सहमतिपछि बिद्यालयमा लगाइएको ताला खुल्यो

सहमतिपछि बिद्यालयमा लगाइएको ताला खुल्यो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ मा रहेको जनकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरुले लगाएको ताला खुलेको छ । नियमित पठनपाठन नभएको भन्दै मंगलबार आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले लगाएको ताला सहमति पश्चात खोलिएको हो ।

नियमित पठनपाठन नभएपछि बिद्यार्थीहरुले मंगलबार विद्यालयमा तालाबन्दी गरेर नाराबाजीसहित शिक्षकको घर समेत घेराउ गरेका थिए । बिद्यालयमा तालाबन्दी भएपछि मुसिकोट नगरपालिकाबाट पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले जनप्रतिनिधि, बिद्यार्थी, व्यवस्थापन समिति र विद्यालय प्रशासन बिचमा छलफल गरेको थियो ।

बिद्यालयका प्रधानाध्यापक टेकबहादुर बिष्टले छलफल पश्चात लगाईएको ताला खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयमा नियमित पठनपाठनको व्यवस्था मिलाउने, भौतिक पूर्वाधार तथा खानेपानी व्यवस्थापनको लागि नगरपालिकाले पहल गर्ने, शिक्षकले बिद्यालयमा मदिरा सेवन गरेर नआउने लगायतका सहमतिपछि ताला खोलिएको हो ।

शैक्षिक सत्र सुरुभएसँगै नियमति पठनपाठन नभएपछि बिद्यार्थीहरुले आन्दोलन गर्नुपरेको जनाएका छन् । उनीहरुले अभिभावक, व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन नाराबाजी सहित आन्दोलन गरेको बताएका छन् ।

उनीहरुले बिद्यालयबाट वडा कार्यालयसम्म नाराबाजी गरेका थिए । त्यसैगरी बिद्यालय नजिकै घर भएर पनि नियमित पढाउन नआएका शिक्षक डिलाराम ओलीको घर समेत घेराउ गरेका थिए ।

बिद्यार्थीहरुले बिद्यालयमा घेराबार नभएको, खानेपानीको सुविधा नभएको, शौचालयको राम्रो व्यवस्था नभएको र भौतिक पूर्वाधारको समस्या रहेको लगायतका माग राखेको आन्दोलन गरेको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । उहाँले बिद्यार्थीहरुका सकारात्मक मागहरु क्रमैसँग पुरा गर्ने सहमति भएको जनाउनुभयो ।

बाल विकास देखि आठ कक्षासम्म सञ्चालित यस विद्यालयमा कक्षा पाँच सम्मको पढाई हुने गरेतापनि कक्षा ६, ७ र ८ को पढाई नियमित नहुने गरेको गुनासो रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार