दाजै ! गल्ती भए माफी पाउँ……

दाजै ! गल्ती भए माफी पाउँ……

मेरो दाजै !
थाहा थिएन मलाई
एक साँझ मैले
तिम्रो बोलीमा
एक सेर लोली
मिलाएको हुँ
पछि थाहा पाएँ
दाजै ,त्यो बोली
इन्क्लाबको नारा रहेछ ।। १।।
मेरो दाजै !
ढुङ्गेरिमा उम्रिएका
चर्को मधुमासले
खङ्ररङ्ग सुकेका
नीलकाँडाका झाङ
सुस्तरि फटाउँदै
डाङ्रिचौरको ढिकबाट
मैले नि
राँकाहरू बालेको हुँ
दाज‌ै त्यो त
मशाल जुलुस पो रहेछ ।। २।।
मेरो दाजै !
उच निच र भेदभाव
असमानताका विरूद्ध
एकथान बन्दुक बोकेर
क्रान्तिको
आगोमा होमिदा
क्रान्तिको त्यो
उद्दाम ज्वालामा
न्याय ,मुक्ति र
स्वतन्त्रताको खातिर
हो ,हामी जलेर
दुनियाँलाई
क्रान्तिको सौरभ
दिएका हौं ।।३।।
मेरो दाजै !
विडम्बना !
क्रान्तिको सौरभलाई
गर्विलो
त्यो इतिहास र सपनालाई
सत्ताको सामलमा
बाँचिरहेका
शकुनि कुशबिर्ताका
चक्रधरहरूले
सत्ताको
हाट बजारमा
लिलाम बनाएपछि
इतिहासको रक्षार्थ
मेरो दाज‌ै !
नयाँ यात्रा थालेको छु ।। ४।।
२०८० बैशाख २ , रूकुम पश्चिम

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार