रुकुम घटनाः तोडमोड गर्ने ६ षडयन्त्र

रुकुम घटनाः तोडमोड गर्ने ६ षडयन्त्र

राजेन्द्र कार्की, जेठ २९ जाजरकोट

सोती हत्याकाण्ड संघर्ष समितिले ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनालाई तोडमोड गर्न खोजिएको भन्दै ६ षडयन्त्र सार्वजनिक गरेको छ । अन्र्तजातिय प्रेम सम्बन्धका कारण भएको घटनामा चलखेल हुन थालेको भन्दै घटनाको केही दिन पछि जाजरकोटमा गठन गरिएको संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत घटनालाई तोडमोड गर्ने ६ षडयन्त्र सार्वजनिक गरेको हो ।

घटना लगत्तै तत्काल सुरक्षा परिचालन र बस्ती सिल किन गरिएन ?  भन्दै पश्चिम रुकुमको चौरजहारीबाट गएको घटनाको प्रत्यक्षदर्शी नेपाल प्रहरीले घटनालाई नियन्त्रणका लागी कुनै प्रयास नगरेको, सोतीका स्थानियले भेरीनगरपालिका ४ का नवराज विक सहित ६ जना युवाको हत्या गरेको र अन्य १२ जनालाई घाइते बनाउँदा पनि प्रहरी मुकदर्शक बनेको आरोप लगाईएको छ । त्यस्तै १२ युवालाई घाइते अवस्थामै पक्राउ गरि नियन्त्रणमा लिएको तर आक्रमणकारीलाई घटनास्थलमै छाडिएको र घटना घटेको २० घण्टा सम्म पनि प्रहरी घटनास्थलमा नआउनुलाई समितिले प्रहरीको गंभिर त्रुटी र षडयन्त्र भनेको छ ।

घटना पश्चात रुकुमका प्रहरी अधिकारी किन परिवर्तन गरियो ? अनुसन्धान अधिकृत प्रहरी निरीक्षक जिल्ला बाहिरबाट ल्याईनु र डिएस्पीको दरबन्दी रहेको जिल्लामा एसएसपीको नेतृत्वमा अनुसन्धान थालिनु कतै राजनैतिक हस्तक्षेप र घटनालाई तोडमोड गर्ने प्रयास त होइन भन्दै समितिले प्रश्न उठाएको छ ।

सर्जिमिन मुचुल्कामा किन फरक ? ः सर्जिमिन मुचुल्का र पोष्टमार्टममा सवै विवरण पिडित परिवार र शव उद्धारमा खटेका स्थानियको बुझाई र देखाई भन्दा फरक मुचुल्कामा उल्लेख गरिनु पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रका रुपमा समितिले प्रेस नोटमा उल्लेख गरेको छ ।
शवको तत्काल पोष्टमार्टम किन गरिएन ?ः शुरुमै प्राप्त शव पोष्टमार्टम गर्न ढिलाई हुँदा आवश्यक प्रमाण नष्ट भएको आशंका गरिएको छ । साथै तत्काल पोष्टमार्टम गर्न सरकारी पक्षले खासै पहल नगरेको भन्दै यसलाई पनि समितिले षडयन्त्रकै रुपमा लिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए ।

सरकारी निगरानी खोई ?  सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले घटनालाई तोडमोड गर्ने पिडितलाई झन पिडा दिने र पिडकलाई प्रोत्साहित गर्ने अभिब्यक्ति दिदा पनि राज्यको तर्फबाट स्पष्ट धारणा सार्वजनिक नहुनु, उनीहरुलाई कारवाही नगरिनु र शसस्त्र बलका गोताखोरका टोली प्रमुख शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गोविन्द सुनारको शव हात बाँधिएको अवस्थामा देख्दादेख्दै होइन भनेर सोही अनुसारको मुचुल्का तयार पार्नुमा पनि षडयन्त्र रहेको समितिको ठहर छ ।

मानवीयता भुल्न मिल्छ ? पिडित परिवारलाई अनावश्यक सोधपुछ तथा बयान लिएर झनै तनावमा पारिएको, बयान लिन रुकुम लिने गरिएको, सुरक्षाको प्रबन्ध हुन नसकेको र त्रासका विच रुकुम गएर पिडितले बयान दिनु पर्ने कुरालाई पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रकै रुपमा समितिले लिएको संयोजक शाहको भनाई छ ।

अन्र्तजातिय प्रेमलाई सोतीका मल्ल ठकुरीले स्वीकार गर्न नसक्दा भएको घटनामा ६ जनाको हत्या हुनु जातिय अहंकार, विभेदजन्य चेतना समेतका कारण सुनियोजित रुपमा मानवता कलंकित हुने गरी घटाईएको यो हत्या क्रुर, वर्वर, अमानवीय, मानवता विरोधी कार्य हो भन्ने समितिको निश्कर्ष छ ।
समितिले घटना लगत्तै जाजरकोट सदरमुकाममा दैनिक नारावाजी सहित प्रर्दशन गदै आएको छ । घटनालाई राजनितिकरण गरेर तोडमोड हुन सक्ने भन्दै पिडितको न्यायको लागी दिनहुँ खवरदारीका कार्यक्रम गरिरहेको संघर्ष समितिका सहसंयोजक छवि पन्तले बताए । समितिले घटनाको निश्पक्ष अनुसन्धान, दोषीलाई हदै सम्मको कारवाही, पिडितलाई क्षतिपुर्ती र राहत उपलब्ध गराउनु पर्ने, घाईतेको निशुल्क उपचार गर्नु पर्ने लगायतका माग गदै आएको छ । समितिले जाजरकोट र पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकारी मार्फत घटनाको निश्पक्ष अनुसन्धानका लागी सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पिडित परिवारले पनि घटना राजनितिकरण हुन सक्ने आशंका गरेका छन् । हत्यारालाई कारवाही होस । न्याय नमरोस नवराजकी आमा उर्मिलाले भनिन ‘मेरो छोरा नवराज सहित ६ जनाको रगतमा राजनैतिक होली खेल्ने काम नहोस ।’

नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी मल्ल थरकी एक युवतीलाई वेहुलीको रुपमा भित्र्याउन शनिवार १८ जना युवा सहित गाउँ पुगेका वेलासोतीका गाउँलेहरुले दलितले ठकुरीकी छोरी ताक्ने भन्दै आक्रमण गरेर लखेटी लखेटी नियन्त्रणमा लिएर ६ जनाको हत्या गरेर भेरीमा फालिदिएको पिडित परिवारको भनाई छ ।

पिडित परिवारले २० जना विरुद्ध उजुरी दिएका थिए । ति मध्य १८ जनालाई पक्राउ गरिएको र दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईवीले घटनाको अनुसन्धान रुकुममै बसेर गरिरहेको छ । कलडिटेलका आधारमा सात जनालाई पक्राउ गरेको प्रहरीले बुधवार जाजरकोटका ईन्द्रबहादुर मल्ल सहित थप दुई जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा हाल सम्म २७ जना पक्राउ परेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार