बन्दाबन्दीको सदुपयोग चुराको व्यापार

बन्दाबन्दीको सदुपयोग चुराको व्यापार

असार १७ सुर्खेत

काेराेना भाइरसको रोकथामका लागि गरिएको बन्दाबन्दीको समयमा कतिपय महिलाको दिनचर्या फेसबुक हेरेर, सुतेर या यस्तै केही गरेर बित्यो होला । अनि केहीलाई कामबाट पन्छिन पनि बन्दाबन्दी एक गतिलो वाहाना बन्यो होला ।

तर वीरेन्द्रनगर–८ की वसन्ता शाहीलाई भने बन्दाबन्दीको समयमा यसरी दिन काट्ने समय भएन, आफ्नै कामले भ्याइनभ्याई भयो । त्यस अवधिभर उहाँ चुरा बनाउन व्यस्त हुनुभयो । बिहान बेलुकाको भान्साको समयबाहेकको अरु समय उनले चुरा बनाएरै बिताइन् ।

वर्षदिन यतादेखि उनले चुरा बनाउने उद्यम सुरु गरेकी छन् । त्यही सीपले उनलाई लकडाउनको बेलामा पनि खाली हात बस्नु परेन । चुरा बनाएरै मासिक रु २५ देखि ३० हजारसम्म कमाउने गरेको उनी बताउछिन् । ‘‘बन्दाबन्दीको समयमा व्यापार केही कम भए पनि धेरै दिदीबहिनीहरुको ‘अर्डर’ आएको छ, त्यहीअनुसार बनाएकी छु’’ उनले भनिन् ।  लकडाउनको समयमा पनि आम्दानी नटुटेको र काममै व्यस्त भएको उनले बताइन् ।

उनले पाँच किसिमको मेटलका चुरा निर्माण गर्ने गरेकी छन् । चुराको माग बढेसँगै उहाँले कानमा लगाउने टप, घाँटीमा लगाउने माला र पोते पनि बनाउन थालेकी छन् । उनले बनाएका एक जोड चुराको मूल्य रु ५० देखि तीन सय ५० सम्म पर्छ । यो मूल्य बजार मुल्यभन्दा रु ५० देखि एक सय सस्तो हो । वसन्ता भन्छिन्, ‘‘खाना बनाउँदै पनि चुरा बनाउँछु, कहिलेकाहीँ त राति उठेर पनि बनाउँछु ।’’

उनले कपडा सिलाउने काम पनि गर्नुहुन्छ । बन्दका कारण बजार जान नसकेका स्थानीय छिमेकीहरु उहाँको कोठामै गएर कपडा सिलाउने गरेका छन् । ‘‘लकडाउनमा अन्य बेलामाभन्दा कमाई अलि कम भएको छ त्यसैले अहिले सिलाउने काम पनि सँगै अघि बढाएको हो’’ उनी भन्छिन् । सिलाइ कटाइको तालिम पनि लिएकी वसन्ताले अहिले लकडाउनको बेलाको सदुपयोग गरेको बताइन् ।

उनले टोलका महिलाहरुलाई आफ्नो सीप पनि सिकाउछिन् । जिल्लाका विभिन्न ठाउँहरुबाट उनीसँग तालिमका लागि जाने गरेका छन् । पछिल्लो समय छिमेकी जिल्लाहरुबाट पनि तालिममा सहजीकरण गरिदिन उनको माग भएको उनले सुनाइन् । चुरा बनाउन थालेपछि वसन्ताले घरखर्च आफैँ जुटाउन थालेकी छन् । छोराछोरीको पढाइदेखि सम्पूर्ण घरखर्च आफैँ टार्नसक्ने भएको उहाँ बताउछिन् । घरखर्च चलाएर पनि उनले मासिक केही बचत गर्ने गर्छिन् ।

श्रीमतीले घरमै बसेर आम्दानी गर्न थलेपछि उनका श्रीमान पनि खुसी छन् । उनका दुई छोरी र एक छोरा छन् । श्रीमानको कमाइले मात्र डेराभाडादेखि सम्पूर्ण खर्च चलाउन मुस्किल हुने भएकोले आफूले पनि सीप सिकेको उनले बताइन् ।

वसन्ताले ‘सुर्खेती चुरा’ उद्योगको रुपमा विकास गर्ने योजना बनाएकी छन् । यसैसम्बन्धी तालिम सेन्टर सञ्चालन गर्ने पनि उनको सोच छ । ‘‘मैले जानेको सीप सिकाएर अरु दिदीबहिनीहरुलाई पनि आर्थिक रुपमा सक्षम र रोजगार बनाउँछु’’ उनी भन्छिन्, ‘‘आत्मनिर्भर भइयो भने महिलामाथि घरपरिवारले गर्ने व्यवहारमा पनि फरक हुने रहेछ भन्ने कुराको  अनुभव गरेकी छु ।’’ समाजमा हुने गरेका महिला हिंसाको अन्त्यका लागि पनि महिलाहरु आत्मनिर्भर हुन जरुरी रहेको उनको सुझाव छ ।

वसन्ता जस्तै वीरेन्द्रनगरका यामु पुलामी पनि यस्तै चुरा बनाएर मनग्य आम्दानी गर्न सफल भएकि छन् । गएको महिना दिनमा रु १५ हजार आम्दानी गर्न सफल भएको उनले बताइन् । आफूले बनाएको चुराको अहिले धेरै माग आएको भन्दै उहाँले माग अनुसारको चुरा बनाउन नभ्याइएको बताइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार