दुई दिनपछि प्रहरीले भेटायो घर छोडेर हिँडेका पाँच बालक

दुई दिनपछि प्रहरीले भेटायो घर छोडेर हिँडेका पाँच बालक

मुसिकोट । रूकुम पश्चिममा वैशाख १ गतेदेखि हराइरहेका पाँच बालक दुई दिनपछि फेला परेका छन्। जिल्लाको आठबिसकोट नगरपालिका-२ स्यालागाउँबाट  बेपत्ता भएका पाँच बालकहरू जाजरकोटतर्फ जाँदै गरेको अवस्थामा आज बिहान साढे ९ बजे भेटिएका हुन्।

ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीको टोलीले १३ वर्षीय कबिराम थापा र मनोज थापा, १४ वर्षीय अब्रराम बुढा, ७ वर्षीय इशाक थापा र १३ वर्षीय अर्जुनलाई जाजरकोट जाने बाटोमा भेटेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार परिवारका सबै सदस्यहरू नयाँ वर्ष मनाउन घरबाहिर गएको मौका छोपेर ती पाँच बालकहरू सल्लाह गरेरै घरबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बालकहरूले सोधपुछका क्रममा वैशाख १ गतेको रात जंगलमै बिताएका थिए। शनिबार राती भने ढुंगाको ओडारमा बास बसेको खुलेको  छ । उनीहरू बेपत्ता भएको विषयमा प्रहरीले आइतबार मात्रै सूचना पाएको थियो।

पाँच जना बालक एकैदिन बेपत्ता भएपछि प्रहरीले पनि घटनालाई संवेदनशील रूपमा लिँदै जिल्लाका विभिन्न नाका, अन्य विभिन्न निकायहरुको सहकार्यमा बालकहरुको खोजी कार्य तिब्र पारेको थियो ।

अस्थायी प्रहरी पोस्ट स्यालाखदीका प्रहरी सहायक निरीक्षक शम्शेरबहादु बोहराको कमान्डमा सात जनाको टोली र ईलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमान्डमा नौजनाको टोली परिचालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरू किन घर छाडेर गए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार