रुकुमकोटमा यात्रु सहायता कक्ष

रुकुमकोटमा यात्रु सहायता कक्ष

रुकुमकोट । नजिकै आइरहेका दसैँ र तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी सदरमुकाम रुकुमकोटमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले सहायता कक्ष सञ्चालमा ल्याएका हुन् । सदरमुकाम रुकुमकोटस्थित कमलदहचोकमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

दसैँ तिहार र छठ पर्वमा हुने यात्रुको चापका कारण हुने दुर्घटना, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार र यात्रु ठगिने सम्भावनालाई ध्यानमा राखी यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख एवं प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो । छठपर्वसम्म दैनिक बिहानदेखि राती अबेरसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने उहाँको भनाइ छ ।

यात्रुहरू पुग्ने स्थानको एकिन, सवारी साधनको अवस्था, भाडादरलगायत अन्य समस्यामा परेकालाई सहयोग गरी यात्रुलाई गन्तव्यसम्म पु¥याउन सहायता कक्षले काम गर्नेछ । विगतका वर्षहरूमा यातायात व्यवसायीले चाडपर्व मनाउन घर आउने र जाने यात्रुसँग मनपरी भाडा असुली गर्ने गुनासो आउने गरेका थिए । खत्रीले भन्नभयो, ‘त्यसलाई रोक्न हामी प्रतिवद्ध छौँ ।’ मनपरी भाडा उठाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने र तीव्र गतिमा सवारी साधन चलाउनेजस्ता कार्य नगर्न ट्राफिक प्रमुख खत्रीले चालकलाई अनुरोध गर्नुभएको छ ।

यात्रुले गाडी नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्षमा नियमित सुरक्षाकर्मी परिचालन गरेको उहाँको दाबी छ ।

चोरी, ठगी, लुटपाट, नियन्त्रणसँगै दुर्घटना न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी र ट्राफिक प्रहरीले सवारी चेकजाँचमा पनि कडाइ गरेको जिल्ला ट्राफिक कार्यालय रुकुमपूर्वले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार