बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ।  बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ।

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ ।

पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए। अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

अजयटोड्की गाँउमा उद्धारका लागि हेलिकप्टर आबश्यकता भएपनि राज्य बेखबर बनेको बताए। यो संकटमा त तिनै सरकार गम्भीर भएर लाग्नुको सट्टा अहिलेसम्म बाजुराको बुढीगंगा नदिमा आएको बाढीले पारेको क्षेतीका बारेमा तिनै तहका सरकार मौनजस्तै बसेको जैशीको भनाई छ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन्। खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने पीडितको माग रहेकाे बताए।

गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइकिएको र उद्धारका लागि पहल भइरहेको बताए।

बूढीगङ्गामा मृत बालिका

त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक बालिका मृत भेटिएकी छन्। प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सातमहिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए। बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन्। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार