हिरासतबाट छुटेपछि भीम उपाध्याय : म होइन, प्रधानमन्त्री सच्चिनुपर्छ

Duduwa Corona

हिरासतबाट छुटेपछि भीम उपाध्याय : म होइन, प्रधानमन्त्री सच्चिनुपर्छ

फेसबुकमा स्टाटस लेखेवापत चार दिन हिरासत बसेर पूर्वसचिव भीम उपाध्याय सोमबार २५ हजार धरौटी तिरेर रिहा भएका छन् । उनीमाथि सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोप छ ।

हिरासतबाट छुटेपछि उपाध्यायले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताए ।  उपाध्यायले प्रधानमन्त्रीको स्वास्थ्य लक्षित टिप्पणीहरुको प्रतिरक्षा गरेका छन् । आफूले सरकारविरुद्ध खबरदारी गरेको र भविश्यमा पनि गरिरहने उनको भनाइ छ ।  रिहा भएपछि उपाध्यायसँग अनलाइनखबरले गरेको वार्तालाप–

फेसबुकमा लेखेका कुराहरुले ४ दिन हिरासतमा बस्नुपर्यो, के छ तपाईंको प्रतिक्रिया ?

यो लोकतन्त्रमाथि आघात हो । तपाईंहरु सबै मिलेर आवाज उठाउनुभएको छ । मिडिया र सोसल मिडियाको आवाजले गर्दा सरकार झुक्यो । हामी यसै गरी जागरुक हुनुपर्छ । ‘फ्रिडम इज नट फ्रि’ भन्छन् । त्यसैले आवाज उठाइरहनुपर्छ ।

तपाईंले लेखेको कुन कुरामा सरकारको बढी आपत्ति रहेछ, के बुझ्नुभयो ?

मैले प्रधानमन्त्रीको आलोचना गरेर एउटा व्यंग्यात्मक स्टास लेखेको थिएँ । प्रधानमन्त्रीले केही दिनअगाडि कोरोना सम्वन्धि बोसीय र फ्याटीय भन्दै भाषण गर्नुभयो । तातोपानीले कुल्ला गर्नुपर्छ, चश्मा लगाउनुपर्छ के–के भन्नुभएको थियो । ती सबै सरासर गलत कुरा भनेको हो । त्यसलाई लिएर मैले अलिकिति व्यंग्यात्मक तरिकाले ‘डाक्टर ओली, भाइरोलोजिस्ट र ….भनिदिएको थिएँ । त्यसलाई उनीहरुले हेपेको जसरी बुझेछन् ।

पूर्वसचिव भने पनि अहिले सरकारसित मेरो केही सम्वन्ध छैन । यो पूर्वश्रीमान वा पूर्वश्रीमती भनेजस्तै हो

केही व्यक्तिले तपाईं निजामति सेवाको उच्च ओहोदामा पुग्नुभएको मान्छेले सामाजिक सञ्जालमा सरकारविरुद्ध छुद्र र स्तरहीन शब्दमा गाली गर्नु हुँदैन भनेर पनि तर्क गरेका छन् नि ?

मैले त्यस्तो गरेको छैन । शब्द छनोट मेरो कुरा हो । मेरो लेखाइमा ‘सेन्स अफ ह्यूमर’ हुन्छ, बेला–बेला कडा आलोचना हुन्छ, धेरैचाहिँ शालीन हुन्छ । दिनमा ५० वटा स्टाटस लेखेँ भने ४० वटा शालीन हुन्छ । १० वटा मात्र आलोचना हुन्छ ।

सरकारको ढुकुटीबाट पेन्सन खाने पूर्वकर्मचारीले सरकारलाई धारावाहिक आलोचना गर्नु अलि जायज भएन कि भन्ने पनि छ नि ?

जहाँसम्म सरकारको ढुकुटीबाट पेन्सन आएको कुरा छ, त्यो मैले सरकारलाई आफ्नो श्रम बेचेर कमाएको पैसा हो । मैले बेरोजगारी वा वृद्धभत्ता लिएको होइन । कर्मचारीले श्रम बेचेर पारिश्रमिक लिने हो । तलव भनेको श्रमको विनिमय हो । पेन्सन पनि त्यही हो । पेन्सन नहुने भए तलब डबल हुन्थ्यो होला । मैले पेन्सन आउने शर्तमा न ३० वर्ष काम गरेको हुँ । यो सरकारले दया–मायाले दिएको पैसा होइन ।

प्रधानमन्त्रीको गिदी पनि प्रत्यारोपण भएको हो कि भन्नेजस्तो प्रश्न त अलि बढी नै भएन र ?

मैले कहाँ प्रधानमन्त्री भनेर उल्लेख गरेको छु ? त्यसरी डाइरेक्ट लेखेको छैन । मैले सांकेतिक, साहित्यिक शब्दमा लेखेको छु । ‘किड्नी मात्रै होइन गिदी पनि अर्काको लिएको जस्तो देखियो’ भनेर लेखेको छु । प्रधानमन्त्री भनेर कतै भनेको छैन । यो त चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेजस्तो भयो ।

तर, त्यो कुरा प्रधानमन्त्रीलाई नै ईंगित गरेर भनेको भन्ने त सामान्य मान्छेले पनि बुझ्दैन ?

बुझेर भएन । मलाई उहाँलाई नै भनेको भनेर कसरी प्रमाणित हुन्छ ? मैले त्यो शब्द प्रधानमन्त्रीलाई भनेको नै होइन । कसैको व्यक्तिगत चरित्र र स्वभावमा टिप्पणी गर्ने मेरो बानी छैन । तर, सार्वजनिक पदमा बस्नेहरुको एक–एक सेकेन्डको एक्टिभिटीको निगरानी राख्छु । लोकतन्त्र भनेको यही हो । पूर्वसचिव भने पनि अहिले सरकारसित मेरो केही सम्वन्ध छैन । यो पूर्वश्रीमान वा पूर्वश्रीमती भनेजस्तै हो ।

तपाईं अहिले पनि खानेपानी मन्त्रालयको विज्ञ हुनुहुन्छ, कसरी सम्वन्ध छैन भन्ने ? 

म विज्ञ होइन । परेका बेलामा सल्लाह दिनुस् है भनेर खानेपानीका पूर्वसचिवहरुको एउटा समूह बनाएको छ सरकारले । म रिटायर्ड मान्छेले सरकारले आग्रह गर्दा फुर्सद छैन भन्न भएन । बैठकमा बोलाउँदा कहिले जान्छु, कहिले जान्न । राज्यलाई मेरो काम आवश्यक पर्छ भने गर्छु । मैले यसका लागि न तलब–सुविधा मागेको छु, न भत्ता खाएको छु । मैले हिरासतमा बस्दा त सरकारको चिया खाइनँ ।

कसको खानुभयो त ?

म आफैंले पैसा तिरेर क्यान्टिनबाट मगाएर खाएँ । मेसको खाना पनि खाइनँ ।

मेसको खाना गतिलो नभएर होला नि ?

होइन, गतिलै पाक्छ । म शाकाहारी मान्छे । उही दालभात तरकारी खाने त हो । अरु के चाहिन्थ्यो र ?

हिरासतभित्र कस्तो व्यवहार भयो तपाईंमाथि ? 

मलाई त्यहाँ बस्दा इन्सपेक्टरभन्दा तल्लो तहका पुलिसहरुमाथि धेरै दया लाग्यो । उनीको शोषण पनि भइरहेको रहेछ । उनीहरुले मलाई सम्मान पनि गरे । मेरा सबै स्टाटस पढे ।

तपाईंमाथि अर्को आरोप छ कि तपाईंले सामाजिक सञ्जालमा मुस्लिम समुदायको अपमान हुने किसिमको स्टाटस र फोटो पोष्ट गर्नुभयो भन्ने । यस विषयमा उजुरी पनि परेको रहेछ । यसमा चाहिँ के भन्नुहुन्छ ?

अहँ, मैले त्यस्तो गरेको छैन । मैले एउटा गाउँखाने कथाजस्तो स्टाटस लेखेको थिएँ, रुखको टोड्कामा बस्छ, टाउको मात्र देखिन्छ के हो ? भनेर । त्यसमा कसैले ओली, कसैले साँच्चिकै कुनै चराको नाम लिए । एकजनाले चाहिँ एक मुस्लिम व्यक्तिले रुखको टोड्कामा बसेर टाउको मात्रै देखाइरहेको फोटो हालेछन् । त्यो फोटो मलाई मन पर्‍यो । अनि यो कुन चरा हो ? भनेर त्यो फोटो आफैंले पोष्ट गरेँ । तर, मान्छेले विभिन्न अर्थमा बुझे । विवादित हुने देखेपछि मैले त्यो फोटो डिलिट गरेँ । भएको यत्ति हो । यसैलाई लिएर उजुरी गरिहनु आवश्यक थिएन ।

तर, फोटो र तपाईंको क्याप्सपनले त मुस्लिम समुदायलाई मजाक बनाएकै भान हुँदैन र ?

मेरो स्टाइल त्यही हो । अब पनि यही हुन्छ । सच्चिनुपर्ने मैले होइन, प्रधानमन्त्रीले हो

हेर्नुस्, म आफैं दारी पाल्छु । त्यो फोटोको मान्छेले पनि दारी पालेको छ । मजस्तै देखिन्छ । मैले आफैंमाथि मजाक गरेको पनि त हुन सक्छ । ल ठीक छ, मैले मजाक नै गरेको हो भने पनि के फरक पर्‍यो ? यहाँ कसको मजाक हुँदैन ?

जहाँसम्म मुस्लिम समुदायको कुरा छ, म त उनीहरुप्रति सद्भाव राख्छु । मैले जमाति को हुन् भनेर एउटा लामो स्टाटस नै लेखेको छु । मलाई देशभरका मुस्लिमहरुले धन्यवाद दिएका छन् । मलाई साम्प्रदायिक भन्ने मान्छे त महापापी हो ।

तपाईंलाई पक्राउ गर्ने काम प्रहरीले आफ्नै स्वविवेकमा गरेको होला कि माथिको आदेश होला ?

प्रष्टै छ नि । बालुवाटारको आदेश हो । ममाथि ‘इन्भेस्टिगेसन’ का क्रममा सरकारी वकिल, इन्सपेक्टरको छट्पटाहट देख्दा नै यो थाहा हुन्थ्यो कि माथिल्लो निकायकै यसमा चासो छ । एक–एक घन्टामा रिपोर्टिङ गर्नुपर्ने स्थिति थियो । बालुवाटरले गरेको हो भन्ने प्रष्टै छ ।

तपाईंलाई लामै समय भित्र बस्नुपर्ला भन्ने डरचाहिँ कत्तिको लागेको थियो ?

मलाई लागेको थिएन । मैले गरेकै के थिएँ र ? मलाई न्यायिक हिरासतमा राख्न सक्ने बढीमा २५ दिन थियो । शुक्रबार नै छुट्नुपर्ने थियो ।

पक्राउ पर्दैछु भन्ने संकेत पाउनुभएको थियो ?

अहँ थिएन । त्यस दिन बेलुका चार–पाँच बजेतिर दुई ट्रक पुलिस मेरो घरमा आउँदै छन् रे भन्ने गाईंगुई भयो । मलाई विश्वास त लागेको थिएन । किन होला भन्ने भयो ।

साढे ९ बजेतिर खाना खाएर त्यसै बसिरहेको थिएँ । टोलमा प्रहरी आएको हल्ला चल्यो । मेरो घर खोजिरहेका रहेछन् । अनि म आफैं बाहिर निस्किएँ । डर पटक्कै थिएन । बरु ममाथि के आरोप छ भन्नेचाहिँ चासो थियो । डीएसपीको कमाण्डमा दुईवटा गाडीमा १५ जनाजति प्रहरी आएका थिए । उनीहरुले पक्राउ पुर्जी थमाए । मलाई साइबर अपराधको आरोप होला भन्ने त कल्पना नै थिएन ।

पक्राउ पुर्जीमा के लेखेको थियो ? 

साइबर अपराधको कसुरमा छानविन गर्न बोलाइएको भनिएको थियो । प्रहरीले चाहिँ प्रधानमन्त्री–राष्ट्रपतिको अपमान गरेर स्टाटस लेखेको कुराहरु पनि गरे । अनि साम्प्रदायिकता फैलाएको आरोप पनि लगाए । मलाई कस्तो हावा कुरामा पक्राउ गरेका हुन् भन्ने लाग्यो ।

जीवनमा पहिलो हिरासत बसाईको अनुभव चाहिँ कस्तो भयो ?

मलाई स्वास्थ्यको हिसाबले त गाह्रो छैन । योग–ध्यान गर्ने भएको हुनाले शरीर स्वस्थ छ । म सामान्य मान्छे हुँ । जस्तो अवस्थामा पनि बस्न सक्छु । सुखसयल चाहिँदैन ।

मलाई अरु कैदी भन्दा फरक व्यवहार थिएन । भुइँमा नै सुतेको हो । कोठामा बत्ती थिएन । ट्वाइलेटमा ढोका थिएन । प्रहरीले २४ सै घन्टा देख्ने गरी बाख्राको खोरमा बसेजस्तो बसियो ।

यो घटनापछि अब अब आफू पनि केही सच्चिनुपर्छ र सामाजिक सञ्जालमा लेख्दा संयम अपनाउनुपर्छ भन्ने लागेको छ ?

म जहिले पनि संयमित नै छु । सार्वजनिक ओहदामा बस्नेले त फलामको च्यूरा चपाउने क्षमता राख्नुपर्छ । नत्र त उनीहरुलाई खेद्ने नै हो । तलब खाएर फोकटमा बस्ने होइन नि । एक–एक पैसाको काम गरेको देखाउनुपर्‍यो । चाहिने–नचाहिने कुरामा फ्याटिय, बोसिय भन्दै हिँडेर हुन्छ ? बालुवाटारमा सरकारी पैसाले सारंगी बजाउने, पार्टी कार्यालय बालुवाटारमै चलाउने, अनि हामीले आलोचना गर्दा रिसाउने यस्तो कुरा म सहँदिनँ । अब पनि सहन्नँ ।

शब्द चयनमा अलिकति ध्यान पुर्‍याउँदा त ठिकै होला नि ?

म त भित्र चोट पुर्‍याउने गरी भन्ने हो । लेख्दा कहिले व्यंग्य हुन्छ, कहिले बिम्ब हुन्छ, कहिले साहित्य हुन्छ, कहिले आलोचना हुन्छ, कहिले सेन्स अफ ह्यूमर हुन्छ । मेरो आफ्नै विशेषता छ । म गिदीमै पुग्ने गरी लेख्नुपर्छ भन्ने मान्यता राख्छु । मान्छे काटेको आरोपमा १४ वर्ष जेल परेका प्रधानमन्त्री छन् । उनको छाला गैंडाको जस्तो चाम्रो छ । दुईचोटि किड्नी फेल भएर अहिले पनि चाम्रा छन् । उनलाई नरम बोलेर हुन्छ ? शालीन मान्छेलाई पो शालीन तरिकाले भन्ने हो । चाम्रोलाई चाम्रै तरिकाले भन्नुपर्छ । खाली व्यक्तिको चरित्रहत्या गर्नु भएन । परिवारका बारेमा टिप्पणी गर्नु भएन । त्यो म गर्दिनँ ।

व्यक्तिको स्वास्थ्य अवस्थालाई लिएर पनि त व्यंग्य नगर्दा हुँदैन ?

उहाँ आफैंले दुईपटक किड्नी फेरेको मान्छे गिनिज बुकमा नाम आउनुपर्छ भन्दै हुनुहुन्छ । त्यसैले यदि मैले उहाँको स्वास्थ्यलाई व्यंग्य गरे भनेँ पनि के असर गर्छ र ? स्वास्थ्य कमजोर छ भने प्रधानमन्त्री छोड्नुपरो । प्रधानमन्त्री नछोड्ने अनि स्वास्थ्यको कुरा गर्दा झन्न हुने ? शारीरिक, मानसिक अवस्थाले अयोग्य मान्छे पदमा बस्नु भएन । हो कि होइन भन्नु त ? कसैले तिरिक्क भन्दा पीर हुन्छ भने तपाई पदका लागि योग्य होइन । उहाँ कमजोर, गरिब भएको भए पो त । देशको शक्तिशाली मान्छे किन डराउनुपरो ? मलाई त थुनाउनुभो नि । मेरो ६० हजार फलोअर्सलाई देखिस् भन्नुभयो नि । एक करोड मान्छे फेसबुक चलाउँछन् नेपालमा । अब सबैलाई थुन्न सक्नुहुन्छ ?

मेरो स्टाइल त्यही हो । अब पनि यही हुन्छ । सच्चिनुपर्ने मैले होइन, प्रधानमन्त्रीले हो । पत्रकारले लेखेका कुरालाई मिर्च मसला हालेर लेख्ने हो । स्टाइल त हुन्छ नि आफ्नो आफ्नो । खगेन्द्र संग्रौला कस्तो लेख्छन् ? थुन्नुपर्ने खगेन्द्रलाई हो नि । म ओलीभन्दा के कम छु ?  ओली बराबरको हैसियत मेरो पनि हो । (अनलाइनखबर बाट) 

 

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार