निर्मला पन्त हत्या मुद्दामा सफाइ पाएका डीएसपी अंगुर जीसी भन्छन्- “नेतृत्वमा गलत व्यक्ति हुँदा दुःख पायौं”

निर्मला पन्त हत्या मुद्दामा सफाइ पाएका डीएसपी अंगुर जीसी भन्छन्- “नेतृत्वमा गलत व्यक्ति हुँदा दुःख पायौं”

घटनाको दुई दिनपछि १३ साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जीसी नेतृत्वको टोलीले दिलीपसिंह विष्टलाई संभावित अभियुक्तका रुपमा पक्राउ गरेको थियो। तर, दिलीपलाई प्रहरीले यातना दिएर बयान लिएको र प्रमाण नष्ट गरेको आरोपमा जीसीसहित आठ जना प्रहरी विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरियो।

कञ्चनपुर जिल्ला अदालतले बिहीबार उनीहरू आठै जनामाथि लगाइएको अभियोग पुष्टि हुन नसक्ने भन्दै सफाइ दिने फैसला सुनाएको छ। अदालतले सफाइ दिएपछि सीआईबीका तत्कालीन डीएसपी जीसीसँग हिमालखबरका मुकेश पोखरेलले गरेको कुराकानीको सारसंक्षेपः

अनुसन्धानमा खटिंदा निलम्बनमा परेर मुद्दा खेप्नुभो, दुई वर्षपछि अदालतले सफाइ दिंदा कस्तो लागेको छ?

अदालतबाट न्याय पाइन्छ भन्ने कुरामा म शुरुदेखि विश्वस्त थिएँ। त्यो ढिलो चाँडो हो भन्ने मात्र थियो। आजको फैसलाले कानूनी राज्यमा न्याय पाइन्छ र न्याय मरेको छैन भन्ने महशुस गरेको छु।

दुई वर्षमा तपाईंको व्यक्तिगत वृत्तिविकासमा यो घटनाले कति क्षति पुग्यो ?

मेरो व्यक्तिगत वृत्तिविकासमा त एउटा धक्का लागिहाल्यो। त्यो भन्दा ठूलो पीडा त सामाजिक रुपमा म र मेरो परिवारले भोग्नुपर्‍याे। त्यसको त कुनै हिसाब किताब नै छैन। त्यसको कुनै कुरासँग तुलना पनि हुन सक्दैन। र, त्यसको कुनै क्षतिपूर्ति पनि नहोला।

अदालतले म विरुद्ध लगाइएको अभियोग हेर्ने हो। त्यसमा अदालतले तँ दोषी छैनस्, निर्दोष छस् भनेर प्रमाणित गरिदिने काम गरेको छ।

तपाईंलाई लगाएको अभियोग के थियो?

मलाई प्रमाण नष्ट गरेको सार्वजनिक न्याय विरुद्धको कसुर र यातना सम्बन्धी अभियोग लगाइएको थियो। प्रमाण नष्ट गरिएको भनिएको ११ साउन २०७५ को कुरा हो। जबकि म कञ्चनपुर पुगेको १३ साउन २०७५ मा हो। मैले त्यस्तो मुद्दा पनि भोग्नुपरेको अवस्था थियो।

मेरो संगठनप्रति त सधैंभरि म गौरवान्वित छु, रहनेछु। कहिलेकाहीं गलत मानिसको हातमा नेतृत्व पुग्दा यो अवस्था आउँदो रहेछ।

अर्को, मलाई दिलीपसिंह विष्टलाई यातना दिइएको भनिएको थियो। दुवै मुद्दामा अदालतले मलाई सफाइ दिएको छ।

मुद्दामा सफाइ पाउनुभयो, प्रहरी सेवामा अब तपाईंको भविष्य कस्तो होला?

जतिवेलासम्म म यो सेवामा रहन्छु, त्यतिवेलासम्म इमान्दारितापूर्वक आफूलाई तोकिएको जिम्मेवारी बहन गर्छु। त्यसमा पछि पर्दिनँ। विगतमा पनि मैले इमान्दारीपूर्वक नै काम गरेको छु। मेरो संगठनप्रति त सधैंभरि म गौरवान्वित छु, रहनेछु।

कहिलेकाहीं गलत मानिसको हातमा नेतृत्व पुग्दा यो अवस्था आउँदो रहेछ। संगठनप्रति मेरो हिंजो पनि कुनै गुनासो थिएन, आज पनि छैन। अब यो संगठन र सेवामा रहेर काम गर्न मलाई थप ऊर्जा मिल्नेछ।

अहिलेसम्म सुल्झिन नसकेको निर्मला हत्याको घटना अनुसन्धान अब कसरी अघि बढ्ला?

मैले निर्मलालाई न्याय दिलाउनका लागि कर्तव्य पालनको सिलसिलामा यो अवस्था भोगें। र, म पनि पीडित हुन पुगें। अब मैले त न्याय पाएँ, तर मूल र मुख्य मुद्दा भनेको निर्मला हत्याको मुद्दा हो।

अब मुख्य मुद्दामा बाटो खुल्छ र त्यतिवेला हामीले संकलन गरेका प्रमाणहरु नै स्वीकार गर्नुपर्ने अवस्था आउँछ। त्यसकारण पनि अब निर्मला पन्तको हत्याका अभियुक्तले सजाय पाउँछन् भन्ने लाग्छ।

हाम्रो मुद्दा भनेको त सहायक मुद्दा मात्र हो। १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको दुई वर्षसम्म त्यसको निरुपण भएको छैन। हामीले गरेको अनुसन्धानलाई सरकार र प्रहरी संगठनले अपनत्व नलिंदा यो अवस्था आयो।

त्यतिवेला हामीले दिलीपसिंह विष्टको बयानको भिडियो समेत लिएका थियौं।  त्यो हुँदाहुँदै पनि उसलाई कुटेर बयान लिइयो भनिएको थियो। तर, अहिले अदालतले कुनै यातना दिएको होइन भन्ने कुरा प्रमाणित गरिदियो।

अब मुख्य मुद्दामा बाटो खुल्छ र त्यतिवेला हामीले संकलन गरेका प्रमाणहरु नै स्वीकार गर्नुपर्ने अवस्था आउँछ। त्यसकारण पनि अब निर्मला पन्तको हत्याका अभियुक्तले सजाय पाउँछन् भन्ने लाग्छ।

निर्मला पन्तको हत्यामा मुख्य दोषी दिलीपसिंह विष्ट हुन् भन्ने तपाईंको विश्वास हो?

त्यसमा त कुनै शंकै छैन। म शतप्रतिशत ठोकुवा गर्छु।

निर्मला पन्तको हत्या अनुसन्धान किन गिजोलिन पुग्यो त?

जब अनुसन्धान अधिकृतले संकलन गरेका तथ्य र प्रमाणहरूलाई पन्छाएर भीडका कुरा सुनिन्छ, त्यसपछि यस्तै हुन्छ। यो प्रकरणमा भएको यही हो।

केही आफूलाई अधिकारकर्मी, पत्रकार र मानवअधिकारकर्मी भन्नेहरु जसरी सुनियोजित ढंगबाट लागे, त्यसले मूल मुद्दाबाट ध्यान अन्यत्र मोडियो। यसले गर्दा पनि प्रहरीको अनुसन्धान प्रभावित भयो।

यो एउटा अंगुर जीसीको मात्र केस थिएन। यो मुद्दाले त अनुसन्धान गर्दा फसिन्छ भन्ने नजिर स्थापित गर्‍याे। त्यसैले पनि सकेसम्म ठूला मुद्दामा हात हाल्न नपरे हुन्थ्यो भन्ने भावना अनुसन्धान अधिकृतमा निर्मला पन्त प्रकरणले विकास भएको थियो। म त नेपाल प्रहरीको अनुसन्धान गर्ने सर्वोच्च निकाय, सीआईबीको प्रतिनिधि भएर अनुसन्धानका लागि गएको थिएँ, त्यतिवेला।

सीआईबीको अनुसन्धानमाथि पनि प्रश्न उठ्यो र जनविश्वास पनि खस्कियो। सीआईबीले पनि गलत गर्दो रहेछ भन्ने भयो। र, प्रहरीको मनोबल घटायो।

दुःखको कुरा चाहिं त्यस्तो बेला संगठनले पनि बचाउँदो रहेनछ। भ्रम र अफवाह जे छ, त्यसलाई सुन्दो रहेछ भन्ने स्थापित भयो। (हिमाल खबर बाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार