बाढीपीडित रकम हिनामिना: तत्कालिन सचिव पाँच लाख फिर्ता गर्न आए

बाढीपीडित रकम हिनामिना: तत्कालिन सचिव पाँच लाख फिर्ता गर्न आए

अशोज २, । नेपालगञ्ज-बाढीपीडितलाई राहत बाँड्न आएको रकम ‘चलाएका’ तत्कालिन गाविस सचिव पैसा फिर्ता गर्न आएका छन्।तत्कालिन वनकट्टी गाविसका सचिव नन्दकिशोर मिश्र आफूसँग रहेको बाढीपीडितको रकम फिर्ता गर्न आएका हुन्।

२०७१ सालका बाढीमा पीडित भएका गाविसका ३ सय ४६ मध्ये सयजनालाई ५ हजारका दरले बाँड्न आएको पाँच लाख रुपैया गाविस सचिव मिश्रले चलाएका थिए। ‘अधकल्चो’ रकम आएपछि बाँड्न नसकेकाले पैसा राखिरहेको गाविस सचिव मिश्रको भनाई छ।उनी सचिवबाट रिटायर्ड भइसकेका छन्।

बाढीपीडितका लागि पाँच वर्षअघि आएको रकम ‘हिनामिना’ भएको समाचार बाहिर आएपछि त्यतिबेला पैसा चलाएकाहरु सम्पर्कमा आउन थालेका हुन्। पूर्व गाविस सचिव मिश्रले पेश्की लिएको भन्दै पैसा पछ्र्यौट गर्न वडाध्यक्षसँग अनुमति मागेका छन्।

वनकट्टी हाल डुडुवा गाउँपालिका वडा नं. ३ मा पर्छ। पूर्व सचिव मिश्रले वडाध्यक्ष भण्डारीलाल यादवसमक्ष पैसा फिर्ता गर्न आएका छन्। वडा कार्यालयले गाउँपालिकाको नाममा रहेको खातामा पैसा जम्मा गरिदिन अनुमति दिएको छ।

यतिका वर्ष पैसा चलाएपनि मिश्र ‘इमान्दार’ देखिएका छन्। मिश्रले जसरी अरु धेरै गाविस सचिवले त्यतिबेला पैसा चलाएका छन्। अरुले त्यसरी पैसा फिर्ता आएका छैनन्। २०७१ साउन अन्तिममा आएको बाढीले जिल्लामा १२ हजारको उठीबास लगाएको थियो।

त्यसमध्ये ९ हजार ३ सय ३० घरपरिवारको आंशिक क्षतिको सूचीमा परेका थिए। आंशिक सूचीमा परेका व्यक्तिलाई प्रतिघर पाँच हजारका दरले दिनका लागि जिल्लामा दुई करोड आएको थियो। त्यो रकम साविकको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, नेपालगञ्जले दामासाही रुपमा गाविसहरुमा पठाइदिएको थियो।

खासमा बाढीपीडितका लागि ४ करोड ६६ लाख ५० हजार रुपैया आउनुपर्थ्यो। पहिलो लट भन्दै दुई करोड रुपैयामात्रै आएपछि ‘कसलाई दिने, कसलाई नदिने’ विवादले पैसा बाँडिएको थिएनन। २०७४ सालमा स्थानीय तहको संरचना नै बदलिएपछि उक्त पैसा कहाँ, कसले चलायो भन्‍ने नै यकिन हुन सकेको थिएन। न त अहिलेसम्म स्थानीय तहले नै खोजबिन गरेको थियो। केही सचिवले गाउँपालिकाको खातामा राखेको दावी गरिसकेका छन्।

२०७१ सालमा आएको बाढीले सबैभन्दा धेरै साविकको फत्तेपुर गाविसमा क्षति पुर्‍याएको थियो। त्यहाँ दुई हजार दुई सय ३० जना आंशिक क्षतिमा परेका थिए। तीमध्ये ६ सय ५० जनालाई ५ हजारका दरले ३२ लाख ५० हजार आएको थियो।

होलियामा एक हजार चार सय ६६ पीडित रहेकोमा ४ सय ७५ जनाका लागि २३ लाख ७५ हजार, बेतहनीमा एक हजार दुई सय १४ जनामध्ये तीन सय ७४ जनालाई १८ लाख ७० हजार, गंगापुरमा ९ सय ४० जनामा २ सय ७५ जनाका लागि १३ लाख ७५ हजार, कम्दीमा ३ सय ८९ मध्ये सय जनाका लागि ५ लाख, वनकट्टीमा ३ सय ४६ मध्ये सय जनाका लागि ५ लाख रुपैया पठाइएको थियो।

अहिलेसम्म त्यो रकम बाढीपीडितलाई बाँडेको, पछ्र्यौट गरेको थाहा हुन नसकेको शहरी विकास डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ। लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिले यस विषयमा निरन्तर खबरदारी गरिरहेको छ।समितिका सचिव राजकुमार शुक्लाले मिश्रलेजसरी अरु गाविस सचिवहरुले पनि तत्काल फिर्ता गर्नुपर्ने बताए।(deshsanchar बाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार