मुसिकोटको मेयरमा जिताएर देखाईदिन्छु – प्रेमबहादुर ओली

अन्तर्वार्ता

मुसिकोटको मेयरमा जिताएर देखाईदिन्छु – प्रेमबहादुर ओली

अन्तर्वार्ता

नगर सभापति ओली

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ निवासी प्रेमबहादुर ओली नेपाली काँग्रेस मुसिकोटको नगर सभापति हुनुहुन्छ । पहिलो स्थानीय तहको चुनावमा वडा नम्वर १२ बाट निर्वाचित  वडा अध्यक्ष ओली अहिले नगरका १४ ओटै वडामा काँग्रेसको जित निश्चित भएको बताउँनुहुन्छ । युवा, सक्रिय, मिलनसार, सहयोगी, बिपक्षिलाई समेत रिझाउँन सक्ने क्षमताका धनि ओलीसँग आगामी स्थानीय तहको चुनावको सेरोफेरोमा उजेली न्यूज डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मुसिकोटमा नेपाली काँग्रेसको तयारी कस्तो छ ?

सर्वप्रथम, नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको चुनाव एकसाथ गर्ने जुन निर्णय गरेको छ, त्यो प्रशंसनिय छ, स्वागतयोग्य छ । विगतका चुनावमा सुनिएका जस्ता गुट र उपगुटको घिनलाग्दो हर्कत हामीले यस पटक अन्त गरेका छौ । सुदृढ र एकताबद्ध काँग्रेस बनाउन सक्षम भएका छौ । नगरपालिका अन्तर्गतका बिभिन्न वडा तथा टोलहरुमा पार्टी कार्यालय स्थापना र व्यवस्थित गर्दैछौ । सबै भातृ संगठनहरु गठन तथा पुनर्गठन गरेर चलायमान गराउन वडापालिकालाई निर्देशन दिएका छौ । चुनाव घोषणासँगै एक किसिमको लहर काँग्रेसमा पैदा भएको छ ।

देशव्यापी रुपमा काँग्रेसको समस्या समयमै उमेदवार घोषणा गर्न नसक्नु पनि हो । यस पटक यहाँपनि यस्तै छ हुने हैन ?

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । सबैका भावना र चाहना व्यक्त हुन्छन्, यहाँ । उमेदवारीका लागि आकांक्षा बढ्नु स्वभाविक हो । त्यस अर्थमा अहिले हामीले सातौ जिल्ला अधिवेशन पश्चात गुटउपगुटलाई अन्त्य गर्दै बलियो काँग्रेसको अभ्यास गरेका छौ । जहाँसम्म उमेदवार छनौटको कुरा छ, यसमा नगर र गाउँपालिकाको प्रमुख/उपप्रमुखको लागि प्रदेश र पालिका आफैले समन्वय गर्नेगर्छ भने वडा तहको उमेदरवार चयनका लागि जिल्ला कमिटि र पालिकाले समन्वय गर्छ । त्यसैले हामीले त्यसै प्रक्रियामा दत्तचित्त भएर लागेका छौ । समयमै उपयुक्त उमेदरवार तय गरेर चुनावमा होमिने छौ ।

तपाईहरुले मुसिकोटमा यसपटक विगतको भन्दा जनआधार बलियो छ भन्दै आउनुभएको छ । यसको आधार के हो ?

अवश्य पनि मुसिकोटमा हामीले जित्ने आधारहरु बलियो छन् । यस पटक हामी समयमै उमेदवार चयन गर्छौ । विगतमा कम्युनिष्टहरुले दिएका झुटो आश्वासहरु र प्रलोभनमा परेर जनताले दुख पाए । त्यो कुरा चिर्छौ । काँग्रेसको विचार योजना जनताका माझमा गएर तय गर्छौ । झिनो मतले हारेका हौ, यस पटक संगठनहरु चलायमान, बिस्तार गरेर कार्ययोजना अनुसार अघि बढ्छौ र अवश्य जित्छौ ।

आम नगरवासीले काँग्रेसकै उमेदवारलाई विजयी गराउनुपर्ने कारण के छ ?

नेपाली काँग्रेस जनताको पार्टी हो । जनताको पक्षमा काम गर्ने, लोकतान्त्रिक अभ्यास गरेर सत्ता चलाउने, स्थानीय तह देखि केन्द्रसम्म लोकतन्त्रको सुन्दर पक्षहरुको वकालत गर्ने र सबैभन्दा बलियो र पुरानो पार्टी हो काँग्रेस । अनुभव, विचार र योजनाले परिपक्व छ । जनताको हितको पक्षमा लाग्ने भएकोले जनताले काँग्रेस रोज्नेछन् । हामीले कुनैपनि पूर्वाग्रहबिना, मितव्ययी ढंगले, समानुपातिक विकासका लागि सबैसँग सहकार्य गर्छौ । समृद्ध र सदृढ नगरपालिकाको परिकल्पना गरेकोले यसको लागि नेपाली काँग्रेसका उमेदवारलाई जिताउन सबैजनालाई अनुरोध गर्दछौ ।

तपाईको नजरमा मुसिकोट नगरपालिकाको पाँच बर्षको कार्यकाल कस्तो रह्यो ?

हामीले मुसिकोट नगरमा पराजय भोगेका हौ । हाम्रो योजना अनुसार विकासका काम गर्न पाएनौ । केहि वडाहरुमा हाम्रो जित भएको हो । सुरुसुरुमा केहि कठिनाई भए । विकास निर्माण र जनताका काम गर्दैजाँदा आपसी समन्वय र सहकार्यमा जनताको मन जित्ने गरी काम गरेका छौ । तर पनि, पार्टीले प्रतिबद्धता गरेका कामहरु हुन पाएनन् । हाम्रो नेतृत्व नहुँदा यसो भएको हो । मेरो वडामा गर्व गर्न लायक कार्यकाल भएकोछ । समग्र मुसिकोटको मूल्यांकन जनताले यस पटकको मतदानबाट देखाउनेछन् ।

यस पटकको निर्वाचनमा तपाईको उमेदवारी के हो ?

मैले वडा अध्यक्षमा निर्वाचित भएर पाँच बर्षे कार्यकाल बिताए । केहि अनुभव, सिकाई र नयाँ योजनाको निर्माण र विकास गर्न सक्ने कुरामा परिपक्व भएको छु । पार्टीको बिभिन्न तहमा रहेर कुशल जिम्मेवारी पनि निभाएको छु । जिम्मेवारी र कार्यसम्पादनको स्तर पार्टीले मूल्यांकन गर्ने नै छ । जनमत, मेरो कार्यशैली, पार्टीले जिम्मेवारी दिएको खण्डमा म कुनै पनि पदको लागि मैदानमा आउँन तयार छु । मुसिकोट नगरको पार्टी सभापति भएकोले मेयरकै लागि पनि मार्ग प्रशस्त भएको छ । तल्लो तहका आम कार्यकर्ताको भावना, चाहना, पार्टी प्रतिको विश्वास र भरोसा, जनता प्रतिको सेवाभावले मलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । हामी बृद्धहरुको मन जित्न, युवाहरुलाई साथमा राख्न अथवा मतदाताहरुको मतको कदर गर्न सक्षम छाै । पार्टीका तर्फबाट बनेका उमेदवारलाई जिताएर देखाईदिनेछु ।

अन्तमा, समग्र मुसिकोटवासी जनतालाई के भन्न चाहनुहुन्छ ?

समय धेरै बदलिएको छ । फोस्रा र चर्का नाराको भुलभुलैयामा पर्नु भनेको गलत नेतृत्वलाई सपोर्ट गर्नु हो । हाम्रालाई हैन, राम्रालाई चिन्ने र छान्ने बेला हो । यस्तो अवसर सधै आउँदैन, नेपाली काँग्रेसका उमेदहरुलाई मत दिनुस्, हरपल साथ पाउनुहुनेछ । तेरो मेरो भन्ने ठाउँ दिने छैनौ । तपाईहरुको विवेकको सम्मान र मतको कदर हुनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार