साेती घटना : घाइते मदन शाही भन्छन्- प्रहरी नआएको भए हामी पनि मारिन्थ्यौं

साेती घटना : घाइते मदन शाही भन्छन्- प्रहरी नआएको भए हामी पनि मारिन्थ्यौं

जाहेरवालाहरू मुनलाल नेपाली समेतलाई चिनेको छु। नवराज विकसमेत मेरो चिनजानका साथीहरु हुन्। नवराज विक र प्रतिवादी परिवर्तित ५४ रुकुम पश्चिम (३६) बिच विगत १ वर्ष अगाडिदेखि मायाँ प्रेम भएको कुरा नवराज विकले भनेपछि थाहा पाएको थिएँ। 

बारदात मितिको ३ दिन अगाडि मैले केटी भगाउँदै छु मलाई साथ सहयोग गर्नु पर्छ भनेका थिए। मिति २०७७।०२।१० गते बिहान १०ः०० बजेको समयमा आज केटी भगाउन जाने हो अरु साथीलाई समेत भनेको छु म सँग जानु र्पयो भनेपछि मैले हुन्छ भनी सहमति जनाएको थिए। 

सोही दिन अन्दाजी १२ः०० बजेको समयमा म लगायत नवराज बिक, सन्जु बिक, मदन शाही, टिकाराम नेपाली, लाल बहादुर खड्का, गणेश बुढा मगर, सुदिप खड्का, ईन्द्रजंग शाह र आषिश बिक समेतका केटाहरु केटी ल्याउन भनी जाजरकोट खलंगादेखि जिल्ला रुकुम पश्चिम चौरजहारी नपा वडा नं८ गोईरी सोती गाउँमा रहेको नामथर ५४ रुकुम पश्चिम ३६(१) को घरमा जाने भनि हिडेका थियौं। 

हामीहरु जिल्ला जाजरकोट भेरी नपा वडा नं ४ धल्ला पुल नजिक पुग्दा अन्य साथीहरु डिल्ली बिक, सुनिल सुनार, भोला बिसी, गोबिन्द सुनार, लोकेन्द्र सुनार, गोबिन्द शाही, महेश कार्की र बिभाग पुन मगर समेतका १८ जना साथीहरु भेट भई सो धल्लाको पुल तरी जिल्ला रुकुम पश्चिम चौरजहारी नपा वडा नं ८ गोइरी सोती भन्ने गाउँमा सोही दिनको अ. १७ ः ०० बजेको समयमा प्रतिबादी परिवर्तित ५४ रुकुम पश्चिम (३६) को घर नजिक पुगेका थियौं। 

त्यतिखेर प्रतिबादी ५४ रुकुम पश्चिम (३६) को आमा प्रतिबादी ५४ रुकुम पश्चिम ३६(२) ले मृतक नबराज बिकलाई टाढैबाट बाटोमा हिडिरहेको देख्ने बित्तिकै तँ डुम पटक पटक मेरो घरमा किन आऊछस, तँलाई पहिलेको चोटले पुगेन, फेरी यहाँबाट मरेर जाने बिचार गरेको छस् भन्दै अपशब्द प्रयोग गर्दै गाली गलौज गरीसकेपछि वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई फोन गर ५ गाडी मगाएर यिनीहरुलाई मार्नुपर्छ भन्दै फोन गर्न थाले पछि म समेतले प्रतिबादी ५४ रुकुम पश्चिम ३६ (२) लाई हामीहरु काफल खान आएका हौं अन्टी भनि केटीको घरमा नपुगी घरतिर फर्कने क्रममा मध्यपहाडी रोडदेखी माथि रहेको ठुलो ढुंगामा बसी आराम गरीरहेका थियौं। 

एक्कासी जाहेरी दरखास्तमा किटानी गरिएका प्रतिबादीहरु डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, तुल बहादुर मल्ल, प्रेम बहादुर ठकुरी, परिवर्तित नाम थर ५४ (३६) परिवर्तित नाम ५४ (३६) (१), परिवर्तित नाम ५४ (३६) २, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६) ३, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, बिनोद मल्ल, बिष्णु मल्ल, लिपेन्द्र कुमार मल्ल, ईन्द्र बहादुर भन्ने इर्द बहादुर ठकुरी, हर्क बहादुर मल्ल, तिलक चन्द, दिपेन्द्र चन्द र परिवर्तित ५४ रुकुम पश्चिम ३९ लगायत अन्य धेरै मानिसहरुले एक्कासी माथिबाट रोक रोक भन्दै हातमा ढुङगा, मुढा, लाठी, दाउरा र हँसिया

समेतका घरेलु हात हतियार समाई घेराहाली ढुंगा मुढा समेत हामीहरुलाई प्रहार गर्न थाले। म समेतले आफ्नो ज्यान जोगाउन पहिला गएको बाटो हुदै आफ्नो घर तर्फ दौड्दै फर्कने क्रममा मध्य पहाडी लोक मार्ग सड्कमा झरी जाजरकोट कालेगाउँ जोडने झोलुंङगे पुल तर्फ जानै लाग्दा पुल नजिक अन्य प्रतिवादीहरुले हामीहरुलाई छेका, घेरा हाली ढुङा, मुढा समेत प्रहार गर्न लागे र पछाडीबाट समेत अन्य व्यक्तिहरुले लखट्दै आएको कारण हाम्रो अन्तिम बिकल्प भेरी नदी तर्फ जाने मात्र रह्यो। 

भेरी नदी तर्फ बाहेक चारैतर्फबाट घेरा हालेको र केही प्रतिबादीहरु नजिकै आई ढुङगा मुढा समेतले प्रहार गर्न लाग्दा निजहरुले प्रहार गरेको ढुङगा मुढा समेत केही साथीहरुलाई लागि सकेको थियो। हामी भाग्दै भेरी नदीको सानो भंगालो तरी ठुलो भंगालको छेउमा पुग्दा भेरी नदीको ठूलो भंगालोमा रहेको पानीको अत्याधिक वहावले गर्दा सोही स्थानमा अड्किएको अवस्थामा प्रतिवादीहरु लगायतका व्यक्तिहरूले ढुगां, मुढा, लाठी घरेलु हतियार हँसिया हात हातमा लिई हामीहरु अड्किएको स्थान समेतमा आई अन्धाधुन्दा प्रहार गरे। 

मसँगै गएका साथीहरु मध्य नबराज बिक, सन्जु भन्ने संजीव बिक, गोबिन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढामगर र टिकाराम नेपालीलाई प्रतिवादीहरुले निर्घात रुपमा कुटपिट गरी मारी भेरी नदीमा बगाए र म समेतलाई कुटपिट गर्न नछोडे पछि बाध्य भई ज्यान बचाउनको लागि म सहित भोला बिटालु (बिसी) , बिभाग पुन, लाल बहादुर खड्का र सरोज भडेल भेरी नदीको जंगारमा हाम फाली नदी पार गर्ने क्रममा समेत प्रतिवादीहरुले प्रहार गरेका ढुङगा छल्दै बल्ल तल्ल सरोज भडेल र भोला बिटालु बिसी) सँग सँगै नदी पार गरि नदीको छेउमा पुग्ने बित्तिकै के कताबाट प्रतिवादीहरु मोहन पुनमगर, बिराज पुनमगर, सर्वजित भन्ने सविन पुन, रमित पुन मगर र नविन घर्ती मगर समेतका थुप्रै व्यक्तिहरुले निजहरुलाई कुटपिट गर्न लागिरहेको देखेको हुँ।

म सहित बिभाग पुन, लाल बहादुर खडका डरले भेरी नदीको ठुलो भंगालोको पश्चिम सानो टापुमा रोकिएर बसेको अवस्थामा प्रतिवादीहरुले त्यही आएर मारेर भेरीमा बगाई दिन्छु भनेपछि म सहित ३ जना साथीहरु भेरी पारी बगरमा जाँदा मोहन पुन समेत आई कुटपिट गरिरहे। 

केही समयपछि जाजरकोटको प्रहरी आईसके पछि पहिला नदी तरेर गएका २ जना साथीहरु र म समेतलाई  कुटपिट गर्न छोडेका हुन। पछि प्रहरी समेतले म समेतलाई बोलाएपछि ५ जना गएका हौं। यदि प्रहरी नआएको भए प्रतिवादीहरुले म समेतलाई कुटपिट गरी भेरी नदीमा बगाउने थिए। भाग्यले प्रहरी आएकोले म समेतको ज्यान जोगिएको हो। 

जाहेरी दरखास्तमा किटानी गरिएका प्रतिवादीहरु समेतका थुप्रै मान्छेहरुले कुटपिट गरेर मारेर मृतक नबराज बिक, टिकाराम नेपाली, गणेश बुढा मगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीलाई भेरी नदीमा बगाई दिएका हुन्। मृतक सबै साथीहरुको लाश जाजरकोट जिल्ला अन्तर्गत पर्ने भेरी नदीको किनारामा फेला परी सकेको छ। 

प्रतिबादीहरुको कुटपिटबाट मेरो शरिरको खुट्टा, ढाड, बाँया हात र टाउकोमा चोट पटक लागी घाईते भएको छु। हाल उपचार आफै गरीरहेको छु , स्वास्थ्यमा क्रमिक सुधार हुदैछ। प्रतिवादी परिवर्तित नाम ५४ (३६) को घर नजिकै गएको अवस्थामा परिवर्तित नाम ५४ (३६) २ ले नवराज बिकलाई जातिय विभेद राखी डुम भन्ने जस्ता अति नै अश्लिल अपशब्द प्रयोग गरी धम्की पुर्ण शब्दमा गाली गलौज गरी आज तँ मर्छस भनी निज समेतको पुर्व योजना मुताबिक नवराज विकसमेतको ज्यानै मार्ने मनसाय राखी आफ्नो घर तर्फ फर्किन लागेका म समेतलाई सोही गाउँका डम्बर बहादुर मल्ल समेतले ढुङगा, मुढा, हंसिया समेतका घरेलु हातहतियार समेतले सांघातिक आक्रमण गरी छेका, घेरा हाली लखेटी लखेटी भेरी नदीको जंघार समेतमा पु¥याई अमानवीय तवरले निर्घात रुपमा कुटपिट गरी निर्दोष नबराज बि।क।,सन्जु भन्ने संजीव बिक, गोबिन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढामगर र टिकाराम नेपालीलाई भेरी नदीमा बगाई मार्ने जाहेरी दरखास्तमा किटानी गरिए समेतका प्रतिवादीहरु सबैलाई कानून बमोजिम कडा भन्दा कडा कार्वाही होस भन्ने समेत व्यहोरा कागज।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार