प्रतिपक्षी दलको नाराबाजीका बीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

प्रतिपक्षी दलको नाराबाजीका बीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७ ७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीका बीच पारित भएको छ ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले प्रदेश सभामा प्रस्तुत गर्नुभएको ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको बजेट प्रतिपक्षीको नाराबाजीका बीच पनि बहुमतले पारित भएको हो । बजेट पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले भने सरकारविरुद्ध रोस्ट्रममा नाराबाजी गरिरहेका थिए।

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच नै आर्थिक वर्ष २०७७र०७८ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको थियो ।

प्रतिपक्षी दलले प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेस भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए ।

सभामुखले प्रतिपक्षी दलले सभामा अवरोध कायमै राख्ने देखेपछि पेलेरै बजेटमाथिको छलफल अगाडि बढाउनु भएको थियो । बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार