कांग्रेस उपसभापति पूर्णबहादुर खड्का किसुनजीको आश्रममा

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का किसुनजीको आश्रममा

काठमाडौं । पूर्णबहादुर खड्काको ४१ वर्षयता एउटा नियमित कर्म थियो, नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएलगत्तै आज त्यो कर्म पूरा गरे  ।

उनको कर्म थियो, दुःख या सफलतामा कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको समिपमा पुग्ने । उनले २०३७ सालदेखिको त्यो नित्य कर्म पूरा गर्न बिहीबार भट्टराई आश्रम बाडे गाउँ पुगे । ‘म दुःख पर्दा पनि किसुनजी कहाँ पुग्थे, दुःख हरण हुने उपाय निम्ति’ खड्काले बिहीबार बाडे गाउँको किसुनजी आश्रम पुगेपछि इकागजसँग भने, ‘अनि सफलता मिल्दा पनि किसुनजी कहाँ जान्थे, आर्शिवाद लिन्थे ।’

उनले किसुनजी जिउँदो छँदा पनि नियमित थियो । निधनपछि आश्रममा पुग्दै किसुनजीको चरण छुँदै बत्ती बाल्ने कर्म बिहीबार पनि पूरा गरेका हुन् । ‘मेरो जीवन पद्धति, राजनीति गर्ने तौर–तरिका, मेरो धनसम्पत्तिसँगको निस्क्रियता किसुनजीकै प्रेरणाबाट मिलेको हो’ खड्काले भने ।

उपसभापति निर्वाचित भएपछि आफ्नो निवासमा बधाई दिन आएका नेता/कार्यकर्तासँगको भेटघाटपछि खड्का किसुनजीको आश्रमतिर लागेका हुन् । यसअघि महामन्त्रीका रुपमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउने र विश्वासको मत दिलाउने ‘मिसन’ दिलाउन सफल भएपछि आश्रममा पुगेका थिए ।

उनका साथमा कांग्रेस केन्द्रीय सदस्यका प्रत्यासी रामहरि खतिवडामा साथमा छन् । खतिवडा पनि किसुनजीकै प्रेरणाबाट राजनीतिमा लागेका हुन् ।

६६ वर्षीय खड्का २,१२१ मतसहित पहिलो नम्बरको उपसभापतिमा विजयी भएका थिए । खड्काले भने, ‘म जे जसरी निर्विवाद भइरहेको छु, त्यसमा किसुनजीकै आर्शिवादबाट मिलेको हो । राजनीति र जीवन पद्धति उहाँकै दीक्षाबाट प्रभावित छ ।’

खड्काका अनुसार, ‘किसुनजी जीवित छँदा दुःख परेको बेला टाउकामा हात राख्दै किसुनजीका वाक्य हुन्थे, बाबु अब दुःख हरण हुन्छ ।’ जनमत संग्रह सकिएपछि २०३७ बाट किसुनजीबाट आर्शिवाद लिने क्रमलाई खड्काले निरन्तर राखेका हुन् ।

अनि कहीँ सफलता मिल्दा पनि खड्का किसुनजीका पुग्थे । अनि किसुनजीबाट आर्शिवाद मिल्थ्यो, ‘ल बाबु सफलता प्राप्त भएको छ, धैर्य गर्नू, निष्ठामा लाग्नू, जनताको सेवामा लाग्नू, लोभ नगर्नू, डर–धम्कीमा नपर्नू, इमान र निष्ठामा पनि प्रतिबद्ध हुनू, कुनै पनि किसिमको डर र लोभबाट मुक्त हुनू ।’

किसुनजी उत्साही वाक्यबाट खड्कामा तरंग आउँथ्यो । पञ्चायती व्यवस्थाको दबदबा हुँदा पनि किसुनजीमा कुनै डर या त्रास देखिँदैनथ्यो । किसुनजीका वाक्य स्मरण गर्दै खड्का भन्छन्, ‘ए बाबु, तपाईँहरू ढुक्क हुनुहोस्, हामी पञ्चायती व्यवस्था जसरी पनि ढाल्छौँ । धैर्य मात्र गर्नुस् ।’

२०१७ पुस १ कै दिन राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै प्रजातन्त्र र संसदीय व्यवस्था हरण गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार