रुकुमेली कोसेली घर बन्द

रुकुमेली कोसेली घर बन्द

बन्द रहेको रुकुमेली कोसेली घर ।

मुसिकोट । मुसीकोट नगरपालिका –१ सहिदमैदानमा रहेको रुकुमेली कोसेली घर बन्द रहेको छ । रुकुम पश्चिमको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित ११ वर्ष पहिला सञ्चालनमा ल्याईएको कोसेली घर दुई वर्ष यता बन्द अवस्थामा रहेको छ ।

जिल्लामा आउने पाहुनाहरुलाई कोशेली दिने एवम् जिल्लामा उत्पादन भएका वस्तुको जानकारी तथा बिक्री वितरण एकै स्थानबाट गर्ने उद्धेश्यका साथ सञ्चालनमा ल्याईएको कोसेली घर बजारीकरण र आर्थिक अभावको कारण बन्द हुन पुगेको बताईएको छ । रुकुमलाई चिनाउने वस्तु राखेर ‘रुकुम ब्राण्ड’ बनाउने लक्ष्य लिएको भएतापनि दुई वर्ष यता कोसेली घर बन्द अवस्थामा रहेको सञ्चालक समितीका अध्यक्ष विवेक ओलीले जानकारी दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा २०६८ सालमा स्थानीय घरेलुबाट उत्पादित सिलाईबुनाइ र पशुपालनबाट उत्पादित खाद्यवस्तु संकलन गरि विक्री वितरण गर्ने उद्देश्यले कोसेली घर स्थापना गरिएको थियो ।

कोसेली घर संचालक समितीका पूर्व सचिव कर्णबहादुर ओलीले कोसेली घरमा स्थानीय उत्पादन जम्मा गरिएको भएपनि बजारीकरणको समस्याका कारण बन्द हुने स्थिती बनेको बताउनुभयो । स्थानीय सरकारले बजारीकरणमा ध्यान दिएमा सन्चालनमा कुनै समस्या नहुने उहाँको भनाई छ । यसमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिएको थियो । जसले गर्दा जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जिल्लाका बारेमा सजिलै जानकारी लिन सजिलो भएको थियो ।

कोसेली घरमा भेडाको रौंबाट बनेका राडिपाखी, अल्लोबाट उत्पादित कपडा, काठबाट उत्पादित विभिन्न कलाकृति, दुधजन्य उत्पादन, घ्यु, मह, अमला, बीउ बिजन, विभिन्न फलफूलहरुको जुस राख्ने गरिएको थियो ।

बजार नपाएका स्थानीय उत्पादनको बिक्रीमा सहज ल्याउने उद्देश्यले मिक नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कृषि विकास कार्यालय र जिल्ला विकास समितीको आर्थिक सहयोगमा कोसेली घर संचालनमा आएको थियो ।

यस्तै मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले कोसेली घर पुनः सञ्चालनका लागि पहल गरिने बताउनुभयो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार