अनुभुतीका तरङ्गहरु र संक्रमणकालीन हाम्रो पुस्ता !

अनुभुतीका तरङ्गहरु र संक्रमणकालीन हाम्रो पुस्ता !

विगत इतिहासका डोब र छोडिएका पदचापहरुलाई तुलनात्मक समिक्षाको तराजुमा लेखाजोखा गर्ने जमर्को । बाल्यकालदेखि नै अभाव¸ संकट¸ गरिबी र संघर्षको बिचबाट अघि बढ्दै गर्दा विभिन्न खालका रोजगारीमा आवद्ध । जिन्दगीमा के गर्ने ? के नगर्ने ? जिन्दगीलाई अर्थपुर्ण कसरी बनाउने ? भन्दा पनि जिविकोपार्जन र पेट पाल्ने पेशाको खोजी नै अल्पविकसित देश (LDC) नेपालका आम नागरिकको वाध्यता र विवशतामा हामी सबै घालमुल । केके न राष्ट्रिय¸ अन्तराष्ट्रिय विषयमा बहस¸ तर्क¸ बितर्क¸ छेडछाड गरेपनि हाम्रो हैसियत बसीबसी चिन्तन¸ मनन¸ विचार¸ विमर्श गरी खान पुग्ने खालको नरहेको अवस्था । कुनै न कुनै पेशा¸ व्यवसाय र रोजगारीमा आवद्ध हुनैपर्ने अनिवार्यता । सफलता असफलताका समिश्रित संस्मरण बोकेर संघर्षको विचबाट अघि बढ्नुपर्ने बाध्यता ।

 

पङ्तिकार स्वयम् बाल्यकालदेखि नै स्वदेशका गाउँ घरमा गोठालो¸ घंसारो¸ कुल्ली¸ ज्यामी¸ मजदुर¸ भरिया¸ किसान¸ डोकोमा तरकारी बोकेर बजारमा बेच्ने तरकारी व्यापारी¸ सट्टा शिक्षकका साथै इन्डियाका फाइभ स्टार होटलहरुमा भांडा माझ्ने¸ महाजनका बंगलाहरुमा कुल्ली¸ चौकीदारको काम गर्दागर्दै एउटा फरक परिवेशको कारण रोजगारीकै खोजीमा काठमान्डौँका सडक¸गल्लीहरुमा भौँतारिंदै केही पत्रपत्रिकाको सम्वाददाता¸ साइनवोर्ड लेख्नेहरु र भित्तामा विज्ञापन लेख्ने हिना आर्टको साहुले लगाए अनुसारका काम¸ टाइपिष्ट¸ कम्प्युटर अपरेटर¸ ज्यालादारी¸ करार¸ अस्थायी¸ स्थायी हुंदै कार्यरत रहिरहेको अवस्थाबाट हाल केही दिनदेखि सुन्धाराको माछापुछ्रे होटल कोठा नम्वर ६०२ मा बसी भीमसेन थापा निर्मित बागदरबारका टिने छाना नियाल्दै डायरीका पानाहरु कोरिरहेको वर्तमान ।

 

हाम्रो पुस्ता आफैमा संक्रमणकालीन पुस्ता हो । विकास¸ समृद्धि र परिवर्तनको कोणबाट हाम्रो पुस्ता जति नयाँ पुराना अवसर र चुनौती कसैले पनि ब्यहोरेका छैनन । हाम्रो पुस्ता नै हो । शितलपाटी¸ श्रीनगरबाट डोकोमा नुन बोकेर ल्याइ जिब्रोलाई नुनिलो बनाएको । साथमा आएका गुरका डल्लाले गुलियो चाखेको । र उतैबाट आएका चुरा टिकुलीले मेकअप गरेको । यताबाट जाँदा घिउका टिन र उताबाट आउंदा मालुका पातमा बेरिएका नुनका पोकाहरु कोचिएको हटारी डोको बोकेर फालाबाङ्ग्¸ लार्दाका उकाली ओराली अनि लौराबाङ्गका खोले बगर तथा मुलका गडबराहरुमा भरियाको भुमिका हाम्रै पुस्ताले अनुभव गर्यो । दाङ्ग तुल्सीपुर पुग्नको लागि झोला बोकी पैदलै पैदल सल्यानका डांडाकांडा कति धेरै चप्पल पड्काइयो ? कति धेरै जुत्ता घिसारियो होला ? हाम्रै पुस्तालाई थाहा छ । सम्झना ताजै छ हाम्रा बाले “अन्तिम उकालो यही हो छोरा बरु ठूलै गुरको डल्लो खालाई” भन्दै लौराबाङ्गको खोलाबाट खौलाको उकालोमा लठ्ठी टेक्दै फ्याँफ्याँ गर्दै ११ बर्षे अमेरमा ६ नम्बरको भारी डोको बोकी उक्लिनको लागि प्रोत्साहित र उत्प्रेरित गरेका ति बाल्यकालीन मार्मिक क्षणहरु ।

 

देशमा ठुलाठुला राजनीतिक परिवर्तनहरु हाम्रै पुस्ताले देख्नेगरी भए । निर्दलीय पंचायती राजतन्त्र¸ संवैधानिक राजतन्त्र¸ बहुदल¸ लामो द्वन्दकाल¸ निरङ्कुश राजतन्त्र फेरि लोकतान्त्रिक गणतन्त्र । हामीले जति परिवर्तनका खान्कीहरु कसैले देखेको छैन । आन्दोलन¸ संघर्ष र उतारचढावका बान्कीहरु हामी जति कसैले भोगेको छैन ।

 

विकासका मार्गचित्रहरु हाम्रै पुस्ताले अनुभव गर्नेगरी भए । कैयन दशकसम्म शितलपाटीमै रोकिएको सडकबाटो दशक बढी सिमखोलीतिर ट्याक्टरका पछाडिका ठुला पाङ्ग्रामुनी हिलोमा गाडिदै¸ भासिदै गाउंबस्तीसम्म आएको हाम्रै पुस्ताले देख्यो । महिनौसम्म¸ हप्तौसम्म पैदल मार्गबाट हिडेका गाउंवस्ती डांडाकांडामा गाडी मोटर बाइकमा छिनछिनमै पुग्ने काम हाम्रै पुस्ताले गर्यो । घरकै माथि प्लेन चिलकारी देख्ने र त्यसमै चढेर घन्टा मिनेटमा नेपालगंज काठमान्डौँका एयरपोर्टमा फुत्त निस्कने काम हाम्रै पुस्ताले गर्यो ।

 

सल्लाको खोटो र भिमलका स्याँटाबाट बनेका झिरको आगो सल्काएर गरिएको उंज्यालो अभियानलाई चेलपारको मसी हालेको डिब्बामा मट्टितेल हाली उक्त डिब्बाको बिक्रोमा सानो प्वांल पारी उक्त प्वांलमा कपास वा धागो छिराई टुक्कीको रुपमा प्रयोग गरी अंध्यारो हटाउने काम पनि हाम्रै पुस्ताले गर्यो । कुनै कार्यक्रमहरुमा पेट्रोलम्याक्स म्यान्टुल बालेर झलमल्ल पार्दै हसेउली नाटङ्ग मनोरन्जन गर्ने अनुभव पनि हाम्रै पुस्ताले गर्यो । टुकीबाट सोलारका पाताहरु छाना छानामा लर्काएर झलमल्ल उँज्यालो पनि हाम्रै पुस्ताले देख्यो । अनि स्थानीय हुंदै केन्द्रिय विधुत प्रशारणका तार¸ मिटरबक्श उद्घाटन गर्दै झ्याप्प झ्याप्प वा झलमल्ल बिजुली बाल्ने काम पनि हाम्रै पुस्ताबाट भयो ।

 

संचारको क्षेत्रमा रुपैडिया पुगी किनिएका फिलिप्स रेडियोमा घन्किएका मेडिवेभ¸ सर्टवेभ ब्यान्डका रेडियो नेपालका क्वारक्वार आवाजहरु हाम्रै पुस्ताले सुन्यो । रेडियो नेपालबाट अल इन्डिया रेडियोका समाचार र बिबिसीका समाचार सुन्न रेडियोका ब्यान्ड घुमाउंदै क्वारक्वार क्वारक्वार पार्ने काम पनि हाम्रै पुस्ताले गर्यो । हुंदा हुंदा घरै नजिक एफएम पुगेको¸ मोबाइल¸ फेसबुक¸ अनलाइन¸ अफलाइन जताकतै प्रस्ट र सुरिला रेडियोका श्वर ध्वनी तरङ्गहरु हाम्रै पुस्ताले सुन्यो । र छिनछिनमा¸ सेकेन्ड सेकेन्डमा समाचार विचार प्रभावित हुने अनलाइन मिडियाको भरपुर उपयोग पनि हाम्रै पुस्ताले गर्यो ।

 

महिनौं बर्षौँ पछि प्राप्त हुने हुलाकी चिठ्ठीबाट भावना साटासाट र विभिन्न सरकारी कार्यालयमा पहुँच पुर्याई आबासेटबाट रोजर आवाजको आदानप्रदान हाम्रै पुस्ताले गर्यो । महिनौंपछि पुग्ने गोरखापत्रका पुराना पन्नाहरु पल्टाएर सुचना जानकारी हासिल गर्ने हाम्रै पुस्ता भयो । टेलिकम कार्यालयबाट फोन गर्नको लागि रातभरी लाइन लाग्ने¸ टेलिफोन बुथबाट फोन गर्न सोर्सफोर्स लाउने¸ मोबाइल सिमको लागि तंछाडमछाड गर्ने काम पनि हाम्रै पुस्ताले गर्यो । काठमान्डौबाट ठुलो शक्ति पहुँच प्रयोग गरी नोकिया मोबाइल सेट झिकाएर टेलिकमका स्थानीय कार्यालयमा ठुलो चाकडीबाट प्राप्त मोबाइलका सिम कोचरेर ताररहित संचार हेलो हजुर नमस्ते स्काइ पनि हाम्रै पुस्ताले उद्घाटन् गर्यो । र अहिले पसलपसलमै मोबाइलका सिमकार्ड र गाउंवस्तीका हरेक चोकमा मोबाइल पसल पनि हाम्रै पुस्ताले झलझली देख्यो ।

 

सुचना प्रविधिको क्षेत्रमा लिथो मिल्काउंदै ख्याटख्याट ख्याटख्याट टाइपराइटर हान्ने काम हाम्रै पुस्ताले गर्यो । टाइपराइटर मिल्काउंदै ठुलाठुला साइजका कोठाभरिका कम्प्युटर पनि हाम्रै पुस्ताले भित्र्यायो । सिमीत दायरका एमबि कपासिटी भएका प्लपी डिस्क मिल्काउंदै सिडी डिभिडी चक्का आएको हाम्रै पुस्ताले देख्यो । एमबी कपासिटीका सिडी फाल्दै जिबी टिबी क्षमताका पेनड्राइइ हार्ड ड्राइभ मेमोरी पनि हाम्रै पुस्ताले देख्यो । सुचना प्रबिधिको विकास कहाँबाट कहाँ पुग्यो ? भनी साध्य छैन । अनुमान गरी साध्य छैन । बहस अब आर्टिफिसियल इन्टेलिजेनस्ज¸ यन्त्र मानव नागरिक¸ नानो टेक्नोलोजी¸ भर्चुअल सरकार¸ जेनेटिक इन्जिनियरिङ्ग जस्ता कतिकति नयाँ विषय हाम्रै पुस्ताले भोगिरहेको छ ।

 

ढुङ्गे चुलोमा दाउराको आगोमा पाङ्ग्रीमा भात पकाउनेदेखि मट्टितेलबाट स्टोभ बाल्दै प्रेसरकुकरमा स्यारस्यार सिटी बजाउंदै मासु पकाउने काम पनि हाम्रै पुस्ताले गर्यो । स्टोभबाट निस्किएको आगोको भ्वार्रभ्वार्र गर्ने झर्रो आगोलाई तिखा पिनले खोपखाप पार्दै खाना पकाउंदा पकाउंदै ग्याँसका सिलिन्डरका डल्ला पनि हाम्रै पुस्ताले घरघरमा भित्र्यायो । सिमलका रुखमुखी¸ बेरुलाका हाँगामा¸ बाँसका झ्याङ्गमुनी¸ खोला खोल्सा र गिठाका ठेलामा बसेर मलमुत्र त्याग गरेको अवस्थामा घरघरमा चर्पी शौचालय उद्घाटन प्रयोग हाम्रै पुस्ताले गर्यो ।

 

संकटको क्षेत्रमा विनाशकारी भुंइचालो¸ विश्व महामारी कोरोना प्रकोप हाम्रै पुस्ताले देख्यो । संकट¸ विनाश¸ भोकमरी¸ जलवायु परिवर्तनको गम्भीर परिणामहरु अंझै कस्ता कस्ता हाम्रो सामु आउने हुन कुनै निश्चित ठेगान छैन ।

 

जाँगर लागे क्रमश …… नत्र स्टप स्थगित … धनियापात् । @ माछापुछ्रे होटल सुन्धारा काठमान्डौँ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार