एमसिसी फिर्ता गरौँ र दश बर्ष राष्ट्र निर्माण अभियान संचालन गरौँ !

एमसिसी फिर्ता गरौँ र दश बर्ष राष्ट्र निर्माण अभियान संचालन गरौँ !

एमसिसी विवादको भुमरीमा परिसक्यो । जनमत विभाजित भइसक्यो । पास भयो भने कैयन दिन नेपाल बन्द हुनसक्छ । पक्ष र विपक्षमा आन्दोलन¸ चक्काजाम¸ सडक संघर्ष हुनसक्छ । राजनीतिक तनाव र द्वन्द झन् बढ्नसक्छ । पास गर्नेहरुले विदेशी गुलाम र दलालको आरोप खेप्नुपर्ने छ । राष्ट्रघातीको पगरी गुथ्नुपर्नेछ । त्यसकारण देशको अमनचैन¸ शान्ति र स्थिरताको लागि ५५ अरब केही पनि होइन । फिर्ता गरौँ एमसिसी ।

उप्रान्त सबै प्रकारका विदेशी सहयोग फिर्ता गरौँ । विदेशी सहयोगका प्रस्तावहरु अस्वीकार गरौँ । १० बर्षको लागि अन्तराष्ट्रिय सीमा नाका बन्द गरौँ । अन्तराष्ट्रिय हवाई उडानहरु स्थगित गरौँ । सबै आयात निर्यातहरु रोकौँ । नेपाल र नेपालीको लागि केके आवश्यक पर्छ देशमै उत्पादन गरौँ । नेपालमा उपलब्ध कला कौशल¸ सीप¸ क्षमता¸ अध्ययन¸ अनुसन्धान¸ परम्परागत जडुबुटी¸ प्राकृतिक उपचार पद्धतीको सदुपयोग गरौँ । आवश्यकता अनुसार थप¸ खोज¸ अनुसन्धान गरौँ ।

विदेश पुगेका सबै नेपालीलाई फिर्ता बोलाउँ । सबै नेपालीको डिपार्चर भिसा रद्ध गरौँ । राहदानी बनाउने कार्य तत्काल बन्द गरौँ । विदेश जानको लागि अध्यागमनमा लाइन लाग्नेहरुलाई तत्काल रोक लगाउँ । विदेशमा लगानी गरिरहेकाहरुलाई नेपालमै आमन्त्रण गरौँ । विदेशमा उत्पादन¸ अनुसन्धान¸ व्यापार¸ व्यवसाय¸ उद्योगधन्दा¸ कलकारखाना¸ इन्जिनियरिङ्ग¸ अध्ययन¸ अनुसन्धान¸ चिकित्सा¸ सैन्य¸ अन्तरिक्ष¸ वैज्ञानिक¸ होटल¸ पर्यटन¸ कृषि¸ यातायात¸ शिक्षा आदि जेजेमा कार्यरत छन् सबै नेपालीलाई दश बर्षको लागि नेपाल फर्काउँ । फर्किन नमान्नेहरुको नेपाली नागरिकता रद्ध गर्नेसम्मको उर्दी जारी गरौँ ।

नेपालका सबै उत्पादनयोग्य भुमीहरुको माटो परिक्षण गरौँ । नेपालको प्रत्येक अन्जुली माटोमा माटो अनुकुल हुनेगरी जडिबुटी¸ फलफूल¸ अन्नबाली¸ दलहन¸ पशुपालन केके सम्भव छ सबै गरौँ । शिक्षा¸ कर्मचारीतन्त्र¸ सेना¸ प्रहरी¸ न्यायालय¸ विद्यालय¸ विश्व विद्यालयमा कार्यरत¸ अध्ययनरत सबैलाई खेती¸ किसानी¸ उत्पादन¸ उद्योग¸ कलकारखानामा लगाउँ । नेपालका सबै नदी नालाहरुबाट सम्भव बिधुत उत्पादन गरौँ । अनुत्पादक¸ विदेशतिर कुद्ने¸ परनिर्भर¸ जाँगर हराएको¸ श्रमप्रति अनास्था प्रकट गर्ने गफाडी शिक्षाप्रणाली बन्द गरौँ । विद्यार्थीलाई उत्पादन र श्रमप्रति बिकर्षण पैदा गर्ने सिद्धान्त प्रधान विद्यालय र विश्वविद्यालयहरु १० बर्षका लागि बन्द गरौँ ।

प्रत्येक नेपालीको घरमा विजुली¸ खानेपानी¸ यातायात¸ संचार¸ स्वास्थ्य सुविधा पुर्याउँ । प्रत्येक टोलहरुमा उत्पादन तथा विक्री वितरण केन्द्रहरु स्थापना गरौँ । उत्पादनमा सरिकहरुका लागि कार्यस्थलमै सबै उपचार हुनेगरी सुविधासम्पन्न अस्पतालहरु निर्माण गरौँ । डाक्टरहरुलाई शहर बजारबाट गाउँगाउँ¸ टोलटोल खटाउँ । विश्व विद्यालयका प्राध्यापक¸ पिएचडी होल्डर¸ बुद्धिजिवी¸ विश्लेषकहरुलाई गाउँगाउँ लखेटौँ । नेपालको अर्थतन्त्र¸ उत्पादन¸ उपभोग¸ नेपालका समस्या¸ समाधानका उपायहरु देशभित्रै खोजी देशका प्रत्येक समस्या देशभित्रै समाधान गर्ने सुत्रको खोजी गर्न लगाउँ ।

रक्सी¸ चुरोट¸ खैनी¸ गुट्का लगायत मानव स्वास्थ्यलाई हानी गर्ने सबै चिज¸ बस्तु¸ सामग्री माथि कडा प्रतिबन्ध लगाउँ । हत्या¸ हिंसा¸ बलात्कार¸ मादक पदार्थ सेवनलगायत सामाजिक अपराधमा संलग्न रही सामाजिक¸ पारिवारिक मर्यादा भंग गर्नेहरुलाई कसुरको मात्रा हेरी तोकिएको अवधिसम्म वा आजीवन निकृष्ट कार्यमा वा शौचालय सफा गर्नैपर्ने वाध्यकारी र कार्यान्वयन योग्य सजाय देउँ । बार¸ सर्वोच्च अदालत¸ एकल र संयुक्त इजलाशको लागि ढुङ्गो उचालाउचाल¸ खोरो फोराफोरा¸ घम्साघम्सी र धक्का मारामार गर्ने बरिष्ठतम न्यायधिश¸ न्यायधिश¸ बरिष्ठ अधिवक्ता र अधिवक्ता वकिल सापहरुलाई जनताका उत्पादनका केन्द्र टोलटोल¸ गाउँ गाउँमा खटाउँ । वादी¸ प्रतिवादीको झै झगडाको छिनोफानो कागजी प्रमाण र वकिलको बकबके बहस तर्कको आधारमा अदालतमा होइन झगडा स्थलमै प्रत्यक्ष साक्षीहरुको सम्मुखमा फैसला गर्ने प्रावधान लागू गरौँ ।

नेपाली नागरिकताधारी नागरिकको विदेशमा भएको सप्पै पैसो फिर्ता गरौँ । विदेशमा रहेको पैसो फिर्ता नगर्ने नागरिकलाई अन्तराष्ट्रिय आवागमनमा कडा प्रतिवन्ध लगाउँ । विदेशमा जम्मा गरेको अथाह पैसो फिर्ता गर्न नमान्ने नेपाली नागरिकहरुको राहदानी¸ भिसा र नागरिकता रद्ध गरौँ । प्रत्येक नेपालीको नाममा रहेको जग्गा¸ जमिन¸ घर¸ घडेरीलाई विधुतीय प्रणालीमा अभिलेखीकरण गरौँ । जग्गा¸ जमिन¸ घर¸ घडेरीको स्वामित्वकर्ताको एकाघरको परिवारको लागि आवश्यक पर्ने बाहेक राज्यले तोकेको निश्चित मापदन्ड भन्दा बढी भई बाँझो रहेको¸ खाली रहेको अन्य जग्गा¸ जमिन¸ घर¸ घडेरी सरकारले उपभोग गर्नसक्ने कानुन निर्माण गरौँ । नेपालका सबै बैँक तथा वित्तीय संस्थामा रहेको नगद कारोबारलाई बैङ्कीङ्ग प्रणाली मार्फत एकिकृत गरौँ । च्याउसरी उम्रेका सबै बैँकहरुलाई एउटै मास्टर प्रणाली मार्फत नियन्त्रण र संचालन गरौँ । प्रत्येक नेपालीको नाममा रहेको बैंकिङ्ग कारोवारलाई एकद्वार प्रणालीमा ल्याउँ । स

बै बैँक तथा वित्तीय संस्थामा रहेको नगद रकमलाई राष्ट्रिय परिचय पत्रको आधारमा सर्टिङ्ग गरौँ । विश्लेषण गरौँ र निज खातावाला वा निजको एकाघरको परिवारका सदस्यलाई राष्ट्रिय मापदन्ड अनुसार आवश्यक पर्ने न्युनतम बाहेक अन्य रकम सरकारले लगानी¸ परिचालन¸ प्रवाह गर्नसक्ने कानुन बनाउँ । पाँच सय¸ हजार वा सो भन्दा बढी अंकका रुपैया¸ मुद्रालाई खारेज र अवैध घोषणा गरौँ । मानव समाजलाई जीवनयापनको क्रममा आवश्यक नपर्ने तर बहुमुल्य भएका सुन¸ चाँदी¸ हिरा¸ मोती¸ जवारत केके छन् तिनको सम्पूर्ण मुल्य हटाउँ । उप्रान्त तिनको कुनै मुल्य नै नहुने पद्धतिको विकास गरौँ ।

१० बर्षको लागि सबै संवैधानिक आयोग र निकायहरु बन्द गरौँ । निर्वाचन कार्यालय बन्द गरौँ । राजनीतिक दल र तिनका भातृ संघ¸ संगठनहरुमा १० बर्षको लागि प्रतिवन्ध लगाउँ । सबै तहका सरकारहरु खारेज गरौँ । १० बर्षसम्म निर्वाचन पनि नगराउँ । राष्ट्र निर्माण संचालन संयन्त्र मार्फत एकिकृत राष्ट्र निर्माण अभियान संचालन गरौँ । देशका सबै पक्ष¸ शक्तिहरुलाई राष्ट्र निर्माण अभियानमा जोडौँ । संघ¸ संगठनको सट्टा विकास तथा उत्पादन समुहहरु निर्माण गरौँ । उत्पादन तथा विकास निर्माणका समुह र क्षेत्र अनुसार समुहहरु छुट्याउँ । उत्पादन तथा विकासका विषय क्षेत्रसंग सम्बन्धित विज्ञ¸ अनुभवीलाई उक्त उत्पादन तथा विकास क्षेत्रको संयोजक तोकौँ । संयोजकको योग्यताको आधार शैक्षिक तथा प्राज्ञिक नभई उक्त क्षेत्रमा सबैभन्दा उत्कृष्ठतम् ज्ञान¸ सीप¸ क्षमता र दक्षता भएकोलाई बनाउँ । संयोजक स्वयमले उक्त क्षेत्रमा सबैभन्दा बढी काम गर्नसक्ने¸ गर्नुपर्ने प्रावधान निर्माण गरौँ । संयोजक स्वयम उक्त विकास निर्माण तथा उत्पादन क्षेत्रमा स्थलगत रुपमा निरन्तर खट्नुपर्ने अनिवार्यता बनाउँ ।

प्रत्येक गाउँ¸ टोल¸ शहर¸ बस्तीहरु हराभरा¸ आकर्षक¸ सुन्दर¸ रमणीय बनाउँ । प्रत्येक नदी¸ तालतलैया¸ पोखरीहरुलाई सुन्दर¸ सफा बनाउँ र माछापालन¸ हाँसपालन लगायत सम्भव उत्पादनका व्यवसायहरु संचालन गरौँ । सबै उजाड डाँडाहरुलाई बाह्रै महिना हराभरा र सुन्दर बनाउँ । नेपाल देशको कुनै पनि जग्गा बाँझो नराखौँ । हिमाल¸ पहाड¸ नदी¸ ताल¸ जलाशय¸ जंगल सबैलाई आकर्षक र स्वर्णीम स्थलको रुपमा विकास गरौँ । राष्ट्रमाथि आक्रमण भएमा सबै नेपालीलाई सीमा नाकामा तैनाथ हुनसक्ने गरी प्रत्येक नेपालीलाई न्युनतम सैनिक तालिमको व्यवस्था गरौँ ।

प्रत्येक खेतका गरागरामा बाह्रै महिना सिचाइको व्यवस्था गरौँ । डाँडाकाँडा¸ खोँच बस्ती¸ खेत¸ गाउँ¸ शहर¸ बजार जताकतै यातायातका साधनहरु बाह्रै महिना चल्न सक्ने स्तरीय बाटाहरु बनाउँ । व्यवस्थित बसोबासको व्यवस्था गरौँ । बाढी¸ पहिरो¸ ढलनिकासको उचित व्यवस्थापन गरौँ । नागरिकको सम्पूर्ण स्वास्थ्य उपचार नि:शुल्क गरौँ । राष्ट्रिय उत्पादन र विकासको लागि उक्त उत्पादन र विकासकार्य संचालनकै क्रममा व्यवहारिक शिक्षा दिक्षा प्रदान गर्ने व्यवस्था गरौँ । उत्पादन र विकासमै जोडिएर मात्र सीप¸ क्षमता र दक्षता हासिल गर्ने परिपाटी निर्माण गरौँ ।

देशका कारागारहरु भत्काउँ । कारागारका बन्दीहरुलाई कारागारबाट बाहिर निकाली कडा निगरानीमा तोकिएको अवधिसम्म समाजको लागि अति आवश्यक जोखिमपुर्ण र निकृष्ठ कार्यमा परिचालन गरौँ । देश विकासको लागि आवश्यक पर्ने तर हाल विदेशबाट आयात भइरहेका मेशिनरी¸ इन्धन पेट्रोलियम पदार्थ¸ कच्चा पदार्थ लगायतका सबै चिज बस्तुहरु नेपालमै अन्वेषण र उत्पादन गरौँ । बाहिरी परनिर्भरतालाई तत्काल रोकौँ । अन्तराष्ट्रि व्यापारहरु बन्द गरौँ । १० बर्षको लागि अन्तराष्ट्रिय आवद्धता स्थगित गरौँ । संचारको क्षेत्रमा अन्तराष्ट्रिय सन्जालमा रोक लगाउँ । नेपालले आफ्नै भुउपग्रह नबनाउन्जेलसम्म नेपालभित्रको लागि वैकल्पिक संचार प्रविधिको विकास गरौँ । नेपालभित्र नेपालको मात्र संचार संयन्त्र हुनेगरी मात्र इन्टरनेट संचालन हुनसक्ने गरी प्राविधिक व्यवस्था गरौँ । बाहिरी देशबाट संचालित कुनै पनि विधुतीय संजालहरुलाई नेपालमा प्रसारण हुन नसक्ने गरी गेटवेहरुलाई व्यवस्थित गरौँ । नेपालसंग जुन प्रविधि छ त्यसकै प्रयोगबाट संचार संयन्त्र संचालन गरौँ । राष्ट्रिय तथा स्थानीय प्रसारणहरुलाई १० बर्षको लागि विकास निर्माण¸ उत्पादन र राष्ट्र निर्माण सम्बन्धी सामग्री मात्र उत्पादन र प्रसारण गर्न वाध्यकारी बनाउँ । बिकृत¸ छाडा¸ पराधिन¸ समाजको हित विरोधी मनोरन्जनमुखी कला¸ संस्कृतिलाई बन्द गरौँ । गीत¸ संगीत¸ कला¸ साहित्य¸ सृजनालाई राष्ट्र निर्माणका विषयवस्तुमै केन्द्रित गरौँ । राष्ट्र निर्माण अभियानलाई नै मनोरन्जन¸ सुख¸ सन्तुष्टीको रुपमा ग्रहण गर्ने वातावरण सिर्जना गरौँ । राष्ट्र निर्माणमा उपयोगी नहुने¸ मान्छेलाई श्रम र उत्पादनसंग जोड्ने नसक्ने खालका प्रकाशित सबै सामग्रीहरुलाई दश बर्षको लागि भन्डारण स्थलमा बन्द गरेर राखौँ । देशको लागि आवश्यक छैनन र नष्ट गर्नैपर्ने खालका छन् भने आगो लगाएर नष्टै गरौँ ।

र दश बर्षपछि¸

देशको लागि आवश्यक सबै उत्पादन र विकासका क्षेत्रहरु विश्वको तुलनामा सबैभन्दा उपल्लो स्थानमा पुगेको सुनिश्चितता भएपछि । आय आर्जन¸ उत्पादनमा व्यक्तिको प्रतिव्यक्ति आय विश्वकै टप टेनमा पुगेको सुनिश्चित भएपछि खुला¸ विधुतीय जनमत संग्रहको आधारमा उपयुक्त लोकतान्त्रिक व्यवस्थाको घोषणा गरौँ । संघ¸ संगठन¸ राजनीतिक दलमाथि लागेको प्रतिवन्द फुकुवा गरौँ । अर्थतन्त्रलाई नियर्यातमुखी बनाउँ । इतिहासमा कुनै बेला थियो एक नेपाली रुपैयाँ बराबर तीन अमेरिकी डलर । फेरि दश बर्षपछि कम्तिमा पनि एक नेपाली रुपैयाँ बराबर १०० अमेरिकी डलर हुनेगरी मुद्रा विनिमय प्रणाली जारी गरौँ । देशको हित हुनेगरी अन्तराष्ट्रिय सम्बन्ध खुला गरौँ । वैदेशिक व्यापारलाई पनि खुला गरौँ । नेपालले वैदेशिक सहयोग लिने होइन कि निश्चित शर्त तोकेर अरु देशले नेपालबाट वैदेशिक सहयोग माग्नसक्ने¸ लिनसक्ने मापदन्ड निर्धारण र स्वीकृत गरौँ ।

अमेरीका लगायत अन्य बाँकी विश्वलाई निश्चित शर्तनामा सहित नेपालबाट सहयोग माग्नसक्ने र नेपालले उपयुक्त ठान्यो भने सहयोग दिनसक्ने अवस्थामा नेपाललाई पुर्याउँ । इतिहासका कुनै कालखन्डमा नेपाल देश विश्वका विकसित २५ देशको सुचीमा पर्थ्यो । फेरि नेपाललाई १० बर्षभित्र विश्वकै उत्कृष्ठ टप टेन धनी¸ शान्त¸ समृद्ध देशको सुचीमा पुर्याउँ । जनताको जीवनस्तर विश्वकै उत्कृष्ठ बनाउँ । जनताको खुशीपन विश्वकै उच्चतम बनाउँ । नेपालमा उत्पादित विधुत निश्चित शर्तनामा मन्जुरीमा नेपालले तोकेको मुल्य तिर्नेगरी बाँकी विश्वलाई बिक्री गर्नेगरी खुला गरौँ । नेपाललाई संसारकै टप थ्रि पर्यटकीय स्थलको रुपमा विकास गरिसकेको अवस्थामा विदेशी पर्यटकहरुलाई पनि नेपाल घुम्नको लागि शर्तसहित खुला गरौँ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार