रुकुम महोत्सवमा पुगेका अभिनेता पल शाहलाई हेर्न दर्शकको भिड

रुकुम महोत्सवमा पुगेका अभिनेता पल शाहलाई हेर्न दर्शकको भिड

रुकुम महोत्सव

अभिनेता पल शाह कारागारमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । दुई साताअघि कारागारबाट रिहा भएका शाहले बुधवार रुकुम पुगेर त्यहाँ जारी रुकुम महोत्सवमा उपस्थिति जनाएका हुन् ।

उनी एक वर्षभन्दा लामो समयपछि यसरी महोत्सवमा पुगेर दर्शकसँग साक्षात्कार गरेका हुन् ।

रुकुमपश्चिममा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’को छैटौ दिनको मुख्य आकर्षकका रुपमा पुगेका शाहलाई हेर्न फ्यान एवं दर्शकहरुको बाक्लो उपस्थिति थियो । रुकुम उनको गृह जिल्ला दाङको छिमेकी जिल्ला पर्छ ।

‘नमस्कार सबैलाई । सन्चै हुनुहुन्छ रु’ भन्दै स्टेजमा उक्लिएका उनको उपस्थितिमा दर्शकहरुले चर्को हुटिङ गरेका थिए । त्यहाँ उनले आफ्नो एक वर्षे जेल जीवनबारे अनुभव सेयर गरे । चाँडै म्युजिक भिडियोमार्फत अभिनयमा फर्किन लागेको उनले दर्शकलाई जानकारी गराए । उनले आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरि’बोलको गीतमा स्टेजमा नृत्य गर्नुका साथै उक्त गीत थोरै गुनगुनाएर समेत सुनाएका थिए ।

उनी हेलिकोप्टरमार्फत बहिनी रोशनीसँगै रुकुम पुगेका थिए । आयोजकले नै उनको लागि हेलिकोप्टरको व्यवस्था गरेको थियो । उनी बुधवार नै काठमाडौं फर्किने बताइएको छ ।

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो । उच्च अदालत पोखराले पनि सफाइ दिएसँगै उनी कारागारबाट रिहा भएका थिए ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा रुकुम महोत्सव सञ्चालन भईरहेको छ । महोत्सव चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार