रूकुम पूर्व अस्पतालमा औषधि अभाव, मारमा बिरामी

रूकुम पूर्व अस्पतालमा औषधि अभाव, मारमा बिरामी

रुकुम (पूर्व)। रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन् ।

जिल्लाको सिस्ने गाउँपालिका-५ स्थित सो अस्पतालमा दैनिक ५० देखि ७० हाराहारीमा बिरामी आउँछन् । अस्पतालमा जाँच गराएर कागजपत्र हातमा थमाई दिएपछि बिरामी औषधि किन्न सिधै मेडिकल जानुपर्ने अवस्था छ ।

२०७४ साल पुस ७ गतेपहिले रूकुमकोट स्वास्थ्यचौकी भएको ठाउँबाटै जिल्ला अस्पतालको सेवा प्रवाह गर्ने घोषणा गरियो । सोही अनुसार सिस्ने–५ को स्वास्थ्यचौकीलाई अर्को ठाउँमा स्थानान्तरण गरेर पहिले रुकुमकोट स्वास्थ्यचौकी रहेको ठाउँमा २०७६ साल मङ्सिर ५ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल उद्‌घाटन गरे।

यो ७७औँ जिल्लाका रुपमा स्थापना भएको रुकुम (पूर्व) मा स्थापना भएको अस्पतालबाट गुणस्तरीय र सर्वसुलभ तरिकाले सेवा पाउला भनी आशमा बसेका जिल्लावासीको सपना अहिलेसम्म पूरा नभएको सिस्ने गाउँपालिका–५ का बलबहादुर शाही बताउँछन् ।

आफू अस्पतालसम्म जाँदा पनि आवश्यक औषधि नपाउने गरेको र अस्पतालबाट फर्कंदै गरेका धेरैको मुखबाट पनि औषधि नपाएर फर्केको भेट्ने गुनासो सुन्ने गरेको उनको दुखेसो छ ।

सिस्ने गाउँपालिका–६ का वसन्तप्रकाश श्रेष्ठले औषधि र आवश्यक जनशक्तिको अभावले भनेजस्तो सेवा प्रवाह हुन नसकेको गुनासो गरे । उनी भन्छन्, ‘अस्पतालको प्रशासन फितलो छ । यसको अनुगमनको संयन्त्र छैन कि जस्तो महसुस गरेको छु ।’

पुथाउत्तरगङ्गा गाउँपालिका–७ की सुनिता पुनले औषधि अभावको समस्या अझै समाधान नभएको टिप्पणी गर्छन् । यहाँ औषधि नपाइएपछि चिकित्सकले निजी मेडिकल र रुकुम (पश्चिम) सल्ले अस्पतालतिर पठाउने गरेको उनको भनाइ छ ।

पेल्माकी सुनिता नेपालीले आफू दुईदेखि तीन दिनको बाटो हिँडेर बिरामी रुकुम (पूर्व) अस्पतालसम्म पुर्‍याउने गरेको बताउँदै यहाँबाट अन्त ‘रिफर’ गरिदिँदा साह्रै दुःख लाग्ने गरेको सुनाए ।

पर्याप्त औषधि नहुँदा आएका बिरामीलाई जाँच गर्दै उपलब्ध औषधि दिएर अरू मेडिकलबाट किन्नु भनेर पठाउने गरेको अस्पतालका चिकित्सक पूर्णबहादुर पुनले बताए । स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनले बताए ।

‘सरकारले ९८ प्रकारका औषधि निःशुल्क अस्पतालबाट बिरामीलाई उपलब्ध गराउँछ’, डाक्टर पुनले भने, ‘यो अस्पतालमा ती सबै औषधि व्यवस्थाको कुरा त परको हो, अहिले मुस्किलले ४०/४२ प्रकारको मात्र पाइन्छ ।’

उनले थपे, ‘५० शय्याको अस्पतालमा भौतिक संरचना अभावले १२ बेड छन् । सामान्य अवस्थामा अस्पतालमा भर्ना हुने बिरामीलाई यत्तिले धान्दै आएपनि कहिलेकाहीँ दुर्घटना हुँदा घाइतेलाई बाहिर राखेर उपचार गर्छौँ ।’ उनले ११ विशेषज्ञ चिकित्सकको दरबन्दीमा एकजना मात्र अस्पतालमा उपलब्ध रहेको बताए।

६ जना मेडिकल अधिकृतको दरबन्दीमा दरबन्दीबाट एक, छात्रवृत्ति करार र एनएसआईबाट दुई– दुईजना छन् ।’एक मेडिकल अधिकृत गणेश चौधरी पढ्न बाहिर हुनुहुन्छ । दरबन्दी अनुसारको कर्मचारी, भौतिक संरचना, औषधिको अपर्याप्तताले सेवा प्रवाहमा समस्या हुँदा सेवाग्राहीबाट पटकपटक आलोचित हुनुपरेको छ’, उनले भने ।

कतिपय समस्याले अस्पतालको सेवा प्रवाह प्रभावकारी बन्न नसकेको अस्पतालका फार्मेसी सहायक विश्व नाथको भनाइ छ । ‘अहिले एन्टिबायोटिक औषधिसँगै इमरजेन्सी इन्जेक्सन छैन’, उनले भने, ‘बच्चाका लागि पल्स अक्सिमिटर, अक्सिजन र नेबुलाइजर मास्क छैन ।’

थप औषधि तत्काल आउने छाँटकाँट नदेखिएको उनको भनाइ छ । अस्पताल व्यवस्थापन समिति, स्थानीय सरकार र प्रदेश सरकारसँग पटक पटक अस्पतालको समस्या राख्दै आएपनि समाधान नभएको अस्पतालले जनाएको छ ।

यहाँ केही समयअघिबाट शल्यक्रिया सेवा सुरु भएको छ । यो सकारात्मक पक्ष हुँदाहुँदै डिजिटल एक्स–रे सेवा नियमित सञ्चालनका लागि जेनेरेटर नहुँदा बत्ती आउँदा मात्र सञ्चालन गर्न सकिएको चिकित्सक पुनले बताए ।

भएका सामान भण्डारण गर्न कोठा नहुँदा एउटै कोठामा भएभरका सामान थन्क्याउँदा चाहिएको बेलामा नभेटिने र प्रयोगमा नआउने गरेको उनको भनाइ छ । अस्पतालमा खानेपानीको ट्याङ्की नहुँदा ड्रमको पानी प्रयोग गरिन्छ । त्यसले पानी नपुग्ने अस्पतालले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल बालेर सेवा दिनुपर्ने अवस्थासमेत आउँछ । यसअघि स्वास्थ्यचौकीका नाममा १४ रोपनी जग्गा थियो । सिस्ने गाउँपालिकाले २१ रोपनी दिएर ३५ रोपनी क्षेत्रफल भएको छ । त्यसैमा ५० शय्या संरचना निर्माणको काम चलिरहेको छ ।

भवन निर्माणको काम छिटो सकिदा व्यवस्थापन, प्रशासन र सेवा प्रवाहको कामलाई चुस्त बनाउन सकिने अस्पताल स्रोतको भनाइ छ । यहाँ भनेजस्तो सेवासुविधा नपाउँदा जिल्लाका नागरिक जटिल प्रकृतिको रोगको उपचार गर्न रुकुमपश्चिम, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जानुपर्ने बाध्यता छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले पटकपटक प्रदेश सरकारसँग औषधिको माग गरेपनि नपाएको बताए । समस्या समाधान गर्न औषधिलगायतका सामाग्री पठाउन पटक पटक आग्रह गरेकोमा प्रदेश सरकारले नपठाएको उनको भनाइ छ । सामान्य खालको औषधि अस्पतालमा नपाइँदा नागरिकबाट अस्पताललाई हेर्न दृष्टिकोण फेरिन थालेको उनको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार