आगोले जलेर घाइतेको हेलिकोप्टरबाट उद्धार

आगोले जलेर घाइतेको हेलिकोप्टरबाट उद्धार

म्याग्दी । सडक अवरुद्ध भएका कारण आगोले जलेर घाइते भई उपचारबाट वञ्चित भएका धवलागिरि गाउँपालिका–७ ताकमका तमबहादुर खत्रीको मङ्गलबार हेलिकोप्टरबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याइएको छ।

जिसी ग्रुपका अध्यक्ष नारायण जिसीले निजी खर्चमा प्रभु एयरको हेलिकोप्टरमा चढाएर ताकमबाट ल्याएर बेनी अस्पतालमा उपचारका लागि भर्ना गरेका हुन्।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सिफारिस भएका, पहिरोका कारण सडक अवरुद्ध भएको, बोकेर ल्याउन सम्भव नभएको, गरिबीका कारण पीडा सहेर उपचारको पर्खाइमा रहेका ६२ वर्षका खत्रीको गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अनुरोधमा उद्धार गरेको जिसीले बताए।

मराङ र बिमका पहिरो प्रभावितका लागि राहत सामग्री लिएर गएको हेलिकोप्टर फर्कने बेलामा खत्रीलाई ल्याएर बेनी आएको हो। गत शनिबार घरमा राखिएको पेट्रोल चुहिएर भएर आगलागी हुँदा बोल्न नसक्ने अपाङ्गता अवस्थाका खत्रीको शरीरको आधा भाग जलेको थियो।

खत्रीको उपचारमा बेनीको न्यूरोडमा रहेको नमस्ते म्याग्दी डिजिटल कलर ल्याब सञ्चालन गर्दै आएका ताकमका प्रकाश र कृष्णराज पौडेलले सहयोग गर्ने बताएका छन।

यसैबीच राम्चे, आरबाङ र शिवाङमा रहेका पहिरोपीडितका लागि राहत सामग्री उपलब्ध गराइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी र रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालसहितको टोलीले हेलिकप्टरमार्फत खाद्यान्नलगायत राहत सामग्री पुर्या‍एको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार