संविधानबारे सत्ता–प्रतिपक्ष घोचपेच

संविधानबारे सत्ता–प्रतिपक्ष घोचपेच

आश्विन २, काठमाडौँ — संविधान कार्यान्वयनको चार वर्षे अवधिको व्याख्या गर्ने क्रममा सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच संसदमा घोचपेच चलेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले संविधानका कतिपय प्रावधान मिचेको र शक्तिपृथकीकरण तथा सन्तुलन बिगारेको बताएका छन् । सरकारले न्यायालयलगायत संवैधानिक निकायमाथि हस्तक्षेप गरेको उनले बताए ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलका नेताले बोलेको कुरामा ध्यानाकर्षण भएको भन्दै संविधान कार्यान्वयन सही ढंगले भएको दाबी गरे । संविधानको प्रस्तावना पढ्दै अब मुलुकको परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्न नपर्ने गरी कानुन बनाएर सरकारले ऐतिहासिक काम गरेको उनले बताए ।

प्रतिनिधिसभाको चालू बर्खे अधिवेशन समापनमा बिहीबार प्रतिनिधिसभामा बोल्दै प्रतिपक्ष दलका नेता देउवा र सत्तापक्षका नेता नेम्बाङले एकअर्काका कमजोरी औंल्याए । नेता देउवाले दुईतिहाइको सरकार संविधान कार्यान्वयनमा असफल भएको बताए ।

उनले सबै संवैधानिक निकाय स्वतन्त्र हुनुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगलाई नै नियन्त्रण गर्न खोजेको बताए । प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार सहन नसक्ने बताएपनि नेपालको इतिहासमा ठूला–ठूला काण्ड भएको बताए । वाइडबडी, न्यारोबडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरणलगायत भ्रष्टचारका थुप्रै काण्ड भएको चर्चा गर्दै मुलुकलाई भ्रष्टीकरणमा लगेको दाबी उनले गरे ।

संविधानले ग्यारेन्टी गरेको लेख्ने, बोल्नेलगायतका अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको उनले बताए । शान्ति सरक्षाको अवस्था नाजुक भएको निर्मला हत्या प्रकरण लगायत मुलुकभर बलात्कार बढेको र सरकार कारबाही गर्ने भन्दा पनि घटनाको तथ्यांक संकलन गर्ने निकाय जस्तो भएको बताए । नेपालगञ्जमा आफ्नो पार्टीको सभापतिमाथि आक्रमण भएको घटना जोड्दै उनले संविधानले बिना हातहतियार भेला हुने र राजनीतिक गतिविधि गर्ने अधिकारको ग्यारेन्टी गरेको भन्दै उनले जनताको करबाट तलब लिने प्रहरी कर्मचारी पार्टी कार्यकर्ता जस्ता भएको बताए ।

आफ्नो पार्टीका कार्यकर्तामाथि भएको आक्रमणको घटनाको छानबिन र कारबाही नभएको भन्दै आफूले कुनै पनि हालतमा नछाड्ने बताए । आफ्नो पार्टी २००७ सालदेखि अन्यायका विरुद्ध लडेको भन्दै देउवाले सरकारले जनताको जीउधनको सुरक्षा भन्दा पनि आफैं राज्य आतंक मच्चाउन लागेको बताए । उनले राम्रो काम गरेमा सरकारलाई आफ्नो पार्टीको सहयोग हुने बताए ।

सत्तापक्षका उपनेता नेम्बाङले देउवाप्रति लक्षित गर्दै संविधान कार्यान्वयनका धेरै काम भएको अवस्थामा निरासको सन्देश नदिन आग्रह गरे । सरकारले राम्रा र ऐतिहासिक काम गरेको चर्चा गर्दै उनले संविधान बनाउँदा पूर्ण प्रेसस्वतन्त्रता लेखेको प्रसंग जोडे । सरकारले संविधान भन्दा फरक ढंगले कुनै काम नगर्ने ग्यारेन्टी गर्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिपक्ष राज्यको अभिन्न अंग हो । उहाँहरुलाई सम्मान गछौं । मैले कतै टिप्पणी गर्न खोजेको होइन भन्दै नेम्बाङले आफूहरु लामो समय विपक्षीमा रहेको र त्यतिबेला आफूहरुमाथि तत्कालिन कांग्रेस सरकारले सिंहदरबार गेटमै लट्ठी प्रहार भएको प्रसंग कोट्याए । अहिलेको प्रतिपक्ष(कांग्रेस)सँग प्रतिपक्ष भएर लामो समय गुजारेकाले आफूलाई धेरै घटना थाहा भएको उनले बताए ।

‘दौरा सुरुवाल लगाएर हिँड्दा पनि सांसद भन्ने चिन्दाचिन्दै सिंहदरबार गेटमा आक्रमण भयो,’ उनले भने । ‘प्रतिपक्षका रुपमा विगतका भोगाई झल्झली सम्झनामा रहेछ । सिंहदरबार गेटमा चेप्पिने गरेर सरकारको प्रहरीले कुटेको हिजोअस्ती जस्तो लाग्छ,’ उनले भने । देउवाले आफ्ना कार्यकर्तामाथि आक्रमण भएको र सरकारले मुलुकमा शान्ति सुरक्षा कायम राख्न नसकेको बताएपछि नेम्बाङले उक्त जवाफ दिएका हुन् ।

नेम्बाङले प्रतिबद्धता जनाउँदै भने, ‘आफूहरुले सरकार चलाउँदा यस्तो अवस्था आउन दिँदैनौं ।’ जनताको प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली, स्वतन्त्र न्यायालय, मौलिक अधिकार, वालिक मताधिकार, नागरिक स्वतन्त्रतालगायतका मान्यता सरकारको प्रतिबद्धता भएको उनले बताए । उनले प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको घटनाप्रति असन्तुष्टी जनाए । उनले सरकारको कमजोरी भए सुधार्न तयार रहको बताए ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराइले संविधान आर्थिक, सामाजिक र राजनीतिक शक्ति सन्तुलनको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने बताए । उनले एउटा पक्षले संविधान दिवस मनाउन पञ्चायतमा जस्तो उर्दी जारी गरेको र अर्कोपक्षले यो संविधान केही होईन च्यातेर अर्को बनाउनुपर्ने आवाज उठेको बताए । चार वर्ष बित्न लाग्दा पनि संविधान संशोधन नभएको उनले बताए । सबैको सर्वस्वीकार्य नभए संविधानमा गर्व गर्नु बेकार हुने उनले बताए ।

‘नेपालको भूराजनीतिक अवस्था अवसर र चुनौती हो,’ उनले भने,‘अमेरिकको नेतृत्वको इण्डोप्यासिफिक स्ट्रयाटेजी, चीनको बीआरआई र भारतको हिमालयफ्रन्टियरको टकराव छ तर यसबाट यसबाट हामीहरुले फाइदा लिनुपर्छ ।’ विदेशी मुलुकसँग ठिक ढंगले सन्तुलन मिलाउनुपर्ने उनले बताए । साना देशको गतिशिल शान्तिवाद र तटस्थवादको सिद्धान्त लिनुपर्ने बताए । कम्युष्टिहरुले रुसले जे गर्‍यो ठिक गर्‍यो भन्ने हिजोको विचार त्याग्नुपर्ने उनले बताए । उनले नेताहरुले शब्दको प्रयोग मिलाएर गर्नुपर्छ भन्दै अरिंगाल होईन, मौरी हुन आग्रह गरे ।

संविधान परिवर्तन गर्न माग

राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधनको माग गरे । संविधान दिवस सबै नेपालीले उल्लासका साथ मनाउने छन् कि छैनन् भन्ने उनको प्रश्न थियो । संविधान दिवस मनाउने अवसर सबैलाई नआएको उनले बताए । सकारले दिपावली मनाउने उर्दी जारी गरेको प्रसंग जोड्दै उनले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भन्ने गरेको उनले बताए । प्रतिपक्षले त मनाए तर सरकारमा रहेका पार्टीले संविधान दिवस नमनाउने किन ? सरकार नै संविधान नमनाएको अवस्था रहेको भन्दै उनले तराइ–मधेशमा ब्ल्याक आउट गर्ने उनले जानकारी दिए ।

उनले सरकारका स्वास्थ्यमन्त्री तथा सामाजवादी पार्टीका नेता उपेन्द्र यादवप्रति लक्षित गर्दै सत्ता र कुर्सीका लागि चुप लागेर नबस्न आग्रह गरे । संविधानको विरुद्धमा सरकारले काम गरिरहेको उनले बताए । भ्रष्टाचार बढेको प्रसंग जोड्दै उनले सुन र एनसेल घोटालाको जानकारी दिन सरकारसँग माग गरे । नागरिकतामा न्यायाधीश नै पिच्छे फरक–फरक आदेश दिएको उनले बताए ।

समापनमा सांसदहरु राजेन्द्र प्रसाद लिङ्देन, प्रेम सुवाललगायतकाले मन्तव्य राखेका थिए ।(KANTIPUR DAILY)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार