६ वटा देशबाट ४२ वटा उद्धार उडान हुँदै

६ वटा देशबाट ४२ वटा उद्धार उडान हुँदै

काठमाडौं ।  विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । आगामी बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत गत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन हो ।

तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिनमा सरकारले उद्धार उडानमा भएका कमी कमजोरीको समीक्षा गर्ने जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी छाउनीका अनुसार आगामी बुधबारदेखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

सरकारले नियमित हुने व्यवसायिक उडान भने साउन ६ गतेसम्म रोकेको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रका अनुसार हालसम्म २६ हजार भन्दा बढीको उद्धार गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार