बिहारमा खाडीबाट आएका युवा क्वारेन्टाइनमा नबस्दा परिवारका २१ जना संक्रमित

बिहारमा खाडीबाट आएका युवा क्वारेन्टाइनमा नबस्दा परिवारका २१ जना संक्रमित

चैत २९ काठमाडौ

शुक्रबार सिवुन जिल्लाको पंजवार गाउँमा एकाएक कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि बीबीसी हिन्दीले बिहारको ‘हटस्पट’ भएको जनाएको छ। शुक्रबार बिहान ११ बजेसम्ममा बिहारभरि जम्मा ६० जना संक्रमित फेला परेका छन्। तीमध्ये २१ जना एकै परिवारका छन्।

 

उक्त परिवार पंजवार गाउँको हो। गाउँमा अरु आठ जनासहित २९ संक्रमित भेटिएका छन्। सबै जनालाई एकै व्यक्तिबाट संक्रमण फैलिएको बताइएको छ। उक्त गाउँका दुई युवा २१ मार्चमा खाडीबाट फर्किएका थिए। उनीहरु क्वारेन्टिनमा बसेका थिए। तर, त्यही दिन ओमानबाट आएका युवा गाउँ डुल्दै हिँडेका थिए।

 

ती युवाको ३ अप्रिलमा आएको कोरोनाभाइरस परीक्षणको नतीजा पोजेटिभ आएको थियो। बिहारमा उनैले संक्रमण फैलाएको मानिएको बीबीसी हिन्दीले जनाएको छ। उनले गाउँमा क्रिकेट खेलेका थिए भने विवाहमा पनि गएका थिए। तर, ३ अप्रिलमा उनको कोरोनाभाइरस परीक्षण पोजेटिभ आएपछि गाउँमा हङ्गामा मच्चिएको थियो।

 

उक्त गाउँमा करीब १० हजार मानिस बस्छन्। उनको घरको ५० मिटरको दूरीसम्म आउने र क्रिकेट खेल्नेको सूची बनाएर ९७ जनाको परीक्षण गरिएको थियो। तीमध्ये परिवारका सदस्यसहित २९ जनाको नतीजा पोजेटिभ आएको हो।

 

अहिले उक्त गाउँलाई भारतीय अधिकारीले ड्रोनमार्फत निगरानी गरिरहेका छन्। गाउँका कसैलाई पनि घरबाहिर जान दिइएको छैन। संक्रमण कति जनामा फैलिएको छ भन्ने यकिन तथ्याङ्क आउन समय लाग्ने बताइएको छ। बीबीसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार