बाँकेकाे नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन : अझै पनि केन्द्र सरकारले सहयोग नगरे अवस्था भयावह हुने छ

बाँकेकाे नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन : अझै पनि केन्द्र सरकारले सहयोग नगरे अवस्था भयावह हुने छ

खडक खत्री , जेठ ६ नेपालगन्ज
नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले सहयोग माग्दामाग्दै थाकिसकेको बताएका छन् । क्वारेन्टाइन व्यवस्थापन तथा क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य जाँचका विषयमा सहयोग माग्दा कतैबाट सहयोग नभएको गुनासो अध्यक्ष शाहले गरेका छन् ।
उनका अनुसार आइतबार बिहान २५ वर्षे युवाको मृत्यु भएपछि नरैनापुरको अवस्था तनावपूर्ण रहेको छ । क्वारेन्टाइनमा बसेकाहरु पनि असुविधा भयो भनेर बस्न मानेका छैनन् । भने भारतीय सीमासँग जोडिएको गाउँपालिका भएकाले पनि भारतबाट लुकिछिपी आउने क्रम रोकिएको छैन । टिनको छानो भएको विद्यालयमा बस्दा उनीहरुलाई असह्य गर्मी भएर बस्न नमानेको बताउँछन् अध्यक्ष शाह । हुन त गाउँपालिकामा १३ वटा क्वारेन्टाइन छन् । तर त्यहाँ बस्नेको संख्या पनि ७ सय ५९ जना रहेका छन् । जुन दिनप्रतिदिन बढ्दो क्रममा छ ।
२० गते आएका युवाको मृत्यु हुनुमा गाउँपालिकाको लापरबाही भएको गाउँपालिकावासीले बताए पनि गाउँपालिकाले सरकारद्वारा जारी निर्देशनको पालना गरेर उनलाई क्वारेन्टाइनमा राखेको बताउँछन् । गाउँपालिकाले भ्याएजतिको सुविधा दिएर राखे पनि सामान्य अवस्थामा रहेका उनको एक्कासि मृत्यु हुँदा अहिले हामीलाई गाउँवासीलाई सम्झाउनै कठिन भएको छ ।
अध्यक्ष शाहका आर्थिक अभावका कारण मापदण्ड अनुरुपको क्वारेन्टाइन बनाउन नसकेको स्वीकार्छन । अध्यक्ष शाहले केन्द्र सरकारले सहयोग नगरेको गुनासो गर्दै भने,‘गाउँपालिकामा बजेट अभाव छ । केन्द्र सरकारबाट छिनछिनमा फोन मात्र आउँछ यहाँको अवस्था बुझ्न । अवस्था भनेपनि कुनै सहयोग चाहिँ पाइएको छैन । केन्द्र सरकारले नै बेवास्था गर्दा झनै तनाव बढेको छ । कसलाई भनूँ, गाउँपालिकावासीलाई भनूँ भने उनीहरु मेरै आशामा छन् ।’
केन्द्र सरकारले क्वारेन्टाइनको खर्च कसरी व्यवस्थापन गर्नेबारे चासो नदिएको आरोप लगाउँदै अध्यक्ष शाहले भने,‘गाउँपालिकामा भएको थोरै बजेटले जेनतेन व्यवस्थापन गरेको छु । अब कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छु । केन्द्र सरकार वा प्रदेश सरकारले यसको जिम्मेवारी लिन जरुरी छ । होइन भने सबै तिमी नै गर भन्नु पर्योर ।’
सोमबार दिउँसो एकैपटक ४७ जनाको नतिजा पोजेटिभ आएपछि आफू निकै तनावमा रहेको अध्यक्ष शाहले बताए । अन्य बाँकीको नतिजा के आउँछ सोचेरनै डर लागिरहेको उनले बताए । ‘क्वारेन्टाइनलाई सेनाको जिम्मा दिए तनाव कम हुन्थ्यो र अन्यत्र ध्यान दिन सकिन्थ्यो,’अध्यक्ष शाहले भने,‘ २५ वर्षीय युवाको मृत्यु हुँदा सबैको तगारो हामी बनेका छौं । गाउँपालिकाले सक्दो गरेकै हो ।’
अरु केही गर्न नसकेपनि सरकारले विज्ञ स्वास्थ्यकर्मी नरैनापुर गाउँपालिकामा खटाउनै पर्ने अध्यक्ष शाह बताउँछन् । नेपालगन्जदेखि करिब ३५ किलोमिटर टाढा रहेको गाउँमा केही तलमाथि भए त्यहाँ पुग्नै समय लाग्ने भएकाले नरैनापुरमा देखिएको कोरोनाले भयावह रुप लिन सक्ने उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार