कोरोनालाई जित्दा खुशीको सीमा रहेन…

कोरोनालाई जित्दा खुशीको सीमा रहेन…

वैशाख १२ कञ्चनपुर

गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे।

सोही समयमा भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन  लकडाउन जारी गर्यो। लकडाउन भएसँगै विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे। दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेका विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुगे।

गत चैत्र १३ गते नै विकसहितको टोलीलाई त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँच गरायो र बेदकोटमा रहेको क्वारेन्टाइनमा पुर्‍यायो। ‘दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ।’ कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले  भने, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन।’

मजदुरमा लगाउने ठेकेदारले एक महिनासम्म लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताए। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताए।

‘कोरोना पोजेटिभ रिपोर्ट आए पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन,’१८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उनले भने, ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो।’ उपचारको क्रममा अस्पतालमा रहँदा समयमै औषधि र खानपिन मिल्ने गरेको उनी बताउँछन्।

‘डाक्टर’सापहरु फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइरहनुहुन्थ्यो,’ होम क्वारेन्टाइनमा रहेका विकले भने, ‘स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइन्थ्यो।’ यसअघि पाँच जना संक्रमित रहेको सुदूरपश्चिममा विकसहित तीन पुरुष फर्किसकेका छन्। उनले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताए।

‘अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो,’ उनले भने, ‘हिजो त मज्जाले निदाए।’ घर फर्किएका विक भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन्। ‘भाइबुहारी भारतमै छन्,’ उनले भने, ‘घर खाली भएकाले त्यसलाई प्रयोग गरेको हुँ।’

श्रीमानलाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि थाहा पाएकी सीता विकले संक्रमण भएको थाहापाएपछि घरका सबै जना तनावमा रहेको बताइन्। ‘मजदुरी गर्न गएका श्रीमान् बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो।’ उनले भनिन्, ‘उपचारपछि निको भएर आएका श्रीमानलाई देख्दा खुशीको सीमा नै रहेन।’

सञ्चो भएर मात्र गाउँमा फर्किएपछि निकै सद्भाव मिलेको विकको भनाइ छ।’क्वारेन्टाइन बसेर उपचार गरी निको भएर फर्किएकामा गाउँले दाजुभाइ पनि खुसी छन्,’ उनले भने, ‘घर आउन सीमानाका बन्द भएपछि ट्युब तरेर आउनु बाध्यता थियो।’

त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताए। ‘कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो,’ गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भने, ‘निको भएर आएपछि सबै हर्षित छन्।’रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार