चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

जेठ ४ काठमाण्डाै । कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाण्डाै भित्रिएको छ ।

चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै शनिबार काठमाण्डाै आइपुगेका हुन् । ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ ।

सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३ सय ४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउनलगायतका एक हजार १८० क्यूबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ । त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ । अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ ।

नेपालले चीनसँग कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पीपीईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । खरिद गरिएका बाँकी सामग्री बोकेका कन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन् । ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ ।

नेपाली सेनाले कोभिड– १९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वरेन्टीन र अस्पतालसमेत निर्माण गरिरहेको छ । मुलुकको आवश्यकता र कोभिड– १९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पीपीईको उत्पादनसमेत गर्दै आएको छ ।

सरकारले सम्भावित कोरोनाको सङ्क्रमण जोखिमको मूल्याङ्कन गरी समयमै ‘लकडाउन’ घोषणा गरेका कारण नेपालमा हालसम्म २ सय ८१ जनामा कोरोनाबाट सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्मको अध्ययन र अनुसन्धानबाट सामाजिक दूरी कायम गर्नु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय मानिएको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार