पहिराे जाँदा मध्यपहाडी लोकमार्गमा ठूला मालवाहक गाडी अलपत्र

पहिराे जाँदा मध्यपहाडी लोकमार्गमा ठूला मालवाहक गाडी अलपत्र

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन्। एकतर्फीमात्रै सडक सञ्चालन गर्दा मालवाहक सवारी साधन भने बीच बाटोमै अलपत्र परेका छन्।

गत मंगलबार बागलुङ नगरपालिका-३ बोक्सेमा गएको पहिरो बिहीबार साँझमात्रै एकतर्फ खुलेको थियो। सडकमा साना सवारी जीप, कार सञ्चालनमा आए पनि खाद्यान्न सामग्री ल्याएका एवं ढुंगा, सिमेन्ट, रडलगायतका सामान बोक्ने ट्रक आठ दिनयता बोक्से छेउछाउमै रोकिएका छन्।

मालवाहक ट्रकसहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि आठ दिनदेखि ट्रकको बास भएको बताए। ‘भएको पैसा खाएर सकियो, यतिका दिन भइसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दासमेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन,’ उनले भने ‘लोकमार्गले ठूला सवारी साधनलाई अलपत्रै बनाएको छ ।’

पहिरो ठूलो भएको र दुईतर्फी सञ्चालनमा ल्याउँदा पुनः सडक अवरुद्ध हुने भएकाले एकतर्फीमात्रै सडक सञ्चालन भएको मध्यपहाडी पुष्पलाल लोकमार्गका प्राविधिक उज्जल शर्माले जानकारी दिए। साना सवारीका लागि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैकल्पिक सडक पुनः सञ्चालन गर्न थाले पनि ठूला सवारी साधन बाटोमै अलपत्र पर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाले समेत सडक दुईतर्फी पुनः सञ्चालनका लागि ध्यान नदिँदा यात्रु तथा चालक रुष्ट बनेका छन् ।  स्थानीयवासीले बस्ती जोखिममा पर्ने भन्दै माटो फाल्न नदिँदा पनि सडक सञ्चालनमा आउन नसकेको जनाइएकाे छ। सडकभन्दा तल मानव बस्ती रहेकाले माटो फाल्दा बस्ती नै जोखिममा पर्ने हुँदा माटो अन्यत्र फाल्नका लागि आग्रह गरिएको स्थानीय गीता रेग्मीले जानकारी दिइन्।

जतिसक्दो सडकमा अलपत्र परेका ठूला सवारीलाई गन्तव्यममा पुर्‍याउन लोकमार्ग आयोजना कार्यालयलाई निर्देशन दिएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए। लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा सयौँ यात्रुले सास्ती खेप्नुपरेको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार