कांग्रेस महाधिवेशन : उमेदवारहरुले ११ बजेसम्म मनोनयन फिर्ता लिन सक्ने

कांग्रेस महाधिवेशन : उमेदवारहरुले ११ बजेसम्म मनोनयन फिर्ता लिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्। शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए। सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी, विरोध र जाँचबुझ शनिबार बेलुकी ७ बजेसम्म मात्रै थियो। उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय गए राति १२ बजेसम्म थियो।

आज बिहान ११ बजेभित्र मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय छ। आजै उम्मेदवारको अन्तिम नामावली मध्यान्ह सवा १२ बजे प्रकाशन गर्ने तालिका छ। मतदान भने सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ।

सभापतिमा छ जनाको उमेदवारी परेको छ । सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उमेदवारी दिएका  छन् ।

निर्वाचन समितिकाअनुसार महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह, पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले उपसभापतिमा उमेदवारी दिएका छन् ।

यसैगरी महामन्त्रीमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदिप पौडेल, डा. प्रकाशशरण महत गरी ६ जनाको उमेदवारी परेको छ ।

सह–महामन्त्रीमा १९ जनाले मनोनयन दर्ता गराएका छन् । जसअन्तर्गत मानबहादुर विश्वकर्मा(दलित), बद्री पाण्डे(पिछडिएको), फरमुल्लाह मंसुर(मुस्लिम), सुरेन्द्रप्रसाद चौधरी(थारु), देवराज चालिसे (खसआर्य), रंजित कर्ण(मधेशी), रामकृष्ण यादव(मधेशी), कमला पन्त(महिला), तेजुलाल चौधरी(थारु), किशोर सिंह राठोर(खसआर्य), विकास लामा(आदिवासी जनजाति), जीवन परियार(दलित), गंगा सुनार(दलित), महेन्द्र यादव(मधेशी), भीष्मराजम आङ्देम्बे(आदिवासी जनजाति), जीवन बहादुर शाही(पिछडिएको क्षेत्र), चेतराज बजाल(पिछडिएको क्षेत्र), शेख वकिल(मुस्लिम) र उमाकान्त चौधरी(थारू) ले मनोनयन दर्ता गराएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार