रुकुम (पूर्व) मा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम 

रुकुम (पूर्व) मा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम 

रुकुमकोट ।  रुकुम (पूर्व) मा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सूचना आयोग काठमाडौँको आयोजनामा रुकुमकोटमा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी र विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको हो । 

सूचनाको हक सम्बन्धिका कुराहरू सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले रुकुम (पूर्व) मा कार्यक्रमको आयोजना गरिएको आयोगले बताएको छ ।

कार्यक्रममा सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले सूचनाको हक के हो, यसका सिद्धान्तहरू, सार्वजनिक निकाय, सूचनाको हकका संवैधानिक र कानुनी पक्ष, सूचना प्रवाह गर्ने विषयहरू, सार्वजनिक कार्यालयहरूको दायित्व, सूचना अधिकारीहरूको काम कर्तव्यलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

आयोगका आयुक्त मैनालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समित प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीमगर, सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बूढा, प्रमुख जिल्ला अधिकारी कृष्ण खड्का, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो । 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार