निधी र सिंह आन्तरिक छलफलमा

निधी र सिंह आन्तरिक छलफलमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानबाट सभापतिमा कसैको पनि ५० प्रतिशत मत नआएपछि दोस्रो चरणका लागि हुने मतदानपूर्व नेताहरुले दौडधुप बढाएका छन् ।

शेर बहादुर देउवाको प्रतिनिधित्व गर्दै गृहमन्त्री वालकृष्ण खाँण विहानी प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका छन् । दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाउन खाँणले प्रस्ताव गरेका छन् । तर सिंहले साथीहरुसँग सल्लाह गरेर मात्र निर्णय गर्ने प्रतिक्रिया दिएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

त्यस्तै अर्का सभापतिका उम्मेदवार विमलेन्द्र निधीले पनि आपसी छलफल गरेर निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् । सभापतिको दौडबाट बाहिरिएसँगै निधी र सिंहबीच फोन संवाद समेत गरेका छन् ।

पहिलो चरणमा सभापतिको दौडबाट बाहिरिएका निधी र सिंह भावी सभापति विजयी गराउनका लागि निर्णायक मानिन्छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो, चौथो र पाँचौ भएका सिंह, निधी र कल्याण गुरुङ निर्णायक देखिएका छन् ।

दोस्रो चरणमा गएपछि निधीले यसअघि देउवाविरुद्ध मोर्चावन्दी गर्ने र नेतृत्वमा नयाँ अनुहारलाई स्थापित गर्ने प्रतिक्रिया दिएका छन् । सिंहले भने परिस्थिति अनुसार निर्णय गर्ने बताएका थिए । निधीले चुनाव दोस्रो चरणमा जाने र तीन उम्मेदवार एक भएर नेतृत्व परिवर्तन गराएर छाड्ने बताएका थिए । आज भने निधी आन्तरिक छलफलमा रहनुभएको उनको सचिवालयले जनाएको छ ।

तर सभापतिमा विजयी हुनका लागि देउवाले सिंह वा निधी मध्ये एक जनाको मात्र साथ लिए भने पनि उनलाई सहज देखिन्छ भने कोइरालाले पहिलो चरणबाट बाहिरिएका सबै प्रत्यासीसँग समर्थन जुटाउनुपर्ने बाध्यतामा छन् । यद्यपी, दोस्रो चरणमा कोइरालाले कृष्णप्रसाद सिटौला समूहको मत तान्ने रणनीति लिएको बुझिएको छ ।

पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । देउवाले पहिलो चरणमा २२ सय ५८ मत, डा.कोइरालाले १७ सय २९, सिंहले ३७१, निधीले २४९ तथा कल्याण गुरुङले २० मत पाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार