवण्डा लाग्यो ।

भागवण्डा अनुसार महामन्त्री शशांक कोइराला निकट डा. मिनेन्द्र रिजाल मन्त्री बने । यस्तै पौडेल निकट दिलेन्द्र बडु पनि मन्त्री बने । तर, प्रकाशमान सिंहको भागमा एक जना पनि मन्त्री परेन ।

सिंहले काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधि सभामा चुनाव जितेका राजन केसीलाई मन्त्री बनाउन कम्मर कसेका थिए । तर, पौडेल र कोइराला मिलेर केसीलाई मन्त्री बन्न नदिएको प्रकाशमान सिंहको बुझाइ छ । विवाद यहीँबाट सुरु भएको हो ।

चाक्सीबारी स्रोतका अनुसार १० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौंबाट आफूनिकटले मन्त्री नपाएपछि प्रकाशमान नेता रामचन्द्र पौडेलसँग विच्किएका हुन् ।

सिंहले महामन्त्री शशांक कोइराला, मन्त्री तथा सांसद मिनेन्द्र रिजाललगायत  नेताहरुलाई पौडेल समूहको नेता नभएको भन्ने गरेका छन् ।

“संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्वाचित गराउन हिजो भोट हाल्ने कोइराला र रिजालहरु नै हैनन्,” बाह्रखरीसँग स्रोतले भन्यो, “सर्वसम्मत संसदीय दलको नेता चयन भए शशांकलाई छाड्नु पर्ने, शेरबहादुरसँग चुनाव लड्न पनि नसक्ने अनि समूहको नेतृत्त्व गर्दै प्रकाशमान सिंहले संसदीय दलको चुनाव लड्दा पनि भोट नहाल्ने अनि अहिले पौडेल समूहबाट कोटा लिएर मन्त्री चाहिँ आफू लिने ।”

अवसर आउँदा सबै आफैं लिने अनि संकट पर्दा प्रकाशमान चाहिने भएपछि अब पौडेल समूह त्याग गरिसकेको ती नेताले बाह्रखरीसँग बताए ।

विवादको जड यतिमा मात्र सीमित छैन । काठमाडौंको स्थानीय तहमा भएका पार्टी अधिवेशनमा नेता भिमशेनदास प्रधानसँग मिलेर पौडेल र कोइरालाले आफ्ना प्यानल हराउन भूमिका खेलेको भन्दै नेता सिंह पौडेलसँग ‘फायर’ भएका छन् ।

केन्द्रीय सभापति उठ्ने तयारीमा रहेका सिंहलाई काठमाडौंको जिल्ला अधिवेशनमा घेरावन्दी गरेर कमजोर बनाउन पौडेलले भूमिका खेलेको चाक्सिबारीको बुझाइ छ ।

“तनहुँ र नवलपरासीमा भएको वडा अधिवेशनमा प्रकाशमान सिंह कहाँ हस्तक्षेप गर्न गयो, काठमाडौंमा चाहिँ हाम्रो विरुद्ध सारा मान्छे उचाल्ने काम किन गर्नु ? अनि रामचन्द्रलाई किन नेता मान्नुपर्ने हामीले ? किन सधैँ बोक्नुपर्याे र ?,” ती नेताले भने ।

“हाम्रो जिल्ला सभापति कृष्ण सवुज बानियाको क्षेत्रमै कोइराला र पौडेल भिमशेनदाससँग मिलेर हाम्रो टिमलाई कमजोर बनाउन उनीहरु लागि परे, अनि सधैँ रामचन्द्रलाई हामीले किन बोक्नुपर्ने,” ती नेताले बाह्रखरीसँग भने ।

पौडेल देउवाको कार्यकर्ता !

चाक्सिबारीले नेता पौडेललाई शेरबहादुरको मामुली कार्यकर्ता बन्न गएको आरोप समेत लगाउन थालेको छ । सरकार सञ्चालनमा सहजीकरण गर्न बनेको गठबन्धन समन्वय समितिमा पौडेलले भाग खोजेर शेरबहादुरको कार्यकर्ता बनेको चाक्सिबारीले निष्कर्ष निकालेको पनि ती नेताले बताए । टिममा छलफल नगरी कसैलाई नसोधी पौडेल समितिमा बसेको भन्दै सिंह पौडेलसँग तुष साधेर बसेका छन् ।

“अब महाधिवेशनमा भेट हुन्छ, तिनिहरुको फोन उठाउने भेट्ने अब प्रकाशमान सिंहबाट हुँदैन,” ती नेताले भने, “रामचन्द्र शेरबहादुरको कार्यकर्ता भइसके, कुरा गर्नुपरे सिधै शेरबहादुरसँग कुरा गरौंला ।”

ती नेताका अनुसार मनलाग्दी डाकिएको पौडेल समूहको बैठकमा प्रकाशमान सिंह जानुको औचित्य छैन । “प्रकाशमान रामचन्द्र र शशांकको कार्यकर्ता बन्नुपर्ने हैसियतको मान्छे पनि हैन र जरुरी पनि छैन, उनीहरु शेरबहादुरसँग जे पनि गर्न हुने, भेटेसम्म भाग खाने अनि हामीलाई सधैँ वेवास्ता गर्ने, हामीले सधैँ पौडेललाई किन बोक्नुपर्यो ।” बाह्रखरी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार