भारतबाट फर्किने नेपालीमा कोभिड सङ्क्रमण

भारतबाट फर्किने नेपालीमा कोभिड सङ्क्रमण

बाँके । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार चैत १ देखि ११ गतेसम्म १७ जनामा सङ्क्रमण देखिएको छ । शुक्रबार १६१ जनाको कोभिड एन्टिजिन परीक्षण गर्दा तीन महिलासहित सात जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो पटक सङ्क्रमण देखिएकाहरू दैलेखबाट भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका विद्यार्थीहरू हुन । कोभिड सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी मात्रै देखिएकारण स्थानीय तहको समन्वयमा घरमै आइसोलेशन बस्ने गरी पठाइएको उप–महानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार सीमानाका भएर ओहोरदोहोर गर्ने नागरिक तथा अन्य सबैलाई कोभिडबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालनाका लागि आग्रह गर्ने गरिएको छ । सीमा नाकामा कोभिड परीक्षणमा थप कडाइ गरिएको उहाँको भनाइ छ ।

कोभिड सङ्क्रमण देखिएपछि जमुनाह नाकामा स्थायी प्रकारको परीक्षण केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य अस्पतालहरूमा समेत सामान्य रुघाखोकीका बिरामी बढेका कारण चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार