कामी दाइ, तिमी त उस्तै पो रहेछौ

कामी दाइ, तिमी त उस्तै पो रहेछौ

जीवनभर फलाम पिट्दा पिट्दा
दाउराझैँ चिराचिरा परेका हातहरु
घनको ठोकाइले पटपटी फुटेका ठेलाहरु
आरनको धुइसोले रङ्गिएर
काती दलेेझैँ झुत्रा झुत्रा परेका उनका लुगा
शरीरको भित्र भित्रसम्म पसेका
वर्षौंदेखिका काला दागहरु ।
जाडो होस् या गर्मी
धुवाँमा खलखली पग्लिएको उनको शरीर
पराले छाप्रोमुनिको उनको आरन
आरनकै सामीप्यमा वर्षेनी पानी चुहिने
खरको छानाको उनको घर
पेटभरि खान नपाएर कुपोषणले ग्रस्त
उनका ख्याउटे छोराछोरीहरु
र ठाउँठाउँमा टालेको धोतीले लाज छोपेकी उनकी स्वास्नी ।
कामी दाइ,
तिमीले त जीवनभर घन घोटेर
ओदान बनायौ, तावा बनायौ
कहिले डाडुपन्यु त कहिले चिम्टा बनायौ
कहिले कुटो, कोदाली त कहिले हसिया बनायौ
सालबसाली दुईचार पाथी अन्नका निम्ति
अरु केके बनायौ केके ?
जिन्दगी निचोरेर फलाम त कुटिरह्यौ
तर फलाम निचोरेर जिन्दगी बनाउन सकेनौ ।
तिमीले बनाएको तावा र चिम्टाले
क्षेत्री बाहुनहरुको रोटी पनि सेक्यो
तिमीले बनाएको हसियाले
छुतीहरुको तरकारी पनि काट्यो
तिमीले बनाएको ओदान
पण्डितहरुको चुल्होमा पनि उभियो
तिम्रा हातबाट बनेका सबै सबै वस्तुहरु
सबैका पूजाआजा र भोजभतेरहरुमा योग्य भए
तर तिमीभने अहिलेसम्म
अछुतको अछुत नै भइरह्यौ ।
फलाम पोल्ने आगोको भट्टीमा
तिमीले आफ्नो भोक पोल्न सकेनौ
प्वाल परेका माटाका भाँडाझैँ तिम्रा विपत्तिहरु
एक डल्लो ढिडो र एकआङ छोप्नका निम्ति
जीवनभर खिइएका चप्पलले
जिन्दगीको बाटो नापिरह्यौ ।
इतिहासका हरेक कालखण्डहरुमा
तिम्रै नाम भजाएर गरिएका
प्रत्येक युद्ध र क्रान्तिहरु
वर्गीय उत्थानलाई तिलाञ्जली दिएर
जातियताको आरक्षणका नामले मात्र टालिए
पेटभरि खाना र एकसरो नानाको अभावमा
न तिम्रो छोराले उच्च शिक्षा पढ्न पायो
न तिम्री छोरीले जागिर ।
गरिबीदेखि मुक्ति पाइएला भनेर
राणाहरु विरुद्ध कुर्लियौ
पञ्चायतका विरुद्ध उर्लियौ
गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि होमियौ
जातिय मुक्ति र सम्पन्नताका नारा त
जीवनमा कति सुन्यौ कति ?
आज हेर्यौ त कामी दाइ ?
सर्वहाराहरुको नेतृत्व गर्छौं भन्नेहरु
आफूहरू खाँटी प्रजातन्त्रवादी कहलाउनेहरु
लोकतन्त्र र समाजवादका आख्यानहरु फलाकेर नथाक्नेहरु
आफ्नो विगतलाई बिर्सिएर
सम्पन्नताको सगरमाथा आरोहण गरिरहेछन्।
वर्गीय समृद्धि
जातीय मुक्ति
र आरक्षणको नाममा
निमुखाहरुलाई भुलभुलैयामा पार्दै
योग्य , शिल्पवान र क्षमतावानहरुलाई
खाडीका मरुभूमिहरुमा लखेटेर
आफ्नै महलको छतबाट
सर्वहाराहरुको लीला हेरिरहेछन्।
ल, भनभन कामी दाइ,
अब तिम्रो अगेनोमा भोक कहिले उम्लिएला ?
तिम्री स्वास्नीले कहिले फेर्न पाउलिन् नयाँ धोती ?
तिम्रा ख्याउटे छोराछोरीहरु
कहिले अघाउलान् तिम्रा सपनाहरुले ?
कहिले पूरा होला तिम्रो
टिनको छानामुनि बस्ने रहर ?
कहिले बग्न छोड्लान्
तिम्रा छोराछोरीका आँखाबाट चाहनाका आँसुहरु ?
हुँदा हुँदा तिमी त छुतीहरुबाट मात्र होइन
अछुतहरुबाट पनि अछुत बन्न पुगेछौ ।
समय बदलियो
व्यवस्थाहरु बदलिए
तर तिमीप्रतिका दृष्टिकोण र व्यवहारहरु बदलिएनछन्
कठै ! तिमी त उस्तै पो रहेछौ कामी दाइ,
र उस्तै रहेछ तिम्रो दैनिकी पनि
उस्तै रहेछ तिम्रो दैनिकी पनि ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार