यी हुन् कर्णालीबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य

यी हुन् कर्णालीबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये कर्णालीबाट ७ जना परेका छन्। सातै जना समावेशी कोटामार्फत् केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

कर्णालीका १० जिल्लामाध्ये यसपटकको महाधिवेशनबाट सात वटा जिल्लाबाट सदस्य निर्वाचित भएका छन्। कतिपय जिल्लाले पहिलोपटक कांग्रेसको केन्द्रीय सदस्य पाएका छन्। जसमा दैलेख, रूकुम-पश्चिम र जाजरकोट पर्छन्।

दैलेखबाट सीताकुमारी राना, जाजरकोटबाट राजिवविक्रम शाह र रूकुम-पश्चिमबाट मानबहादुर नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। दैलेखकी राना आदिवासी जनजातितर्फबाट निर्वाचित भएकी हुन्।

जाजरकोटका शाह भूगोल क्षेत्रको कोटाबाट र रूकुम पश्चिमका नेपाली दलित कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

यस्तै, हुम्लाकी रंगमती शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। यसअघिका केन्द्रीय सदस्य जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित हुँदा उनले भने केन्द्रीय सदस्य जितेकी छन्। शाही महिलातर्फको खुला सदस्यमा निर्वाचित भएकी हुन्।

यस्तै, खस-आर्य कोटाबाट जुम्लाकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन्। भूगोलतर्फ कर्णालीका कर्णबहादुर बुढा डोल्पाबाट र जानकी सिंह सुर्खेतबाट निर्वाचित भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार