जर्मनीबाट अमेरिकाले आफ्ना १२ हजार सैनिक फिर्ता लैजाने

जर्मनीबाट अमेरिकाले आफ्ना १२ हजार सैनिक फिर्ता लैजाने

अमेरिकाले जर्मनीबाट आफ्ना झण्डै १२ हजार सैनिक फिर्ता लैजाने भएको छ । युरोपमा आफ्ना सैनिकको तैनाथीमा ‘रणनीतिक’ परिवर्तन तथा तैनाथी परिवर्तनका लागि यस्तो गर्न लागिएको अमेरिकाले बताएको छ ।

जर्मनीबाट फिर्ता बोलाइने मध्ये झण्डै ६४ सय सैनिक अमेरिका फिर्ता हुने छन् । बाँकी सैनिकलाई इटाली र बेल्जियमसहितका नेटोमा आबद्ध देशमा तैनाथ गरिने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक फिर्ता बोलाउने निर्णय गर्नुमा जर्मनीले नेटोका खर्चका लागि गर्नु पर्ने सहयोगको तह पूरा गर्न नसक्नु कारक रहेको उल्लेख गरेका छन् ।

तर विपक्षीले कंग्रेसमा ट्रम्पको यो निर्णयको विरोध गरेका छन् । उनीहरुका अनुसार जर्मनीबाट सैनिक हटाउँदा रुसलाई प्रोत्साहन मिल्ने छ र जुन अमेरिकाको हितमा हुने छैन ।

जर्मनीका उच्च अधिकारीहरुले पनि चासो व्यक्त गरेका छन् ।

ट्रम्पले भने आफ्नो निर्णयको बचाउ गर्दै बुधबार ह्वाइट हाउसमा पत्रकारसँग भने, ‘हामी अब पनि प्रयोग हुन चाहँदैनौँ । हामीले सैनिक घटाउँदै छौँ, अब उनीहरुको बिल हामी तिर्न सक्दैनौँ ।’

ट्रम्पले लामो समयदेखि नेटोका युरोपियन सदस्य राष्ट्रले आफ्नो सुरक्षा खर्च आफै बेहोर्नु पर्ने बताउँदै आएका छन् । नेटो राष्ट्रहरु अमेरिकी सैनिकका भर पर्न नहुने उनले बताउने गरेका छन् ।

ट्रम्पले यस्तो बताए पनि रक्षा मन्त्री मार्क एस्परले भने फरक विचार प्रस्तुत गरेका छन् । युरोपियन क्षेत्रमा अमेरिकी सैनिकको उपस्थितिलाई थप प्रभावकारी बनाउने बृहत योजना अनुसार सैनिकहरुको तैनाथीलाई व्यवस्थित लागिएको उनले दाबी गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार