प्रधानमन्त्री ओली डिस्चार्ज, केही दिन आराम गर्न चिकित्सकको सुझाब

प्रधानमन्त्री ओली डिस्चार्ज, केही दिन आराम गर्न चिकित्सकको सुझाब

काठमाडौ १९ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि बिहीबार डिस्चार्ज भएका छन् । १० मंसिरमा पेटको दुखाइ लिएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको त्यसै दिन एपेन्डिसाइटिस र त्यसबाट फैलिएको संक्रमणका कारण पेटको अप्रेसन गरिएको थियो । १० दिनको उपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभ भएको भन्दै अस्पतालले उनलाई बिहीबार अपराह्न ४ बजे डिस्चार्ज गरेको हो । यद्यपि, अस्पतालले उनलाई केही दिन आराम गर्न सुझाएको छ ।

९ मंसिरको मध्यराति १ बजेबाट पेटको दुखाइ महसुस गरेका प्रधानमन्त्री ओलीलाई ७ घण्टापछि बिहान ८ बजेपछि मात्र अस्पताल लगिएको थियो । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । करिब ४५ मिनेटको स्वास्थ्यपरीक्षणपछि नै चिकित्सकहरू आकस्मिक अप्रेसन गर्ने निर्णयमा पुगेका थिए । एपेन्डिसाइटिस कुहिएको र त्यसबाट सुरु भएको संक्रमण पेटभर फैलिसकेकाले तत्कालै अप्रेसन गरिएको थियो ।

प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको विशेषज्ञ चिकित्सक सम्मिलित टोलीले प्रधानमन्त्री ओलीको परम्परागत विधिबाट पेट चिरेर अप्रेसन गरेको थियो । संक्रमण एपेन्डिसाइटिसमा मात्र नभएर पूरै पेटभर फैलिसकेकाले त्यसलाई सफा गर्न आधुनिक (ल्याप्रोस्कोपिक) विधिबाट सम्भव नभएकाले हातले चिरेर अप्रेसन गरिएको चिकित्सकको भनाइ छ । यसरी अप्रेसन गर्दा घाउ ठूलो हुने र निको हुन समय लाग्ने भएका कारण पनि प्रधानमन्त्री ओलीलाई केही दिन बढी अस्पताल राख्नुपरेको चिकित्सकले बताएका छन् ।

अप्रेसनपछि बिहीबार डिस्चार्ज नहुँदासम्म उनलाई आइसियूमै राखेर उपचार गरिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । यसबीचमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएपछि उनी स्वयम्ले आइसियूकक्षबाटै आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको भन्दै भिडियो सन्देश जारी गरेका थिए । डिस्चार्जपछि उनलाई प्रधानमन्त्रीनिवास बालुवाटार लगिने र उनले केही दिन त्यहीँ आराम गर्ने बताइएको छ ।

१२ वर्षदेखि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पछिल्लो समय नियमित डायलाइसिस गराइरहेका छन् । एपेन्डिसाइटिसको अप्रेसनपछि आइसियूमा उपचाररत रहँदाको १० दिनको बीचमा पनि प्रधानमन्त्री ओलीको पटक–पटक (दैनिकजसो) डायलाइसिस गराइएको छ । प्रत्यारोपित मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलाइसिस गर्नुपरेको हो ।
नियमित डायलाइसिस वा पुनः प्रत्यारोपणको मात्र विकल्प बाँकी रहँदा प्रधानमन्त्री ओली र चिकित्सक टोली दुवै पुनः प्रत्यारोपण गराउने निष्कर्षमा पुगेको बताइएको छ । यद्यपि, आकस्मिक रूपमा आइपरेको एपेन्डिसाइटिस तथा संक्रमणका कारण प्रत्यारोपणको निर्क्योल भने भइसकेको छैन । चिकित्सकको सल्लाहबमोजिम उपयुक्त समयमा प्रत्यारोपण गरिने र त्यसवेलासम्म डायलाइसिसलाई निरन्तरता दिने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समेत बताइसकेको छ ।

प्रत्यारोपणका बिरामीले नियमित रूपमा इम्युनोकम्प्रोमाइज अर्थात् प्रतिरक्षात्मक क्षमता कम गर्ने औषधि खानुपर्ने भएकाले उनीहरूमा संक्रमणको जोखिम उच्च हुन्छ । प्रधानमन्त्री ओलीले पनि इम्युनोसप्रेसिभ दबाइ सेवन गरिरहेकाले उनमा संक्रमणको खतरा उच्च हुने चिकित्सकले बताउँदै आएका छन् । यस्तोमा उनमा आकस्मिक रूपमा एपेन्डिसाइटिस कुहिएर पेटभर संक्रमण फैलिनु निकै चुनौतीपूर्ण भए पनि अप्रेसनपछि चिकित्सकको अपेक्षाभन्दा निकै छिटो उनको स्वास्थ्यमा सुधार आएको छ ।

यसमा सही समयमा लिएको सही निर्णय, सर्वोपयुक्त उपचार विधिको छनोट र त्यसभन्दा पनि बढी प्रधानमन्त्री ओलीको अभूतपूर्व आत्मबल कारण रहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको जस्तो उच्चतम आत्मबल हामीले अहिलेसम्म देखेको छैन,’ उपचारमा संलग्न चिकित्सकको भनाइ छ, ‘यसैका कारण नै उहाँको स्वास्थ्यमा सोचेभन्दा निकै तीव्र गतिमा सुधार आएको छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार