नेपालमा भित्रियो पशुमा लाग्ने रोग ‘लम्पी स्किन’

नेपालमा भित्रियो पशुमा लाग्ने रोग ‘लम्पी स्किन’

काठमाडौं । नेपालमा गाई भैंसीलाई लाग्ने ‘लम्पी स्किन’ रोग भित्रिएको पुष्टि भएको छ । सुरुआती दिनमा गाई र गोरुमा मात्रै देखिएको यो भाइरस पछिल्लो समय भैंसीमा पनि देखिएको र चितवनसम्म फैलिएको पाइएको पशु सेवा विभागले जनाएको छ ।

नेपालमा पहिलोपटक लम्पी स्किन भाइरस रोग गाई र भैसीमा संक्रमण पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा.वंशी शर्माले बताए । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो रोग नेपालमा पनि फैलिन थालिसकेको छ तर अहिले सम्म लम्पी स्किन संक्रमणको उपचार पत्ता लागेको छैन ।

पछिल्लो समय प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको छ । प्रदेश १ मा यही रोगले केही गाईभैंसी मरेका छन् । यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु हुन्छ ।
पशुको विकास र दूग्ध उत्पादन चक्रमा तुरुन्तै असर देखिने यो रोगले मासु उत्पादनमा समेत ठूलो असर गर्छ ।

यही रोगका कारण कृषकमा विचलन आउँदा भारत र बंगलादेशले ठूलो मूल्य चुकाइरहेको मानिन्छ । नयाँ रोगको संक्रमणले दूध उत्पादनमा ठूलो ह्रास आउने पशु चिकित्सक बताउँछन् । उनीहरुका अनुसार, झापामा यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ ।

यस्तै याे रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार