सकसमा दुर्गमका महिलाको स्वास्थ्य

सकसमा दुर्गमका महिलाको स्वास्थ्य

मुसिकोट । रुकुम त्रिबेणीकी ३४ वर्षीया रमिता (नाम परिबर्तन) लामो समय देखि पाठेघर खस्ने समस्याबाट ग्रसित थिईन्। गाउँमा गतिलो उपचार नपाउने उनलाई सदरमुकाम झर्न समेत बिभिन्न समस्याका चाङ थिए। १४ वर्षको उमेरमा बिहे गरेकि रमिताले अर्को वर्ष बच्चा फेरी जन्माईन्। लगातार २ वर्षमा दुई सन्तान जन्माए पनि दुबैलाई बचाउन सकिनन्। बच्चा नबाच्ने भए पछि उनि परिवारको तिरस्कारमा परिन्। सानो उमेरमा बच्चा जन्माएकी रमिता परिवारको अवहेलना संगै शारीरिकरुपमा पनि अस्वस्थ्य बन्न थालिन्।

त्रिबेणी कै ७५ वर्षीया लालसरी (नाम परिबर्तन) को पाठेघर झरेर सताउन थालेको धेरै वर्ष भयो। आर्थिक समस्याका कारण अलि परको जिल्ला अस्पताल सम्म पनि उनि पुगिनन्। माओवादी खोज्दै गाउँ छिरेका तत्कालिन शाहि सेनाबाट सामूहिक बलत्कारको शिकार बनेकी ४७ वर्षीया खिमा (नाम परिबर्तन)ले आफ्नो मानसिक पीडा संगै शारीरिक समस्या कसैलाई भन्न सक्दीनन्।

पाठेघर खसेको समस्या श्रीमानलाई समेत सुनाउन लाज मानेका कारण लामो समय सम्म उनि पीडा दबाउन बाध्य भईन।गतिलो उपचारको अभाबमा झरेको पाठेघर संगै लामो समय जीबन चलाएका उनिहरुलाई परको गाउँमा संचालन भएको शिबिरमा स्वास्थ्यकर्मीले पाठेघर अड्याउन रिङ्ग राखिदिए पछि सजिलो भएको छ। रमिता, लालसरी, खिमा जस्ता धेरै महिलाहरु आज पनि यौनि बाहिर पाठेघर झुण्डाएर दैनिकी चलाउन बिवश छन्। सामान्य उपचारले सहज हुने महिलाको स्वास्थ्य जटिल बन्दा सम्म पनि उपचार अभावमा रहने गर्दछन्।

बिकास भनेको सडक र भौतिक पुर्बाधार मात्र हो भन्ने जनप्रतिनिधिहरुको बुझाईका कारण स्वास्थ्य जस्तो सम्वेदनशिल बिषय जहिल्यै ओझेलमा पर्ने गरेको छ। यतिबेला दुर्गममा महिलाहरुका स्वास्थ्यमा अनेकन समस्याहरु छन्। घर छेउका जनप्रतिनिधि जानकार पनि छन् तर समस्या समाधानमा चासो भने दिने गरेको पाईँदैन। बेला बेलामा निशुल्क स्वास्थ्य शिबिर चलाउने, पाठेघरको निशुल्क अप्रेशनका लागि सुबिधा सम्पन्न ठाउँमा पठाउनका लागि छलफल गर्ने कोही हुदैन। चुनावकाे समयमा भोट माग्न गाउँ छिर्ने राजनीतिक नेतृत्व त्यसपछि स्वास्थ्य समस्या बुझ्न हिड्ने गरेका छैनन्।

भत्ता सुबिधासहित प्रत्येक वडामा रहेका ५/५ जना जनप्रतिनिधिहरु महिला स्वास्थ्यका सवालमा गम्भिर नबनिदिँदा मौलिक हककारुपमा संबिधानमै लेखिएको स्वास्थ्य सेवा उधारोमा पर्ने गरेको हो। शिक्षा स्वास्थ्य जस्ता सबिधानमै लेखिएका मौलिक हकका बारेमा राज्य संयन्त्र मौन बस्नु दुर्भाग्य रहेको जानकारहरु बताउछन्।

यसैबीच महिलाहरुमा स्वास्थ समस्या धेरै रहेको भन्दै रुकुममा महिलाहरुका लागि ३ दिने निशुल्क स्वास्थ्य शिबिर (मेला) सोमवार सम्पन्न भएको छ। महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको आयोजना र त्रिबेणी गाउँपालिकाको सहकार्यमा खारा अस्पताल र पेउघा स्वास्थ्य चौकिमा स्त्री रोग विशेषज्ञ डा.केएल बिक्रम जिसी र मेडिकल अफिसर छबिलाल नेपालीले ५ सय ४७ बिरामीको स्वास्थ जाँच तथा उपचार गरेका हुन्। दुर्गम गाउँ पेउघामा पहिलो पल्ट संचालन भएको स्वास्थ्य शिबिरमा एकै दिन २ सय १२ जना महिलाले सेवा लिएका थिए।

शिबिरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, योन रोग, पाठेघरको मुखको क्यान्सर जाँच लगाएतको परीक्षण तथा उपचार गरिएको थियो। पाठेघर झरेर जटिल अवस्थामा पुगेका र फिस्टुलाको समस्यामा रहेका महिलाहरुलाई सरकारी निकायसंगको सहकार्यमा सुबिधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताईन्। उनका अनुसार दुई दिनको शिबिरमा २४ जनालाई पाठेघरमा रिङ्ग राखिएको थियो भने पाठेघर झरेका ३८ केस मध्य एक दर्जन महिलाको शल्यक्रिया गर्नु पर्ने देखिएको छ।

उक्त्त अवसरमा स्वास्थ मेला समेत संचालन गरिएको थियो। ओरेक रुकुम संयोजक दिपा धितालका अनुसार मेलामा आएका करिब ७ सय सहभागिले महिला स्वास्थ्य सम्बन्धि जानकारी पाएका थिए। दुई दिनसम्म खारामा चलेको शिबिर तेस्रो तथा अन्तिम दिन सोही पालिकाको पेउघा स्वास्थ चौकीमा संचालन गरिएको थियो। महिलाको विभिन्न छेत्रमा काम गरिरहेको ओरेक रुकुमले शसक्तीकरण सङ्गै आर्थिक र स्वास्थ्यका सवालमा पनि काम गरिरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार