रुकुम पश्चिमका गाईभैंसीमा ‘लम्पी स्किन’, २४७ मरे

रुकुम पश्चिमका गाईभैंसीमा ‘लम्पी स्किन’, २४७ मरे

मुसिकोट । रुकुम पश्चिमका गाई भैंसीमा ‘लम्पी स्किन’ नामको रोग फैलिएको छ। जिल्लाका छ वटै पालिकामा यो रोगको संक्रमण फैलिएको हो।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माले केही महिनादेखि रुकुम पश्चिमका गाई, भैंसीमा यो रोगको संक्रमण बढेको बताउनुभयो ।

कार्यालयका अनुसार अहिलेसम्म ८ हजार ५६ गाई भैंसीमा यो रोग देखिएको छ। लम्पी स्किनका कारण जिल्लाभरि अहिलेसम्म २ सय ४७ पशुचौपाया मरेका छन् ।

यो रोगबाट सवै भन्दा बढि प्रभावित चौरजहारी नगरपालिका भएको छ । हालसम्म चौरजहारी नगरपालिकामा गाई, भैँसी र गोरु गरेर ३ हजार ९ सय ६२ पशुचौपाया संक्रमित भएका छन । त्यहाँ ८७ पशु चौपाया मरेका छन् ।

यस्तै बाँफिकोट गाउँपालिकामा १ सय १३ पशुचौपाया संक्रमित हुँदा १४ वटा पशुचौपाया मरेका छन् । आठबीसकोट नगरपालिकामा १४ सय ३१ पशुचौपाया संक्रमित भएका छन् । हालसम्म ४४ वटा पशुचौपाया मरेका छन् । मुसिकोट नगरपालिकामा ४ सय ५ पशु संक्रमित हुँदा २३ वटा पशुचौपायाको मरेको कार्यालयले जनाएको छ ।

सानीभेरी गाउँपालिकामा १४ वटा पशु मरेका छन् । त्यहाँ १७ सय ७५ पशु संक्रमित भएको बताइएको छ । त्यस्तै त्रिवेणी गाउँपालिकामा ३ सय ६० पशुचौपाया सक्रमित भएकामा ३८ वटा मरेका छन् ।

जिल्लामा  हालसम्म २ सय ३१ वटा गोरु मरेकामा ७ हजार ६ सय ६५ वटा संक्रमित भएका छन् । यो अवधिमा १३ वटा गाई र ३ वटा भैँसी मर्दा ३ सय ४६ गाई र ४५ वटा भैँसी लम्पी स्किन रोगबाट संक्रमित भएको निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

रोग अझै फैलिने क्रम जारी रहेकाले पशु अस्पताल तथा पशु सेवा कार्यालयले स्थानीय तहका पशु शाखाहरुमा भ्याक्सिन लागायतका औषाधीहरु पठाइरहेको जनाएको छ । कार्यालयले यो रोगबाट आफ्ना पशुलाई जोगाउनका लागि सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ ।

नेपालमा लम्पी स्किन रोग विरूद्धको भ्याक्सिन भित्रिएको केही महिनामात्रै भयो। रोग लाग्नुअघि नै सबै गाई भैंसीलाई खोप लगाउनु यो रोग नियन्त्रणको एउटा उपाय हो। गोठमा एउटा गाईलाई रोग लागेपछि उसलाई समूहबाट छुट्टाएर उपचार गर्ने, गोठ, भकारोको सरसफाइमा ध्यान दियो भने थप फैलन नपाउने विज्ञहरू बताउँछन्। ज्वरो आएका पशुहरूलाई काममा नलगाई आराम गराउने, प्रशस्त मात्रामा पानी दिने, पातलो कुँडो, नरम घाँस, दाना, सख्खर पानी खुवाउने गर्नुपर्छ।

उच्च ज्वरो आउने, कचेरा निकाल्ने, सिँगान बग्ने, फिँज काड्ने, घाँटी, पेट, पछाडिको भाग, थुन वरीपरी गिर्खहरु देखिने, छालामा घाउहरु देखिने, दूध कम दिने लक्षण लम्पी स्किनका हुन्।

यो रोग संक्रमित लामखुट्टे, झिँगा, किर्नाको टोकाईबाट सर्छ। संक्रमित गाईवस्तुको ओसार/पोसारबाट पनि यो रोग सर्छ। सामुदायिक चरन क्षेत्र तथा दाना, पानी खाने ठाउँहरूबाट, आहाल, प्राकृतिक तथा कृतिम गर्भाधानबाट, फरक गाईभैंसीलाई एउटै सुईको प्रयोग गर्दा, प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार