रुकुम पश्चिममा वडा स्तरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

रुकुम पश्चिममा वडा स्तरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

मुसीकोट । रुकुम पश्चिममा वडा स्तरमा राष्ट्रिय परिचय–पत्र बनाउन विवरण संकलनको लागि अभियान सञ्चालन गरिने भएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौँको आयोजनामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वडा स्तरमा उक्त अभियान सञ्चालन गरिने बताइएको छ ।

नागरिकता लिएका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने सरकारको उद्देश्य अनुरुप रुकुम पश्चिमका वडा वडामा दुई /दुई वटा स्टेशन स्थापना गरेर राष्ट्रिय परिचय–पत्र दर्ता गरिने बताइएको छ ।

अन्तरक्रिया कार्यक्रमबाट फागुन १५ भित्रै जिल्लामा राष्ट्रिय परिचय–पत्र विवरण दर्ता अभियान सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा मुसीकोट नगरपालिकाका १४ वडाका २८ र बाँफिकोट गाउँपालिकाका १० वडाका २० ठाउँमा दर्ता स्टेशन स्थापना गरिने भएको छ ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्राईले बताउनुभयो ।

परिचयपत्रमा वायोमेट्रिक विवरणहरु समेत संकलन हुने भट्राईको भनाई छ । उहाँका अनुसार तस्विरमार्फत चेहराको रेकर्डसँगै दशैं औलाको छाप डिजिटल मार्फत संग्रह गरिनेछ । यसका साथै परिचय पत्रमा आँखाको रेटिनाको तस्विर समेत संकलन गरेर राखिनेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक ललित कुमार बस्नेतले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देबीलाल गौतम, त्रिबेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी, उपाध्यक्ष मनकला पुन, आठबीसकोट नगरपालिका उप प्रमुख गिता नेपाली, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियोे ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार